दुवै खट्टा गुमे, गुमाइनँ आत्मबल

काठमाडौँ । हातखुट्टा नहुँदैमा हामीले केही गर्न सक्दैनौँ भन्ने हाम्रो समाजको बुझाइ छ तर यो भनाइलाई रमेश खत्रीले गलत सावित गरिदिनुभएको छ । २०७२ साल वैशाख १२ को भूकम्पमा दुवै खुट्टा गुमाएका रमेशले पौडी खेलेरै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चर्चा बटुलिसक्नुभयो । यतिमात्र होइन, उहाँले स्टिलको खुट्टाको सहाराले सगरमाथा आधार शिविर पुगेर सबैलाई चकित पारिसक्नुभयो ।

सगरमाथा आधार शिविर पुग्दाको अनुभव सुनाउँदै रमेश भन्नुहुन्छ, “त्यो क्षण त म शब्दमा व्यक्त गर्नै सक्दिनँ । मनमा इच्छा हुनुपर्छ, हामीले गर्न नसक्ने काम कुनै पनि छैन । ” अपाङ्गता भएको व्यक्तिमाथि समाजको बुझाइ नै गलत रहेको बताउँदै उहाँले भन्नुभयो, “यो बुझाइलाई गलत सावित गर्न संसारमा अनेकौँ उदाहरण छन् । स्टेफन हकिङ, हेलेन केलर, झमककुमारी आदि । ”

अहिलेको दिनचर्याबारे बताउँदै रमेशले बिहान ८ देखि १२ बजेसम्म पौडी खेल्ने गरेको बताउनुभयो । “मेरो उद्देश्य ओलम्पिकको पौडी खेलमा चयन हुनु हो”, उहाँले भन्नुभयो ।

सानोमा बाख्रा चराउन जाँदा खोलामा पौडी खेलेकाले पनि होला, आज म यहाँसम्म आइपुगेँ भन्दै रमेशले आफ्नो विगत सम्झँदै थप्नुभयो, “फोटो पत्रकार नरेन्द्र श्रेष्ठले मलाई कुनै होटलमा लानुभयो र पौडी खेल भन्नुभयो । त्यसपछि मैले खेलँे । त्यो बेला पौडी खेल्दा धेरै पटक डुबेँ, पानी पनि खाएँ तर हरेश खाइनँ । ”

आफूजस्ता अपाङ्गता भएकाले खेल खेल्छन् भन्नेसम्म लागेको थिएन उहाँलाई । तर नेसनल पारा स्विमिङ नेपालले अपाङ्गता भएका व्यक्तिहरूलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा समेत सहभागी गराउने थाहा पाएपछि उहाँ दङ्ग पर्नुभयो ।

त्यसपछि पौडीको प्रशिक्षण लिन उहाँ सन् २०१५ मा नेसनल पारा ओलम्पिक कमिटीबाट जापान पुग्नुभयो । प्रशिक्षणकै क्रममा कोरिया जानुभयो । सन् २०१८ मा इन्डोनेसियामा आयोजित एसियाली खेलकुदमा सहभागी हुनुभयो । हाल बीआईए फाउन्डेसनमा बसिरहनुभएका उहाँ खगेन्द्र नवज्योति स्कुलबाट एसईई परीक्षा दिएर नतिजा पर्खिरहनुभएको छ । भविष्यमा सूचना प्रविधि अध्ययन गर्ने उहाँको योजना छ ।

दैलेख निवासी २१ वर्षीय खत्री १७ वर्षको हुँदा राजधानीको एउटा गेस्ट हाउसमा काम गर्नुहुन्थ्यो । भूकम्प आएको दिन उहाँ आफ्नो घर जाने तयारी गरिरहनुभएको थियो । साँझ ४ बजेको टिकट हातमा बोकेर खाना खान लागेका बेला अचानक भूकम्प आयो । आठतले गेस्ट हाउसले उहाँलाई पु¥यो ।

उद्धारपछि सशस्त्र प्रहरी जवान र एक स्थानीय सहायोगीले उहाँलाई काठमाडौँ टिचिङ अस्पताल पु¥याए । नेपाल सरकारले नै उपचारको सम्पूर्ण खर्च दियो । डेढ महिनाको उपचारपछि उहाँ बालपोषण संस्था सुनाकोठी ललितपुर पुग्नुभयो । त्यहाँबाट उहाँ बालुवाटारको अर्को संस्थामा पुग्नुभयो । उहाँ भन्नुहुन्छ, “त्यसपछि राष्ट्रिय अपाङ्ग कोष र अन्य केहीको सहयोगमा कृत्रिम खुट्टा पाएँ । दुवै खुट्टा गुमे तर कहिल्यै आत्मबल गुमाइनँ । त्यही आत्मबलले मलाई आज यहाँसम्म ल्याइपु¥यायो । ”यो समाचार गोरखापत्र दैनिकमा यलु जोशीले लेख्नुभएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार