नेकपामा संगठन विभागमा सबैभन्दा बढी रस्साकस्सी

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र इन्चार्ज र सहइन्चार्ज तोक्ने विषयमा सैद्धान्तिक सहमति भएको भनिएपनि भित्र–भित्रै यही विषयमा नेताहरुबीच विवाद जारी नै छ ।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच पूर्वएमाले पक्षले ४४ र पूर्वमाओवादी केन्द्र पक्षले ३३ जिल्ला इन्चार्ज नेतृत्व लिने सहमति बनेको थियो ।

विभागको संख्याबारे टुंगो लागिसके पनि विभागीय प्रमुखको विषय भने मिलेको छैन ।

इन्चार्ज र सहइन्चार्ज चयन कुन ‘मोडालिटी’बाट गर्ने भन्ने तय नहुँदा थप समस्या भइरहेको छ ।

वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले दोहोरो जिम्मेवारी दिन नहुने अडान अहिले पनि राखिरहेको छ ।

स्रोतकाअनुसार सरकारको काममा एकपछि अर्को गर्दै असन्तुष्टि बढिरहेका बेला प्रधानमन्त्री ओलीले भने हरेक दिनजसो नेताहरुसँगको भेटघाटलाई बाक्लो बनाइरहेका छन् ।

संगठन विभागमा अहिले सबैभन्दा बढी रस्साकस्सी चलेको छ ।

यही विषयमा शुक्रबार बिहानमात्र अध्यक्ष दाहाल र वरिष्ठ नेता नेपालबीच पनि भेटवार्ता भएको छ ।

दाहाल र नेपाल वामदेव गौतमलाई संगठन विभाग दिने पक्षमा छन् । तर, प्रधानमन्त्री ओलीले गृहमन्त्री रामबहादुर थापाको नाम अघि सारेको नेपालपक्षीय एक नेताको दाबी छ ।

ओली पक्षमै रहेका ईश्वर पोखरेल र विष्णु पौडेल पनि संगठन विभागको नेतृत्वका लागि लागिपरेका छन् ।

आइतबार बस्ने सचिवालय बैठकअघि नै विभागीय प्रमुख र इन्चार्ज, सहइन्जार्च तोक्ने विषय टुंगो लगाउने प्रयासका लागि अहिले द्विपक्षीय छलफलहरु तीव्र बनेका छन् । तर, सबै विषय आइतबार नै टुंगिने सम्भावना भने कम छ । इमेजखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार