गुम्बा पुनर्निर्माणको पौने तीन करोड बजेट फ्रिज हुदैँ


सन्तोष राउत/सोलुखुम्बु। चार वर्षअघि गएको विनाशकारी महाभूकम्पले क्षतिग्रस्त भएका सोलुखुम्बुका विभिन्न स्थानमा रहेका ५४ वटा गुम्बाको पुनर्निर्माणका लागि आएको बजेट काम गर्न नपाई फ्रिज हुने पक्का जस्तै भएको छ ।

गुम्बाहरुको जिल्ला भनेर चिनिने सोलुखुम्बुमा बौद्ध धर्मवालम्बीहरुको मुख्य धार्मिक थलोका रुपमा रहेका गुम्बाको पुनर्निर्माण गर्न असारमा मात्र बजेट आएपछि प्रक्रिया पूरा गरेर काम गर्ने समय नहुँदा करिब पौने तीन करोड रुपियाँ रकम फ्रिज हुने भएको हो ।

जिल्लाको एक नगरपालिका र सात वटा गाउँपालिकाका गुम्बा पुनर्निर्माणका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले बजेट स्वीकृत गरेपछि पुनर्निर्माणको काम अघि बढ्न लागेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन ईकाइ सोलुखुम्बुका प्रमुख विष्णु लामिछानेले जानकारी दिनुभयो ।

क्षति भइ पुनर्निर्माणका लागि निवेदन परेको सोलुदुधकुण्ड नगरपालिकाभित्रका १६, खुम्बुपासाङल्हमू गाउँपालिकाका १२, महाकुलुङ गाउँपालिका र थुलुङ दुधकोशी गाउँपालिकाको सात÷सात वटा, माप्यदुधकोशी गाउँपालिकाका चार वटा, सोताङ गाउँपालिकाका पाँच वटा, नेचासल्यान गाउँपालिकाको एउटा र लिखुपिके गाउँपालिकाका दुई वटा गुम्बा पुनर्निर्माण गर्न लागिएको उहाँले जानकारी दिनुभयो ।

आर्थिक वर्ष सकिन लाग्दा कामनै गर्न नसकिने गरी गुम्बा पुनर्निर्माणका लागि प्राधिकरणले दुई करोड ७० लाख ४५ हजार रुपियाँ रकमको अख्तियारी यही असारमा मात्र पठाएको हो । चालु बर्षमै पुनर्निर्माण सम्पन्न गर्ने गरी बजेट विनयोजन भए पनि अख्तियारी ढिलो आएकाले भर्खर मात्र प्रक्रिया अघि बढाउन लागेको ईकाइ प्रमुख विष्णु लामिछानेले बताउनुभयो ।

इकाईले असार १२ गतेसम्म उपभोक्ता समिति गठन गरी सम्झौताका लागि सम्पर्क गर्न सम्बन्धित गुम्बा व्यवस्थापन समितिहरुलाई बोलाएको छ । भौगोलिक विकटता तथा मध्य वर्षायाम भएकाले यस वर्ष सम्झौता लगायत कागजी प्रक्रिया मिलाउँदानै समय सकिने भएकाले यति ठूलो रकम फ्रिज हुने पक्का जस्तै छ । यदि काम गरेको कागज मिलाएर रकम दुरुपयोग हुने पनि आशंका गरिएको छ ।

मर्मत तथा पुनर्निर्माणका लागि गुम्बालाई क्षतिका आधारमा पाँच वर्गमा विभाजन गरिएको छ । जसमा एकदेखि तीन वर्गामा पर्ने गुम्बाको मर्मत गरिनेछ भने चार र पाँच वर्गमा पर्ने गुम्बालाई भत्काएर नयाँ बनाइने प्रमुख लामिछानेले बताउनुभयो । गुम्बा निर्माण तथा पुनर्निर्माणका लागि स्थानीय तह र सम्बन्धित गुम्बा व्यवस्थापन समतिले पाचार प्रतिशत र प्राधिकरणले पचास प्रतिशत लगानी गर्नेछन् ।

लामो समय बितेकाले केही गुम्बाको स्थानीयवासी आफँैले मर्मत गरेको भए पनि गुम्बा निर्माणका लागि धेरै बजेट आवश्यक पर्ने तथा स्थानीयवासीको घर नै पुनर्निर्माण गर्न नसकिरहेको अवस्थामा गुम्बा प्राथामिकतामा पर्न नसकेको बौद्ध धर्मावलम्बीको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार