डढुवा रोगले आलुको उत्पादनमा कमी


सोलुखुम्बु। आलु उत्पादन हुने सोलुखुम्बुका विभिन्न क्षेत्रहरुमा यस वर्ष आलुमा डढुवा रोग लागेर सखाप भएको छ । समयमा पानी नपर्दा डढुवा रोग लागेको हो ।

आलु छिप्पिन नपाउँदै रोगका कारण सबै बोट मरेकाले यस वर्ष जिल्लाको आलु उत्पादनमा करिब २० प्रतिशतले कमी आउने वागवानी केन्द्र फाप्लुका बरिष्ठ वागवानी विकास अधिकृत चन्द्रमान श्रेष्ठले बताउनुभयो । उहाँकाअनुसार वागवानीमा लगाइएको आलुमा भने औषधी प्रयोग गरेर रोग कम गरिएको छ । अन्य कृषकहरुले औषधी प्रयोग गर्ने सम्भावना नभएकाले धेरै कृषक मारमा परेको उहाँको भनाइ छ ।

बोट मरे पनि तत्काल आलु नखनी अलि समयपछि आलु खन्दा राम्रो हुने कृषि प्राविधिकहरुको सुझाव छ । करिब १० हजार हेक्टरमा आलु खेती गरिने सोलुखुम्बुमा प्रति हेक्टर १६ मेट्रिक टनका दरले वर्षेनि करिब एक लाख ५५ हजार मेट्रिक टन आलु उत्पादन हुने गरेको तथ्याङ्क छ । आलु उत्पादनको पकेट क्षेत्रमा पर्ने जिल्लाको माथिल्लो भेग सबै रोगबाट प्रभावित भएपछि यस वर्ष उत्पादनमा कमी आउनेभएको छ ।

वार्षिक रुपमा राम्रै आलु उत्पादन गर्दै आउनु भएका तामाखानीका कृषक रिन्जी शेर्पाले यस वर्ष आलुको दाना बढ्ने समयमा रोगका कारण बोट मरेपछि आलु उत्पादनमा ठूलो नोक्सान भएको बताउनुभयो । कतिपयको त आधा भन्दा कम उत्पादन हुने उहाँको भनाइ छ ।

यताका वर्षहरुमा यातायातको पहुँच पुगेसँगै जिल्लामा उत्पादन भएको आलुमा करिब ५० प्रतिशत छिमेकी जिल्ला तथा तराईमा निर्यात हुने बताइएको छ । आलु सङ्कलनका लागि व्यापारीहरु प्रत्यक्ष किसानसँग आउने र ढुवानी गर्ने गरेको स्थानीय कृषकहरु बताउँछन् । केही वर्ष अघिसम्म अधिकाँश खाद्यान्नका रुपमा प्रयोग हुने आलु जिल्ला बाहिर निर्यात हुन थालेपछि कृषकहरुले राम्रो आम्दानी गर्न थालेका छन् ।

आलुमा लाग्ने रोग कम गर्न तथा उत्पादन बढाउनका लागि यस वर्षबाट वागवानी केन्द्र फाप्लुले पहिलो पटक टिस्यू कल्चर प्रविधिबाट आलुको बिउ उत्पादन थालेको छ । केन्द्रले विशेषज्ञ सहित पाँच सय विरुवा ल्याएर रोपेको छ । सोलुखुम्बुमा हालसम्म खायन आलुलाई बिउका रुपमा प्रयोग गर्ने गरिन्छ ।

उत्पादकत्व बृद्धिका लागि टिस्यू कल्चर प्रविधिबाट आलुको बिउ उत्पादन गर्नु उपयुक्त हुने बताइन्छ । सोलुखुम्बुका लागि सिफारिस गरिएको जनकदेव, खुमल सेतो र खुमल विकास जातको आलुको बिउ उपयुक्त हुने प्राविधिकहरुको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार