बुद्धको मूर्ति तोडफोड गर्नेलाई कारबाही गर : कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले भगवान् गौतमबुद्धको मूर्ति तोडफोड गरिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

कांग्रेस संसदीय दलले बिहीबार एक विज्ञप्ति निकाली घटनाको सत्यतथ्य छानबिन र त्यसमा संलग्न दोषीलाई कानुनी कारबाही गर्न मागसमेत गरेको छ ।

बुधबार राति रुपन्देहीको तिलोत्तमा नगरपालिकाअन्तर्गत् सिद्धार्थ राजमागको बीच भागमा राखिएका बुद्धका मूर्तिहरु तोडफोड गरिएकोप्रति कांग्रेसले आपत्ति जनाएको हो ।

‘भगवान् गौतमबुद्धको मूर्तिहरुलाई तोडफोड गर्नु धर्म, संस्कृति र मूल्य–मान्यताको अपमान हो’–विज्ञप्तिमा भनिएको छ–‘यसरी धार्मिक, सांस्कृतिक सहिष्णुतामा आँच आउने र धार्मिक द्वन्द्वलाई निम्त्याउने गरी नियोजितरुपमा बुद्धको मूर्तिलाई तोडफोड गर्ने कार्य अत्यन्त निन्दनीय एवं घोर आपत्तिजनक छ ।’

पाँचओटा मूर्तिहरु तोडफोड

बुटवलदेखि तीन किलोमिटरको दूरीमा तिलोत्तमामा सडकबीचमा राखिएका पाँचओटा मूर्तिहरु तोडफोड गरिएको हो ।

अज्ञात र अराजक समूहले शंकरनगरदेखि नयाँमिलसम्मका बुद्धका मूर्तिहरु तोडफोड गरेको तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरेले बताए ।

नगरपालिकाले घटनाको भर्त्सनासमेत गरेको छ ।

बुद्धको जन्मभूमि लुम्बिनी जाने बाटोमा बुद्धका मूर्तिहरु राखिएको थियो ।

तिलोत्तमा नगरपालिकाले योगीगुठीबाट भलबाडीसम्मको सडकमा २२ ओटा बुद्धका मूर्ति गएको वैशाखमा बुद्ध पूर्णिमाको दिन राखेको थियो ।

बुद्धका मूर्तिहरु तोडफोडको घटनामा प्रहरीले अनुसन्धान सुरु गरेको र घटनामा संलग्नहरुको खोजीकार्य तीव्र पारिएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार