बाढी पहिरोमा परी मृतकको संख्या ३४ पुग्यो (मृतकको नामावली सहित)

विगत केही दिन देखिको वर्षाका कारण बाढी पहिरोमा परी शनिबार साँझ सम्म ३४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ
बाढी पहिरोमा परी शनिबार साँझसम्म ललितपुरमा पाँच जना, भोजपुरमा चार जना, काठमाडौं, मकवानपुर, खोटाङ र काभ्रेमा तीन÷तीन , धादिङ र सिन्धुलीमा दुई÷दुई जनाको मृत्यु भएको छ

यस्तै पाल्पा, ओखलढुंगा, पर्सा, रामेछाप, ईलाम, झापा, सुनसरी, बारा र चितवनमा एक एक जना गरी जम्मा ३४ जनाको मृत्यु भएको छ ।
बाढी पहिरोमा परेका ९७९ जनाको प्रहरीले सकुशल उद्धार गरेको छ ।

उद्धार गरिएकामा महोत्तरीमा पाँच सय जना, रौतहटमा दुई सय जना, काठमाडौंमा १८५ जना, सिन्धुलीमा ७० जना, उदयपुरमा १० जना, ललितपुरमा आठ जना, सिराहमा दुई जना तथा भक्तपुर, सुनसरी, मकवानपुर र खोटाङमा एक एक जना गरी जम्मा ९ सय ७९ जनाको सकुशल उद्दार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।

बाढी पहिरोमा परी सिन्धुलीमा चार जना तथा काठमाडौं, पाँचथर, झापा, उदयपुर, मोरङ, सुनसरी, महोत्तरी, रौतहट, धादिङ, ललितपुर, मकवानपुर र भोजपुरमा एक उक जना गरी १६ जना वेपत्ता भएका छन् । वेपत्ताको खोजी कार्य जारी छ । साथै मकवानपुरमा चार जना, काभ्रेमा दुई जना तथा खोटाङ, रामेछाप, धादिङ, दोलखा, सुनसरीमा र चितवन एक एक जना गरी जम्मा १२ जना घाइते भएका छन् ।

यसैबीच राप्ति नदीमा पानीको सतहले बाँकेको कुसुम क्षेत्रमा पानीले सर्तकता तह पार गरेको र सो नदीको तटीय क्षेत्रमा सर्तकर्ता अपनाउन मौसम तथा जलवायु विज्ञान विभागले आग्रह गरेको छ ।

मृतकको नामावली

  • पर्सा निखील पटेल)
  • भोजपुर :जनक वि.क. र जगत बहादुर राई
  • रामेछाप: पदम कुमारी सुनुवार
  • सिन्धुली: हेमकुमारी सुनुवार र कार्वन कपारी
  • काभ्रेपलान्चोक: गोमा दंगाल, सुहावी दंगाल, कृष्णदेवी रायमाझी
  • ललितपुर:सरोज जिम्वा,अविरल गोले, संन्दिप लोल्हो,

         सुवेश बस्नेत, सिता रानामगर, सानु मैया लोल्हो

  • काठमाण्डौ: सर्मिला यादवनितु यादव र कुन्दन यादव
  • धादिङ्ग: अस्मिता तामाङ्गराज कुमार ठकुरी
  • खोटाङ्ग : रेखा राई, रोमन राई र रोहन राई
  • मकवानपुर : सन्तमाया बलामी र सानुकान्छा सुनुवार)
  • बारा : विक्कु यादव
  • ईलाम: मानाहाङ्ग लावती
  • झापा : ऐलिजा न्यौपाने
  • ओखलढुङ्गा पासाङपुटी शेर्पा

बाढीले बारामा जनजीवन  प्रभावित 

शिवशंङ्कर मिश्र/कलैया
अविरल बर्षाका कारण विभिन्न खोलामा आएको बाढी तथा डुवानले बारा जिल्लामा धनजनको ठूलो क्षति भएको छ । बाढी र डुबानले जनजीवन नराम्रोसंग प्रभावित भएको छ ।

बाराको जीतपुरसिमरा उपमहानगरपालिका, महागढीमाई नगरपालिका, फेटा, देवताल, बिश्रामपुर र परवानीपुर गाउँपालिकाका विभिन्न टोलबाट विस्थापित परिवारलाई उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ ।

जीतपुरसिमरा उपमहानगरपालिकाको वडा नम्बर–८ रमौली, १० नयाँबस्ती, २४ हरपुर, महागढीमाई गाउँपालिका–३, १० गंजभवानीपुर, फेटा गाउँपालिका–१ त्रिवेणी र रजवटिया, बिश्रामपुर गाउँपालिका–४ बिश्रामपुर, २ तिलढिकी, ३ मुसहर्वाटोलका डुबानक्षेत्रका स्थानीयलाई सुरक्षित स्थानमा सारिएको छ ।

यसैगरि देवताल गाउँपालिका–६ रामपूर्वा, ७ बेनौली टोलका घर डुबानमा प्रभावित भएका करिब पाँच सय घरका परिवारलाई उद्धारपछि सुरक्षित स्थानमा सारिएको जिल्ला प्र्रशासन कार्यालय बाराका प्रवक्ता एवम् प्रशासकीय अधिकृत मुरारी कार्कीले जानकारी दिनुभयो ।
प्रभावितलाई सम्बन्धित स्थानीय तहले नै राहत वितरण तथा खानपानको व्यवस्था मिलाएको प्रवक्ता कार्कीले बताउनुभयो । यस्तै विस्थापित परिवारलाई सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले विद्यालय, धर्मशाला, हेल्थपोष्ट, मस्जिदमा राखिएको छ भने स्थानीयले खानाको प्रबन्ध गरेका छन् ।

बर्षाका कारण बाराको परवानीपुर गाउँपालिका–२ अरबिन्द यादवको डेढ बर्षिय छोरा बिकी यादवको घर पछाडिको नालीमा डुबेर मृत्यु भएको छ । थुनिएको पानी निकासका लागि ठाउँठाउँमा स्थानीयहरु प्रयास गरिरहेका छन् ।

पहिरो खस्दा बन्दबाटाे खाेलियाे 

पहिरो खस्दा पथलैया हेटौडा सडकखण्ड दुई घण्टा अवरोध पछि खुलाइर्एको छ । अबिरल बर्षाको कारण जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर–२२ चुरियामाई मन्दिर नजिकैको सडकमा पहिरो खस्दा बाटो बन्द भएको थियो ।

विकासले बिनास निम्तायो

मापदण्ड बिनाको असारे विकासले विकास भन्दा पनि बिनास निम्ताएको स्थानीयले बताएका छन् । निर्वाचित जनप्रतिनिधि तथा नेताको आसेपासे रहेका आफन्तले गरेको विकासका काम बिना मापदण्ड रहेका कारण सबैतिर पानीको निकास थुनिएको स्थानीयले आरोप लगाएका छन् ।

ईन्जिनियर, प्राविधिक नराखिकन वा उनीहरुको ईष्टिमेट बिना निर्माण गरिएको नालासहितको बाटोले गर्दा पानीको निकास रोकिएकाले बर्षायाममा सबैले दुःखपाउनु पर्ने अवस्था आएको देवताल गाउँपालिकाका स्थानीय शम्भु साहले बताउनुभयो ।

नगरभित्र उपभोगता समिति मार्फत भएको कुनै पनि विकासका कार्यमा प्राविधिक वा ईन्जिनियर नदेखिएको तथा जथाभावी निर्माण कार्य गरिएको आरोप उहाँले आरोप लगाउनुभयो ।

यसैगरी सिंचाईका लागि खेती योग्यको खुल्ला ठाउँमा समेत रहेको कुलोलाई पुरिदा, मापदण्ड बिनाको बाटो निर्माणगर्दा पानीको बहाव बस्ती भित्र पस्ने गरेको महागढीनगरपालिका–१० का शम्भु साहले बताउनुभयो ।

उनीहरुले जसोतसो गरेको विकासको कामलाई सम्बन्धित निकायले अनुगमण नगर्दा बर्षायाममा सबैपक्षले दुःख भोग्नु परेको हो । एक बर्षको योजना कार्यलाई एकदुई महिनामा सिध्याउनु पर्ने परिपाटी अहिले बाराका अधिकाँस पालिकाहरुमा देख्नसकिने अवस्था आएको छ ।

ढुंगा खस्दा एकको मृत्यु
सुरेन्द्र खत्री/रुकुम
आठविसकोट नगरपालिका –५ गोतामकोटमा बाटो माथिबाट ढुंगा खस्दा एकजनाको मृत्यु भएको छ । जलीगाडबाट रिम्कातर्फ जाने क्रममा बाटो माथिबाट आएको पहिरोसँगैको ढुंगाले लागेर स्थानीय १६ बर्षीया कौशिला बस्नेतको मृत्यु भएको हो ।

जलिगाडको घरबाट माथिगाउँमा पर्ने रिम्का जाँदै गर्दा पहिरोसँगै आएकोे ढुंगाले लागेपछि बस्नेतको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक बस्नेत सरस्वती माध्यमिक विद्यालय आठविसकोट नगरपालिका –५ मिग्रीमा कक्षा ८ मा अध्ययनरत रहेको बताइएको छ ।

झापामा  दुई बालक सहित तीन जनाको मृत्यु

विष्णुप्रसाद पोखरेल/दमक
लगातरको बर्षापछि आएको बाढीले शनिबार झापामा एक बालकको मृत्यु भएको छ । यो संगै झापामा बाढीबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ ।

झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालका अनुसार शिवसताक्षी नगरपालिका सालमारा स्थित बनियानी खोलाले बगाउँदा वडा नं. १० का ९ बर्षिय सौगात चापागाँइको मृत्यु भएको छ । घरबाट फुपु दिदिकामा जाने क्रममा खोला तर्दा बगाएर चापागाँइको मृत्यु भएको दाहालले जानकारी दिनु भयो ।

शुक्रबार दमक १० मा ६ बर्षिया एलिजा न्यौपानेको घर अगाडिको भालुखोलाले बगाएर ज्यान गएको थियो । खोलाले बगाउदा गम्भिर घाइते न्यौपानेलाइ उद्धार गरेर दमकस्थित लाइफलाइन अस्पताल ल्याइ पुर्याएपछि मृत्यु भएको प्रहरीले जनाएको छ । बगाएको ठाँउभन्दा ५ सय मिटर टाढा उनलाइ फेला पारिएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

यसैगरी शुक्रबार इलामको चुलाचुलीबाट खोला तर्ने क्रममा बेपत्ता हुनु भएका ५० बर्षिय रत्न लावतीको शव कमल गाँउपालिका कमल खोलामा फेला परेको जनाईएको छ । यो संगै जिल्लामा बाढीले बगाएर ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।
शिवसताक्षी वडा नं. १० मा कटान तिब्र भएको र ४ घर अति जोखिममा परेकाले स्थानीयलाई सुरक्षित स्थानमा सर्न आग्रह गरिएको बताईएको छ । खोला नै खोला भएको जिल्ला भएकाले धेरै ठाँउमा डु्बान समस्या रहेकाले जिल्लाभर उच्च शर्तकता अपनाईएको झापाका साहयक प्रमुख जिल्ला अधिकारी माधव पोखरेलले जनाउनु भयो ।गोरखापत्रदैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार