अस्पतालबाट नवजात शिशुको अपहरण

सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट बुधबार मध्यराति १३ दिने नवजात शिशुको अपहरण भएको छ । प्रतिष्ठानको कमजोर सुरक्षा व्यवस्थाका कारण प्रतिष्ठानको प्रसूति वार्डबाट नवजात शिशुको अपहरण भएको हो ।

नवजात शिशुको अपहरण भएपनि धरान प्रहरीले तीन घन्टाभित्रै शिशुको सकुशल उद्धार गरेको छ । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–१ की बबिता मेहताले यही असार १३ गते छोरा जन्माएकी थिइन् ।

बुधबार राति १२ बजेतिर बबिताको छोराको अस्पतालको बेडबाटै अपहरण भएको हो । बुधबार राति बबिता र उनका कुरुवा बसेका भतिज रोशन मेहता निदाएको मौकाछोपी दुईजना महिलाहरुले १३ दिनको नवजात शिशुको अपहरण गरेको जनाइएको छ ।

बबिता निद्राबाट बिउझिँदा बेडमा छोरा देखिनन् । उनले त्यसबारेमा चिकित्सकहरुसित सोधपुछ गरिन् । शिशु वरिपरि नदेखिएपछि अपहरणमा परेको आशंका गरियो ।

तत्काल प्रतिष्ठानका चिकित्सकहरुले प्रहरीमा खबर गरे । त्यसको करिब तीन घन्टाको अन्तरमा प्रहरीले अपहरणमा परेका नवजात शिशुको धरान उपमहानगरपालिका–१५, बगरकोटबाट उद्धार गरेको प्रहरीले जनाएको छ ।

दिल्ली लैजाने तयारी

नवजात शिशुको अपहरणमा संलग्न दुई महिलालाईसमेत प्रहरीले पक्राउ गरेको इलाका प्रहरी कार्यालय धरानका डीएसपी ढुण्डिराज न्यौपानेले जानकारी दिए ।

अपहरणमा संलग्न धरान–१५ माइतीघर भएकी भारतको नयाँदिल्लीकी २७ वर्षीया लीला विक र उनकी भाउजु मीना लिम्बू (विक)लाई पक्राउ गरिएको उनले बताए । अपहरणपश्चात् शिशुलाई दिल्ली लैजाने तयारी गरिएको खुलेको डीएसपी न्यौपानेको भनाइ छ ।

बबिताले शल्यक्रियामार्फत् शिशु जन्माएकी थिइन् । चिकित्सककाअनुसार सोक्रमको घाउ पूर्णरुपमा निको नभइसकेकाले उनी अस्पतालमा उपचाररत् छिन् ।

पक्राउ परेका लीला र मीना इलाका प्रहरी कार्यालय धरानको नियन्त्रणमा छन् । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । नवजात शिशुका बुवा दीपनारायणले प्रतिष्ठानको सुरक्षा व्यवस्था मजबुत् बनाउन माग गरेका छन् ।इमेजखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार