किवीका २० हजार विरुवा तयार गर्दै वागवानी

सोलुखुम्बुको वागवानी केन्द्र फाप्लुमा उत्पादन गरिएका किबीका रुट दोस्रो नर्सरीमा सार्दै ।

हिमशिखर समाचारदाता/सोलुखुम्बु। केही वर्ष यता किबी(ठेकीफल)को व्यवसायिक खेती शुरु गरिएको सोलुखुम्बुमा अघिल्लो वर्षदेखि जिल्लामानै विरुवा उत्पादन सुरु भएको छ । यसअघि विभिन्न जिल्लाबाट विरुवा ढुवानी गरेर कृषि कार्यालयबाट तथा व्यक्तिगत रुपमा किबी खेती गर्दै आएका कृषकहरुलाई सोलुखुम्बुको फाप्लुमा रहेको वागवानी केन्द्रले किबीको विरुवा उत्पादन गर्न थालेको हो ।

व्यवसायिक किबी खेतीप्रति सोलुखुम्बुका कृषकहरुको आकर्षण बढ्दै गएपछि बाहिरबाट आवश्यकताअनुसार विरुवा ल्याउन समेत कठिनाइ भएकाले विरुवा उत्पादन सुरु गरिएको वागवानी केन्द्र फाप्लुका प्रमुख तथा किबी विशेषज्ञ चन्द्रमान श्रेष्ठले बताउनुभयो । यस वर्ष विक्रीका लागि तयार भएका विरुवा करिब पाँच हजार रहेको बताउँदै प्रमुख श्रेष्ठले आगामी वर्षका लागि करिब २० हजार भन्दा बढी विरुवा तयारी धमाधम भइरहेको जानकारी दिनुभयो ।

किबीको विरुवा तयार गर्नका लागि तीन चरणको नर्सरी बनाउनु पर्दछ । पहिलो चरणमा चैतसम्म विऊ फलबाट निकाल्ने र नर्सरीमा रोप्ने, दोस्रो चरणमा असारमा पहिलो नर्सरीबाट उत्पादन भएका विरुवा सार्ने र तेस्रो नर्सरीमा पुस माघमा उन्नत जातको हाँगा(सायन) मा विउबाट तयार भएको रुटमा कलमी गरेर विरुवा उत्पादन हुन्छ ।

विरुवाको मूल्य प्रतिगोटा सरकारी दरअनुसार ११० रुपियाँमा बिक्री गर्ने उहाँले जानकारी दिनुभयो । यस अघि हजारौँ विरुवा बाहिरबाट ल्याउने गरेको भएपनि विभिन्न जातको परेकाले उत्पादन राम्रो र गुणस्तरीय नभएको प्रमुख श्रेष्ठले बताउनुभयो । पहिलो पटक हेवार्ड जातको विरुवा उत्पादन गरिएको उहाँको भनाइ छ ।

व्यवसायिक किबी खेती थालेका कृषकहरुले विरुवा उत्पादन गर्ने तरिका सिक्न आउने गरेको समेत उहाँले बताउनुभयो । जिल्लाका अधिकांस नगर तथा गाउँपालिकामा किबी खेती बढ्दै गएको र एउटा गाउँपालिका किबी भिलेज घोषणा गरेकाले विरुवाको माग धान्न अझै नसकिने प्रमुख श्रेष्ठको अनुमान छ । अहिले देसका विभिन्न जिल्लाबाट विरुवा ल्याउँदा समेत नपुगेपछि चीनबाट समेत विरुवा ल्याएको उहाँले बताउनुभयो ।

जिल्लामा हाल करिब दुई सय हेक्टर क्षेत्रफलमा खेती भएको र भर्खर फल लाग्न थालेकाले यस वर्ष करिब २० टन उत्पादन भएको भन्दै बजारीकरणको समेत व्यवस्था गरिदिने उहाँको भनाइ छ । फलको राजा मानिने किबीको व्यवसायिक खेतीका लागि समुद्र सतहबाट एक हजारदेखि दुई हजार मिटरसम्मको हावापानी उपयुक्त मानिए पनि उचित सिंचाइ र स्याहार पुगे समुद्री सतहबाट आठ सयदेखि दुई हजार नौ सय मिटरसम्म यसको खेती गर्न सकिने उहाँको भनाइ छ ।

हिउँद र सुख्खा गर्मी मौसममा किबीलाई सिंचाइको आवश्यक व्यवस्था गर्नुपर्ने र माइनस २ डिग्री सेन्टीग्रेड वा १० डिग्री फरेनहाइट भन्दा कम तापक्रम किबीले सहन नसक्ने प्राविधिकहरुको भनाइ छ । पाँचदेखि ६.८ पि.एच. भएको माटो किबीका लागि उपयुक्त मानिन्छ । कम्तिमा एक बोट किबीलाई दुई सय वर्गफिट जमिन आवश्यक पर्दछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार