काठमाडौं । भारतबाट नेपाल आयात हुने तरकारी तथा फलफूलमा विषादी परीक्षण गर्ने निर्णय फिर्ता लिने सरकारी निर्णय असार ३० गते सम्म कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरीम आदेश दिएको छ ।
सर्वोच्च अदालतका न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलासले मन्त्रिपरिषदको असार १८ गते को निर्णय कार्यान्वयन नगर्न र दुबै पक्षलाई असार ३० गते छलफल मा आउन आदेश दिएको छ ।
नेपाल आयात हुने तरकारी तथा फलफूलमा विषादी परीक्षण गर्ने गरी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले असारमा ‘निकासी पैठारीसम्बन्धी आदेश’ राजपत्रमा प्रकाशित गरेको थियो ।
उपभोक्ता हितर संरक्षण मञ्च र अर्को एक संस्थाले मंगबार सरकारको सो निर्णय विरुद्ध रीट दायर गरेका थिए । सरकारले असार २ गते राजपत्रमा प्रकाशित गरेर भन्सार विन्दुमा क्वारेन्टाइन र जीवनाशक विषादी अवशेष परीक्षण अनिवार्य गरेको थियो ।
यो कदमले भारतीय व्यवसायीलाई अप्ठ्यारो परेपछि असार १४ मा भारतीय दूतावासले परराष्ट्र मन्त्रालयलाई पत्र पठाएको थियो । फलफूल तथा तरकारी रोकेको जनाउँदै भारतीय दूतावासले दबाब दिएपछि असार १८ गते परीक्षण गर्ने निर्णयबाट सरकार पछि हटेको थियो । सरकारले पर्याप्त प्रयोगशाला नभएका देखाउँदै आयातित तरकारी र फलफूलमा विषादी परीक्षण स्थगित गरेको हो ।