काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा विभिन्न १४ वटा एजेन्डा पेश गरिएको छ ।
आइतबार ढिलोगरी सुरु भएको बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले ती एजेण्डा पेश गरेका हुन् ।
प्रस्तुत एजेण्डाहरुमा नियमावली संशोधन मस्यौदा समितिले तयार पारेको ‘नेपाली कांग्रेसको नियमावली, २०७६’ समितिका संयोजक एवं केन्द्रीय सदस्य रमेश लेखकद्वारा प्रस्तुत गरिने, पार्टी विधानको धारा ७२ (४) अनुसार पार्टी संगठनको अन्तरिम व्यवस्था अनुसारको गठन पश्चात् १४ औँ महाधिवेशनको कार्यतालिका निर्माण गरी प्रकृया अघि बढाउने, विधानको व्यवस्था अनुसार क्रियाशील सदस्यता नविकरण एवं वितरण सम्वन्धित विषय छन् ।
त्यस्तै २०७६ वैशाख २५ देखि जेठ २५ सम्म सञ्चालन भएको पहिलो चरणको ‘हिमाल, पहाड, तराई–मधेश नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान’ को एकिकृत प्रतिवेदन प्रस्तुत गरिने, नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा कार्य प्रगति विवरण प्रस्तुत गरिने, केन्द्रीय अनुशासन समितिद्वारा कार्य प्रगति प्रतिवेदन प्रस्तुत गरिने पनि बैठकका एजेण्डा छन् ।
यसैगरी, नेपाली कांग्रेस र तत्कालिन नेपाल लोकतान्त्रिक फोरमका बीच पार्टी समायोजनका सन्दर्भमा भएका कामहरुको प्रगति प्रतिवेदन प्रस्तुत गरिने, भातृ एवं शुभेच्छुक संस्थाहरुको विधान संशोधन र मान्यता प्रदान गर्ने, पार्टी विधान अनुसार अवधि समाप्त भएका भातृ संघहरुका सम्वन्धमा छलफल गर्ने एजेण्डा रहेको छ ।
यस्तै, जनसम्पर्क समिति, स्थानीय तहमा पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुलाई नीतिगत निर्देशन गर्ने सम्बन्धमा, तनहुँ जिल्लामा अबैध रुपमा गठन भएको नेपाली कांग्रेसको तथाकथित समानान्तर समिति र कार्यालयका सम्वन्धमा, देशको समसामयिक राजनीतिक विषयवस्तुका सन्दर्भ र विविध विषय पनि एजेण्डका रुपमा प्रस्तुत गरिएको छ ।
आइतबारकै बैठकमा महामन्त्री खड्काले एजेण्डा प्रस्तुत गरिसकेपछि नियमावली संशोधन मस्यौदा समितिका संयोजक रमेश लेखकले ‘नेपाली कांग्रेसको नियमावली, २०७६’ प्रस्तुत गरेका छन् ।
नियमावलीको मस्यौदा केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरुलाई वितरण गरी बैठक समापन भएको जनाइएको छ । नियमावलीको अध्ययन पश्चात २०७६ असार २७ गते अर्को बैठक बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जनाए ।
यसअघि विभिन्न विषयमा देखिएको विवादका कारण बैठक बस्न ढिलो भएको थियो । शीर्ष नेताहरु समूहगत तथा छुट्टाछुट्टै छलफलमा जुटेर सहमति कायम गरेपछि बैठक सुरु भएको थियो। इमेजखबरबाट।