निगम डुबाउने खरेलप्रति अझै ओलीको मोह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले केही साताअघि मात्रै नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेललाई हटाउने संकेत गरेका थिए । खरेलले निगमलाई दिनदिनै आरोलो लगाउने र आर्थिक रुपमा धराशयी बनाउने मात्रै काम गरेको भन्ने आशयको अभिव्यक्ति ओलीले सार्वजनिक रुपमै गरेका थिए । हुन पनि हो, खरेलले नेतृत्व सम्हालेदेखि यता निगमको ग्राफ दिनप्रतिदिन बिग्रँदो छ । निगम एकपछि अर्को गरि आर्थिक संकटमा फसेको छ । यसमा मुख्य दोष खरेलको नै रहेको निगमका कर्मचारीहरुको दाबी छ ।

निगमलाई तत्काल संकटबाट उकास्ने हो भने २० अर्ब रुपैयाँ चाहिन्छ । तर, प्रधानमन्त्री ओलीले सार्वजनिक रुपमै एक रुपैयाँपनि नदिने भनेर घोषणा गरिसकेका छन् । आफू मातहातको संस्था डुबिसकेको थाहा पाउँदा पाउँदैपनि बचाउनको लागि प्रधानमन्त्रीले कुनै चासो नदेखाउनुमा खरेलको कार्यशैलीप्रति तिव्र असन्तुष्टि हो भन्ने कुरा सहजै अनुमान लगाउन सकिन्छ।

सार्वजनिक रुपमै ओलीले खरेलबारे गरेको टिप्पणीका कारण अब निगममा नयाँ नेतृत्व आउने र बहालवालाको जागिर जाने अनुमान लगाउनेसम्मका अड्कलबाजी भएका थिए । यो बीचमा खरेलले प्रधानमन्त्री निवासमा धर्ना नै दिएर प्रधानमन्त्रीसँग भेट गरेका थिए । सुरुमा प्रधानमन्त्रीले भेटको लागि कुनै ढोका नै नखोलेपनि उनकै राजनीतिक सल्लाहकार विष्णु रिमाल र विदेश मामिला सल्लाहकार राजन भट्टराईको आग्रहमा खरेललाई भेट दिएका थिए । स्रोतकाअनुसार त्यो भेटमा पनि ओलीले खरेलको कार्यशैली अशोभनीय र आर्थिक रुपमा विवादस्पद बनेको पूर्ववतः आरोप कायम राखेका थिए ।

उनले खरेललाई मुखमै तपाई अब पदीय जिम्मेवारीबाट विदा लिन तयार हुनुहोस भन्नेसम्मको चेतावनी दिएका थिए । तर, यो एक साताको अवधिमा प्रधानमन्त्री ओली एकाएक खरेलप्रति मौन छन् । अहिले उनले खरेललाई हटाउने वा कारवाही गर्ने कुनै प्रसँग नै कोट्याएका छैनन् । सल्लाहकारद्धय रिमाल र भट्टराईले खरेलको जागिर जोगाउने जिम्मा लिएका छन् । प्रधानमन्त्री ओलीले अहिले बाटोमा मकै बेच्ने आमाहरुले त राज्यलाई कर तिरेको सुनाउँदै निगमले आजसम्म राज्यलाई लाभ हुने के काम गरेको छ त ? भन्दै प्रश्नसमेत खरेलसामू तेर्साएका थिए । ओलीसँगको भेटमा खरेल नाजावाफ थिए ।

नेपालका मूलधार मिडियाहरुले पनि खरेलका कारण निगम डुबेको समाचारहरु प्रकाशन गरेका छन् । यी सबै कुराको बारेमा प्रधानमन्त्री ओलीले सूक्ष्म रुपमा जानकारी लिईरहेका छन् । जनस्तरबाटै निगमको खस्कँदो अवस्थालाई लिएर खरेलमाथि नकारात्मक टिकाटिप्पणी भैरहँदा प्रधानमन्त्री ओली भने मौन बसिदिनुले प्रश्नचिन्ह खडा गरेको छ । ओलीले अब निगम चलाउन नसक्ने हो भने लिजमा दिनेसम्मको चेतावनी खरेललाई दिएर पठाएका छन् ।रिपोर्टर्सनेपाल डटकमबाट।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार