नेपाली कांग्रेसको नयाँ कार्यसमितिका लागि यसै वर्षभित्र महाधिवेशन सम्पन्न गर्नुपर्ने छ । तीनै तहको निर्वाचनमा पराजय भोगेपछि कमजोर बनेको कांग्रेसको नेतृत्वले समयमै महाधिवेशन गर्नका लागि भने चासो देखाएको छैन । जसले गर्दा पार्टीभित्र विमति बढ्दै गएको छ । समयमै महाधिवेशन गर्नुपर्ने र अवधि लम्ब्याउनुपर्ने दुई थरी आवाज उठ्न थालेको छ ।
कांग्रेसमा १४ औं महाधिवेशन कहिले गर्ने भन्नेमा आन्तरिक टकराव देखिन थालेको छ । महाधिवेशन गर्ने विषयमा सभापति शेरबहादुर देउवा पक्ष र अन्य गुटहरुबीच विमति देखिएको छ । देउवा पक्षले विधानमा भएको व्यवस्थाअनुसार एक वर्ष कार्यकाल लम्ब्याउन चाहेका छन् । चुनावमा पराजित भएपछि पार्टीभित्रैबाट चर्को आलोचना खेपेका देउवाले एक वर्ष भए पनि सभापतिको पद जोगाउने उपाय खोजेका छन् । जसलाई उनी निकट मानिने नेताहरुले समर्थन गरिरहेका छन् । देउवा पक्षधर मानिने नेता गोपालमान श्रेष्ठले विधानअनुसार सभापतिले एक वर्ष समय थप्न पाउने भएकाले अर्को वर्ष मात्रै महाधिवेशन गर्दा पनि केही फरक नपर्ने तर्क गर्छन् ।तर देउवाइतर नेताहरुले भने जसरी भए पनि चार वर्षभन्दा बढि एक दिन पनि अहिलेको कार्यसमितिको अवधि लम्ब्याउन नहुनेमा जोड दिइरहेका छन् । विधानमा एक वर्ष थप्ने व्यवस्था भए पनि अहिले त्यसका लागि उचित कारण नै नभएको युवा नेता प्रदिप पौडेलको तर्क छ ।
सभापति देउवाको चर्को विरोध गर्दै आएका वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि समय नथपिकन महाधिवेशन गर्नुपर्नेमा जोड दिएका छन् । विधानमा भएको व्यवस्थाअनुसार एक वर्ष कार्यकाल लम्ब्याउन अहिले जरुरी नभएको पौडेलको भनाई छ ।
पार्टी विधानको दफा ४३ ले ‘असाधारण स्थिति भएमा केन्द्रीय कार्यसमितिले त्यसको कारण खोली बढीमा एक वर्षसम्मको अवधि बढाउन सक्नेछ’ भन्ने उल्लेख गरेको छ । संविधानको राजनीतिक दलसम्बन्धी व्यवस्थामा पनि ५ वर्षभित्र केन्द्रीय पदाधिकारी र सदस्यको निर्वाचन गर्नुपर्ने प्रावधान छ ।
विशेष कारण परे ६ महिना बढाउन सकिने व्यवस्था संविधानमा उल्लेख छ । देउवाले यही प्रावधान टेकेर थप डेढ वर्ष बढाउन चाहेका छन् । तर संस्थापन इतरपक्षले देउवाको चाहना पूरा हुन नदिने भन्दै दबाब दिइरहेका छन् ।रिपोर्टसक्लब डटकमबाट ।