काठमाडौँ। संसदीय सुनुवाइ समितिले विभिन्न चार देशका लागि प्रस्तावित राजदूतहरूको नाम सर्वसम्मत अनुमोदन गरेको छ । जसमा स्पेनक लागि राष्ट्रिय विभूति तथा प्रथम नेपाली महिला सगरमाथा आरोही पासाङल्हमू शेर्पाकी छोरी दावाफुटी शेर्पाको नाम राजदूतका लागि सर्वसम्मत अनुमोदन गरिएको हो
शेर्पाको नाम अनअनुमो भएसँगै शेर्पा समुदाय तथा सोलुखुम्बुवासीले खुशी व्यक्त गरेका छन्। सोमबार संसदीय सुनुवाइको प्रक्रियापछि समितिले सबै राजदूतको नाम अनुमोदन गरेको हो ।
समिति निर्णयअनुसार अस्ट्रेलियाका लागि प्रस्तावित महेश दाहाल, कतारका लागि प्रस्तावित डा. नारदनाथ भारद्वाज, बङ्गलादेशका लागि प्रस्तावित डा. वंशीधर मिश्र र स्पेनका लागि प्रस्तावित दावाफुटी शेर्पाको नाम राजदूतका लागि सर्वसम्मत अनुमोदन गरिएको हो ।
संसदीय सुनुवाइ समितिका सभापति लक्ष्मणलाल कर्णले प्रस्तावित चारैजना राजदूतको नाम सर्वसम्मत अनुमोदन भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘हामीले प्रस्तावित चारै जनाको राजदूतको सुनुवाइ प्रक्रिया सम्पन्न गरेका छौँ । सुनुवाइपछि समितिमा प्रस्तावित नामहरू निणयार्थ पेश हुँदा सर्वसम्मत रूपमा अनुमोदित भएका छन् ।’
समितिले सोमबार दुई चरणमा गरी सुनुवाइ सम्पन्न गरेको हो । सोमबार बिहान बङ्गलादेशका लागि प्रस्तावित डा. वंशीधर मिश्र र दिउँसोको बैठकमा अन्य तीन जनाको सुनुवाइ गरिएको हो ।
समितिले अब अनुमोदनको जानकारी सम्बन्धित निकायलाई पठाउनेछ । समितिबाट अनुमोदन भएको जानकारी पठाइएसँगै नियुक्तिका अन्य प्रक्रिया सुरु हुनेछन् ।
त्यसअघि बङ्गलादेशका लागि प्रस्तावित राजदूत डा. मिश्रले द्विपक्षीय हितमा काम गर्ने प्रतिबद्धता जनाउनुभयो । नेपालका धेरै विद्यार्थी बङ्गलादेशमा मेडिकल शिक्षा अध्ययनका लागि जाने गरेको बताउँदै विद्यार्थीका समस्या सम्बोधनमा आफू केन्द्रित हुने बताउनुभयो । उहाँले नेपाल र बङ्गलादेशबीच आर्थिक तथा पर्यटन क्षेत्रमा सम्बन्ध स्थापित गर्न पहल गर्ने बताउनुभयो ।
यस्तै कतारका लागि प्रस्तावित डा. भारद्वाजले नेपाली श्रमिकको अवस्था सुधारका लागि कूटनीतिक पहल गर्ने बताउनुभयो । भारद्वाजले नागरिकको सुरक्षा, मानव अधिकारको समस्यालाई व्यावहारिक रूपमा सम्बोधनको प्रयास गर्ने बताउनुभयो । उहाँले रोजगारीका क्रममा कतारमा रही घाइते भएका, कोममा रहेका सबै नागरिकलाई स्वदेश फर्काउन पहल लिने पनि बताउनुभयो । नेपालको हिमालयको पानी कतारमा निर्यातको सम्भाव्यता अध्ययन र प्रयास गर्ने पनि उहाँको प्रतिबद्धता छ ।
यस्तै, अस्ट्रेलियाका लागि प्रस्तावित राजदूत दाहालले आर्थिक कूटनीतिमा आफू केन्द्रित हुने बताउनुभयो । उहाँले द्विपक्षीय रूपमा उच्च स्तरको राजनीतिक भ्रमण गराउने र कन्सुलर सेवालाई प्रभावकारी बनाउन आफू केन्द्रित हुने बताउनुभयो ।
उहाँले आफूमाथि लागेको अभियोगमा स्पष्टीकरणसमेत दिनुभयो । आफू र परिवारका कुनै पनि सदस्यको अमेरिकामा कुनै पनि स्थायी बसोवासको अनुमति नभएको पनि समितिमा दाहालले बताउनुभयो । दाहालमाथि अमेरिकाको स्थायी अनुमतिपत्र रहेको आरोप लागेको थियो ।
यस्तै, स्पेनका लागि प्रस्तावित राजदूत शेर्पाले आर्थिक कूटनीतिमा नै केन्द्रित हुने बताउनुभयो । शेर्पाले दुई देशको उच्च स्तरीय राजनीतिक भ्रमणका लागि प्रयास गर्ने बताउनुभयो । उहाँले स्पेनमा पर्यटन प्रवद्र्धनका लागि आफूले सक्दो प्रयास गर्ने बताउनुभयो ।
प्रश्नभन्दा सुझाव बढी
समितिमा सांसद्हरूले प्रस्तावित पदाधिकारीलाई प्रश्नभन्दा बढी सुझाव नै दिएका थिए । कूटनीतिक मर्यादा, आर्थिक कूटनीति तथा मुलुकका हितमा काम गर्न सांसदहरूको प्रस्तावित राजदूतलाई सुझाव थियो ।
प्रस्तावित राजदूतमध्ये अस्टे«ेलियाका लागि प्रस्तावित दाहाललाई मात्र सांसदहरूले जवाफका लागि प्रश्न गरेका थिए । दाहाल र उहाँकी श्रीमतीसँग अमेरिकाको स्थायी बसोवासको अनुमतिपत्र भएको विषयमा सांसदद्वारा प्रश्न गरिएको थियो ।
सांसद ज्ञानेन्द्रबहादुर कार्कीले अमेरिकाको स्थायी बसोवासको अनुमतिपत्र भए वा नभएको विषयमा जानकारी दिन दाहाललाई प्रश्न गर्नुभएको थियो । यस्तै, योगेश भट्टराई, पार्वत गुरुङ, राजेन्द्र श्रेष्ठले पनि स्थायी बसोवासको अनुमतिपत्रबारे प्रश्न गर्नुभएको थियो ।
जवाफका क्रममा प्रस्तावित राजदूत दाहालले आफूसँगै कुनै पनि अनुमतिपत्र नभएको र आवेदनसमेत नदिएको बताउनुभयो । उहाँले श्रीमतीले वर्क परमिट लिएको र सोको अवधि समेत आउँदो सेप्टेम्बरमा सकिने बताउनुभयो । स्थायी बसोवासको अनुमतिपत्र भएको भन्ने आरोपमा सत्यता नभएको दाहालको भनाइ छ । सरकारले जेठ २३ गते अस्ट्रेलिया, स्पेन, बङ्गलादेश र कतारका लागि राजदूत सिफारिस गरेको थियो ।गोरखापत्र दैनिकबाट