काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जननेता मदन भण्डारीको जस्तै हत्याकाण्ड नहोला भन्न नसकिने बताएका छन् । राजनीतिक हत्या प्रतिहत्याका दोषीलाई पत्ता लगाई भविष्यमा त्यस्ता घटना नदोहोरिने सुनिश्चिता गर्न नसकिएको प्रचण्डको स्विकारोक्ति थियो ।
शनिबार राष्ट्रिय सभागृहमा मदन भण्डारीको ६८ जन्मजयन्तीको अवसरमा आयोजित विचार गोष्ठीलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । उनले राजनीतिक हत्या प्रतिहत्याका दोषीलाई पत्ता लगाई भविष्यमा त्यस्ता घटना नदोहोरिने सुनिश्चिता गर्न नसकिएको बताएका हुन् ।
उनले मदन भण्डारीको नियोजित हत्या हो भन्ने सबैलाई लागेको भएपनि आजसम्म हत्यारा किटेर भन्न सक्ने प्रमाण प्रस्तुत गर्न नसकेकाले भोली पनि त्यस्तै घटना दोहोरिन सक्ने संकेत गरे । मदन भण्डारी हत्या, भण्डारीका चालक अमर लामाको हत्या र दरबारहत्याकाण्डजस्ता ठूला ठूला हत्याकाण्डको हत्यारा अहिलेसम्म पत्ता लगाउन नसकेको भन्दै अहिलेसम्मको सरकार यसमा चुकेको उनको टिप्पणी थियो ।
१५ दिनभित्र एकताका सम्पूर्ण काम सकिन्छ : प्रधानमन्त्री
कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारप्रति लक्षित आलोचना आउँदो दसैंसम्म समाप्त हुने दाबी गरे । सरकारले राम्रो काम गरेपनि कानुन निर्माणमा व्यस्त भएकाले जनतालाई भन्न नपाएको उनको भनाइ थियो ।
एकता प्रक्रियामा भएको ढिलाइका कारण कार्यकर्तालाई निराश नहुन आग्रह गर्दै प्रधानमन्त्री ओलीले अबको १५ दिनभित्र एकताका सम्पूर्ण काम सक्ने दाबी गरे । सांसद हृदयेश त्रिपाठीले मधेसमा कम्युनिस्ट पार्टी लोकप्रिय नभएको भन्दै मधेसलाई उपेक्षा गरुन्जेल कम्युनिस्ट आन्दोलन पूरा नहुने बताए ।
कार्यक्रममा प्रा. डा. सुवोध शर्मालाई जल, पर्यावरण, विकास तथा व्यवस्थापनमा उल्लेखनीय योगदान गरेवापत मदन भण्डारी राष्ट्रिय पुरस्कार प्रदान गरिएको थियो ।