‘खेलकुदमा योगदान दिन राखेप आएको हुँ, जागिर खान होइन’

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का नवनियुक्त सदस्यसचिव रमेश सिलवालले आफूले खेलकुदलाई जहिलेपनि नजिकबाट नियालिरहेको बताएका छन् ।

सोमबार युवा तथा खेलकुद मन्त्रालयमा भएको शपथग्रहणपछि बोल्दै सदस्यसचिव सिलवालले आफू खेलकुद परिषद्मा जागिर खान नभइ खेलकुदमा योगदान दिन सकिन्छ भनेर आएको स्पस्ट पारे ।

सिलवालले आसन्न १३औं दक्षिण एसियाली खेलकुद (साग)को आयोजनाका लागि चार महिनामात्र बाँकी रहेकाले हरेक दिनको ‘क्यालेन्डर’ बनाएरै अगाडि बढ्ने बताए ।

त्यसअघि, युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार विश्वकर्माले सिलवालाई पद तथा गोपनीयताको शपथ खुवाएका थिए । उनी सोमबारै राखेपको सदस्यसचिवमा नियुक्त हुन् । मन्त्री विश्वकर्माले सिलवाललाई सदस्यसचिव नियुक्त गरेका हुन् ।

निवर्तमान सदस्यसचिव केशवकुमार विष्टको चारवर्षे कार्यकाल असार ९ गते पूरा भएपछि रिक्त पदमा सिलवाललाई नियुक्त गरिएको हो ।

सिलवाललाई पहिला राष्ट्रिय खेलकुद संघको तर्फबाट रिक्त कोटामा परिषद् सदस्यमा नियुक्त गरेपछि सदस्यसचिवको जिम्मेवारी तोकिएको हो ।

सिलवाललाई आइतबार नेपाल भलिबल संघले राखेपको बोर्ड सदस्य नियुक्तिका लागि सिफारिस गरेको थियो । संघहरुको प्रतिनिधित्व गर्दै परिषद्मा नियुक्ति लिएका राखेपका निर्वतमान सदस्यसचिव विष्ट र सदस्य राजेन्द्र श्रेष्ठको पदावधि सकिएपछि दुई पद रिक्त थियो ।

सिलवाल यसअघि विष्ट नेतृत्वको परिषद्बाट गठित नेपाल क्रिकेट संघ (क्यान)को तदर्थ समितिको अध्यक्ष थिए । सिलवाल पूर्वक्यान उपाध्यक्ष पनि हुन् ।

उनी मदन भण्डारी स्पोर्ट्स फाउन्डेसनका संस्थापक अध्यक्षसमेत हुन् । गोल्डेनगेट कलेजका ‘सीइओ’ उनी उच्च माध्यामिक विद्यालयहरुको संस्था ‘हिसान’को अध्यक्षसमेत भएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार