मिति २०७६।०३।२४
आदरणीय अध्यक्ष ज्यू
सेवा ढोग
देश संघीयतामा गैसकेको परिप्रेक्ष्यमा देसलाई राजनीतिक तथा भौगोलिक विभाजन गरी गाउँगाउँमा सिंहदरबार र सिंहहरु ल्याइसकेको अवस्थामा स्थानीय चुनाव भएको पनि दुई बर्ष बितिसकेको छ । स्थानीय चुनावमा सम्पूर्ण सोताङबासीको मन जित्न सक्नुभएको र अत्याधिक बहुमतले हजुरले जित हासिल गरेको सोताङबासीलाई गौरवको कुरा हो । स्थानीय चुनावमा गोप्य मतदानमा मैले कसलाई मत दिएँ भन्ने कुरा त मेरो गोपनीयताको कुरा भयो । तैपनि म कुनै पनि पार्टीको कार्यकर्ता र पार्टीको झण्डा बोकेर नहिँडेकोले सही मान्छे चुनेर जिताएकोमा चाहिँ दुई मत छैन । त्यसैले सोताङमा तपाईंले गर्नुभएको मेहेनत, परिश्रम र जनताको हितमा गरिएको कामको मुल्याङ्कनले नै स्थानीय चुनाव जित्नु भएको हो ।
मान्छेमा कहिलेकाहीँ केही कमिकमजोरी हुन्छ । त्यो उतारचढाव तपाईंमा नि भयो होला तर त्यसलाई सामान गर्दै सोताङबासीको हितमा सदासर्बदा लागिपर्ने तपाईंको दृढ़ सङ्कल्पले गर्दा नै सोताङमा सबैको मन जित्न सक्नुभएको छ । अहिले आएर समृद्ध सोताङ सुखी सोताङबासी जनता भन्ने तपाईंको यो नाराले हामी परदेसीएका युवाहरुमा नयाँ जोस जाँगर र उमङ्ग छाएको परिप्रेक्ष्यमा स्थानीयस्तरको आफ्नो गाउँघरको समस्या बुझ्न सक्ने गाउँको मान्छे गाउँमा नै सरकार चलाएर बस्दा धेरै सुख, सुबिधा, नियम, कानुन र गलत प्रविधिलाई कार्बाही र सहीलाई सम्मान गर्न सक्छ । स्थानीय सरकारले फेरी हजुर जस्तो उर्जासिल नेतृत्व पाएको सोताङ गाउँपालिकाले निराशा हुने त ठाउँ नै छैन । तैपनि अहिले स्थानीय सरकार कार्यसमिति न्यायीक समिति गठन गरी स्थानीय नीति नियम र कार्यन्वयन गर्दै गरेको परिप्रेक्ष्य र म एक गरिब किसानको छोरा बाध्यताले परदेसिनु परेको अवस्थामा बिहे गर्ने उमेर पुगेर पनि बिहे गर्न नपाएको यो परिप्रेक्ष्यलाई ध्यानमा राख्दै सोताङ गाउँपालिकाले एउटा नयाँ नियम बनाओस् भन्नको खातिर म यो खुला पत्र अध्यक्ष सामु लेख्दै छु ।
बिहे गर्ने उमेर पुगेर पनि बिहे नगर्नु एउटै कारण हो बिहे गरेर घरमा नै बसौँ, आर्थिक चापले कमाउने बाटो र म बाठो छैन । पढेलेखेको पनि छैन । एक गरिब किसानको छोरा बिहे गरेर बिदेस लागौँ घरमा फर्कंदा न श्रीमती न आफूले दुःख गरेर कमाएको धन सम्पत्ति धेरैको यो हाल देखिएको छ । विदेसीको श्रीमती ताक्ने र विदेशीका श्रीमतीहरु अरुसँग लाग्ने यो परिवेशबाट मुक्त बनाउन सोताङ गाउँपालिकाले केही गर्ननै पर्ने भएको छ । बिहे गर्ने उमेर बित्न लागिसकेको यो अवस्थामा अहिले गाउँगाउँमा सिंहदरबार मात्र हैन स्थानीय कानुन बनाउँदै र बन्दै छ भन्ने कुराले खुसी तुल्याएको छ ।
त्यसै कानुनको सेरोफेरोमा सोताङबाट करिब सबै देसमा छरिएर रहेका २५ सय युवाहरुको घरवारलाई मध्यनजर गरी बिदेसिएकाको श्रीमतीलाई गलत नजर लगाउने र बिदेसीका श्रीमतीले पनि अरु कसैसँग नजिक भएर आफ्नो घरबार बिगार्न चाहेमा स्थानीय सरकार स्थानीय कानुनले कडा कार्बाही गर्ने र बिदेसिएकाको घरबारलाई बलियो बनाउन टेवा पुग्ने गरी नियम कानुन बनाइ सहयोग गरी आगामी दिनमा अझै धेरै सोताङबासीको मनमा बस्न सक्नु हुनेछ र सोताङलाई समृद्ध मात्र नभै शान्त, मेलमिलाप, आपसी सदाचार, एकताबद्ध, सबैको घरमा खुशीयाली, रमाइलो तथा सुन्दर बनाउन सक्नुहुन्छ भन्दै हजुरलाई नमन गर्दछु ।
गोविन्द बस्नेत
सोताङ गाउँपालिका-१, सोलुखुम्बु
हाल कुबेत