काठमाडौं । नेपाल सरकारले आउँदो साउन १ गतेदेखि विदेशीलाई लाग्ने प्रवेशाज्ञा अर्थात् भिसा शुल्क वृद्धि गरेको छ । तर, केही देशमा पारस्परिक सहमतिका आधारमा यो शुल्क वृद्धि लागू नहुने अध्यागमन विभागले जनाएको छ ।
अध्यागमन विभागले नेपाल आउने विदेशीको प्रवेशाज्ञा शुल्कमा वृद्धि गरेको हो । जसअन्तर्गत् पर्यटक भिसामा न्यूनतम् १५ दिनका लागि आउने विदेशीले ३० अमेरिकी डलर तिर्नुपर्नेछ । यसअघि, यो २५ डलर थियो ।
यसैगरी, पर्यटक भिसा भएकाले म्याद थप्न चाहेमा अबउप्रान्त प्रतिदिन तीन डलर थप शुल्क तिर्नुपर्नेछ । थपिएको अवधिका लागि बहुप्रवेशी भिसा भए त्यसको शुल्क पनि २० डलरबाट बढाएर २५ डलर पुर्याइएको छ ।
अध्ययन भिसामा आउनेका लागि प्रतिमहिना न्यूनतम् १० डलर शुल्क रहेकामा बढाएर १५ डलर पुर्याइएको छ । यसैगरी, गैरपर्यटक भिसाको न्यूनतम् शुल्क ५ बाट वृद्धि गरेर १० डलर गरिएको छ ।
व्यावसायिक भिसा लिन चाहनेले प्रतिमहिना न्यूनतम् १० डलर तिर्दै आएकामा अब २० डलर तिर्नुपर्नेछ । आवासीय भिसाका लागि पनि वार्षिकरुपमा न्यूनतम् २०० डलर तिर्दै आएकामा अहिले बढाएर ५०० डलर पुर्याइएको छ ।
३० दिनको बहुप्रवेशी भिसा शुल्क पनि ४० बाट बढेर ५० अमेरिकी डलर भएको छ भने ९० दिनको भिसा शुल्क १०० बाट बढेर १२५ अमेरिकी डलर पुगेको छ ।
अध्यागमन विभागका प्रवक्ता रामचन्द्र तिवारीले अन्य राष्ट्रहरुले लागू गरेका भिसा शुल्कको तुलनात्मक अध्ययन गरी अध्यागमन नियमावली २०७५ अनुसार शुल्क वृद्धि गरिएको बताए ।
भिसा शुल्क वृद्धि भएपनि केही मुलुकहरुका नागरिकलाई भने पारस्परिक समझदारीअनुरुप नै शुल्क लिइने जानकारी प्रवक्ता तिवारीले दिए ।
अध्यागमन विभागकाअनुसार २०७५ पुस ९ गते नेपाल र संयुक्तराज्य अमेरिकाबीच भएको पारस्परिक समझदारीबमोजिम अमेरिकी नागरिकलाई यो शुल्क वृद्धि लागू हुनेछैन ।
अमेरिकी नागरिकले नेपाललाई र नेपाली नागरिकले अमेरिकालाई तिर्नुपर्ने शुल्कमा एकरुपता ल्याउन समझदारी गरिएको थियो ।
जसअनुसार पर्यटक भिसा, अध्ययन भिसा, कामदार भिसा र व्यावसायिक भिसाको शुल्क दुवै देशका लागि समान गरिसकिएको प्रवक्ता तिवारीले जानकारी दिए ।
नयाँ व्यवस्थाअनुसार अध्ययन, पर्यटन र व्यावसायिक भिसाका लागि समान १६० डलर शुल्क तय गरिएको छ । यसैगरी, कामदार भिसाका लागि दुवै देशले १९० डलर लिइरहेका छन् ।
समझदारीअनुसार यसअघि १० वर्षभन्दा कम उमेरका नेपाली बालबालिकाले भिसा शुल्क तिर्ने तर अमेरिकी बालबालिकाले तिर्नु नपर्ने व्यवस्थामा पनि परिवर्तन गरी दुवैतर्फ शुल्क लाग्ने व्यवस्था गरिसकिएको छ ।इमेजखबरबाट।