काँग्रेस सोलुखुम्बु–काठमाडौँ सम्पर्क समितिले दियो पाँच सय बढी कार्यकर्तालाई प्रशिक्षण (भिडियो सहित)


काठमाडौँ । नेपाली काँग्रेस सोलुखुम्बु–काठ्माण्डौँ सम्पर्क समितिले राजधानीमा आयोजना गरेको राष्ट्रिय जागरण अभियान तथा बृहद् प्रशिक्षण कार्यक्रमका अवसरमा करिब पाँच सय भन्दा बढी नेता कार्यकर्ताहरुलाई प्रशिक्षण दिइएको छ ।

काँग्रेस सभापति शेरबहादुर देउवाले प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै सोलुखुम्बुको काँग्रेसको विवादको विषयमा आफू पूर्ण जानकार रहेको भन्दै चाँडै निकास निकाल्ने आश्वासन दिनुभयो । सगरमाथाले विश्वमा चिनिएको सोलुखुम्बुमा काँग्रेसलाई पनि बलियो बनाउन सबै मिलेर अघि बढ्न उहाँको सुझाव थियो ।

कार्यकर्ताको प्रशिक्षणका क्रममा काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले काँग्रेसलाई मजबुत बनाउन सबैले आफूलाई बदल्न आवश्यक रहेको उहाँको भनाइ छ । सांसद जिपछिरिङ लामाले काँग्रेस मिलेर जानुको विकल्प नभएको बताउनुभयो ।

त्यस्तै, काँग्रेस सोलुखुम्बुका पूर्व सभापति आङ्गेलु शेर्पाले विधि र प्रक्रियाको वकालत गर्ने काँग्रेसमा सोलुखुम्बुमा विधि र प्रक्रिया भन्दा बाहिर गएर बनेको जिल्ला कार्यसमितिलाई कुनै हालतमा नस्विकार्ने भन्दै नयाँ बाटोबाट हुने सहमितका लागि आफू सबै कुरा त्याग गर्न तयार रहेको धारणा राख्नुभयो ।

बारका पूर्व महासचिव सुनिल पोखरेलले पनि प्रशिक्षण दिनुभएको थियो । सोलुखुम्बु–काठ्माण्डौँ सम्पर्क समितिका अध्यक्ष मनोज खड्काको अध्यक्षतामा भएको कार्यक्रममा दलित समूदायबाट पहिलो पटक सगरमाथाको आरोहण गर्ने काँग्रेस नेता विजय घिमिरे र कुमारी ज्ञानमाला रान्पाललाई सम्मान गरिएको छ ।

कार्यक्रममा पूर्व जिल्ला सभापति प्रभुराम बस्नेत, महावाणिज्य दूतका काउन्सिलर आङछिरिङ शेर्पा, सोलुदूधकुण्ड नगरपालिकाका मेयर नाम्गेलजाङ्बु शेर्पा, नेताहरु रामबहादुर बस्नेत, कृष्ण निरौला, गणेश बस्नेत, धर्म नेपालीलगायतका नेता कार्यकर्ताको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार