युवा शक्ति पलायन रहर कि वाध्यता ?

उमेश खत्री

उमेश खत्री/नेपालमा विकासका प्रचुर सम्भावनाहरु भने नभएका होइनन् तर पछि दैनिक हजारौं संख्यामा युवा जन शक्ति यो देशलाई छाडी अन्य देशमा पलायन भइरहेका छन् ।

ती युवाहरु कोही विद्यार्थीको रुपमा कोही कामदारको रुपमा त कोही पर्यटकको रुपमा यो देशबाट पलायन भइरहेका छन् । नेपालमा भइरहने राजनीतिक परिवर्तन र कछुवा चालको विकासले गर्दा उर्वर युवाको जोश जाँगरलाई नेपालले आफ्नै भूमिमा प्रयोग गर्न चुकिसकेको छ । विभिन्न पार्टीका सरकारहरु बनिसकेका छन् ।

कोही नेताहरु यो देशमा २/३ चोटी मन्त्री पनि भएको पाईयो तर तिनै युवाहरु जसले नेतालाई भोट हाली संसद बनाए जसको माध्यमबाट जो मन्त्री बने उनीहरुले युवाको रोजगारीको आवश्यकतालाई सम्बोधन गर्न नसक्दा युवाहरुमा एक खालको देश छाड्ने लहर रोकिन सकेको छैन । अहिले पनि कतिपय युवाहरु आफ्नो परिवारलाई छाडी बिरानो भूमिमा गई आफ्नो श्रमदान गर्न परेको छ ।

वास्तवमा राजनीति एउटा यस्तो शक्ति हो जसले कुनै पनि मुलूकमा कायलपट गर्न सक्दछ । जसले यो देशमा राजनीतिक क्रियाकलाप गरिरहेको छ ती व्यक्तिहरु यो मुलूकप्रति अत्यन्तै इमानदारी भई विकासका योजनाहरुलाई गाउँगाउँसम्म पुर्याउन सकिएको खण्डमा मात्र युवा जनशक्तिलाई यही देशमा रोक्न सकिन्छ । विकासको कामहरु रोकिनु र आफ्नो स्थानीय स्तरमा कुनै पनि रोजगारी सृजना हुन नसक्दा युवाहरुमा एक खालको दोधार सृजना गरिदिएको छ । अहिले बनेको स्थिर सरकारले युवाहरु प्रति ल्याएका केही योजनाहरु सही तरिकाबाट कार्यन्वयन हुन सकेको छैन ।

नेपालमा भएका विभिन्न मठ मन्दिर र हिमालयको दृश्यावलकोन गर्न आउने पर्यटनको लागि आवश्यक पर्ने होटलहरुको व्यवस्थापन गर्नाले धेरै भन्दा धेरै युवाहरुले यही देशमा रोजगारी प्राप्त गर्दछन् । नेपाल यस्तो मुलूकहो यहाँ पर्यटन उद्योगलाई मात्र राम्रो बनाउन सकिएको खण्डमा धेरै नै रोजगारी सृजना हुनेछन् ।
सरकारले युवा शक्ति पलायनलाई सही समयमा सही विवेकको प्रयोग गरी रोक्न सफल नभएमा यो देशले ठूलो मूल्य चुकाउनु पर्ने अवस्था छ । दिर्घकालिन विकासका योजनाहरु सहि समयमा कार्यन्वयन गर्नु र राजनीतिक स्थिरता भएको खण्डमा मात्र यो सबै सम्भव छ । अहिले नेपालबाट धेरै मात्रमा पढेलेढेका मानिसहहरुमा देश छाड्ने लहर चलेको छ त्यसैले नेपालले युवा जनशक्तिलाई नेपालमा कुन क्षेत्रमा प्रयोग गर्न सकिन्छ त्यतातिर ध्यानदिनु आवश्यक छ ।

नेपालमा एउटा बौद्धिक व्यक्ति छ भने उसले त्यस्ता अन्य सयौं जनालाई आफनो ज्ञान बाँडी आफू जस्तै बनाउन सक्दछ । त्यसैले बौद्धिक जनशक्तिलाई अरुको देश बनाउन लखेट्ने योजना होइन आफ्नो देशमा कसरी रोक्न सकिन्छ भन्ने तर्क सबैको ध्यानकर्षण हुन आवश्यक छ । नेपाल एउटा भौगौलिक विविधता भएको मुलूक भएको कारणले गर्दा विकासका गतिमा आएको विभेदलाई समानान्तर रुपमा अगाडी बडाउनु अहिलेको आवश्यकता हो । विकास निर्माणका कार्यहरुलाई शहर केन्द्रित होइन गाँउगाँउ केन्द्रित बनाइ त्यस क्षेत्रमा रहेको युवा जनशक्तिलाई सरकारले योग्यता अनुसारको रोजगारी दिई युवाहरुलाई आर्थिक रुपमा सबल बनाउनु पदर्छ ।

जति पनि अहिले युवा पलायन भईरहेका छन् त्यसको मुख्य कारण भनेको नै गरिबी र बेरोजगार रहेको छ । यदि आफ्नै मुलूकमा रोजगारी प्राप्त भईहाले पनि त्यसले उक्त व्यक्तिको पारिवारिक आवश्यकता पुरा हुन अत्यन्तै कठिन हुने छ । नेपालले पनि आफ्ना नागरिकहरुलाई कसरी बढी भन्दा बढी मात्रामा रोजगारी सृजना गर्न सकिन्छ भन्ने तर्फ विशेष ध्यान दिई दिर्घकालिन योजनालाई कार्यन्वयन गर्न आवश्यक छ । चाहे सरकारले आफ्नै देशमा आफ्नै लगानीबाट ठूला उद्योगधन्दाहरु निर्माण गरोस् त्यो गर्न नसकेको खण्डमा बैदेशिक लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्न लगाई नेपालमा ठूलो उद्योगहरुको विकास र विस्तार गर्नु अत्यन्तै आवश्यक छ । जसले गर्दा नेपालमा रोजगारी त सृजना पक्कै हुन्छ । त्यो बाहेक नेपालको प्रतिव्यक्ति आयमा पनि वृद्धि हुन्छ ।

युवाशक्तिको आवश्यकतालाई सम्बोधन गरी सरकारले नेपालमा नै रोजगारी सृजना गर्न सकेको खण्डमा नेपालबाट कुनै पनि हालतमा युवाहरु पलायन हुनु पर्ने स्थितिको अन्त्य हुन्छ । यो देशमा प्रचुर सम्भावनाहरुको सही समयमा खोजी नहुदा देशबाट युवा जनशक्तिको पलायनबाट नेपाललाई देश निमार्णमा ठूलो घाटा रहेको छ । त्यसैले सरकारले सम्भावित औद्योगिक क्षेत्रको विकास र विस्तार गरी युवाशक्तिलाई आफ्नो घर परिवारसंगै रहेर आफ्नो देशमा काम गर्न सक्ने वातावरण बनाउन सकिएको खण्डमा भोलीको दिनमा नेपाललाई पनि एउटा विकसित देशको रुपमा चिन्ने सम्भावना रहन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार