वर्षेनि स्याउ उत्पादन घट्दै

सन्तोष राउत/ फाप्लु (सोलुखुम्बु)। सोलुखुम्बु, ओखलढुङ्गा र खोटाङ जिल्लाका कृषकहरुलाई कृषि क्षेत्रमा सहयोग गर्न स्थाापना भएको बागवानी केन्द्र सोलुखुम्बुमा यस वर्ष पनि स्याउको उत्पादनमा ह्रास आएको छ । केन्द्रमा बिगत बर्षको तुलनामा अघिल्लो बर्ष स्याउका लागि मौसम अनुकूल नभएपछि स्याउ उत्पादनमा निकै कमी आएको थियो भने यस वर्ष करिब २० प्रतिशतले कमी आएको वागवानी केन्द्र फाप्लुका प्रमुख चन्द्रमान श्रेष्ठले बताउनुभयो ।

पछिल्लो समय क्रमशः स्याउको उत्पादनमा कम आइरहेको छ, यस वर्ष पनि करिब २० प्रतिशतले स्याउको उत्पादन घट्ने अनुमान छ –प्रमुख श्रेष्ठले भन्नुभयो । जिल्लामा यसअघि करिब दुई हजार टन स्याउ उत्पादन हुने गरेको भएपनि यस वर्ष वागवानीलगायत विभिन्न स्याउ उत्पादन हुने क्षेत्रमा पनि नफलेको उहाँको भनाइ छ ।
वि.सं. २०३५ सालताका रोपिएका बोटहरु पुराना भएपछि विभिन्न रोग लागेर फल दिन छाडेकाले क्रमशः हटाउन थालेको छौँ –श्रेष्ठले थाप्नुभयो । पुराना बोटमा ढुसीजन्य रोग तथा पिप्रीबार रोगका कारण उत्पादनमा कमी आएपछि हटाइएको उहाँको भनाइ छ । यस क्षेत्रमा आद्रता बढी भएकाले पनि वर्षायाममा विषादीले समेत प्रभावकारी काम गर्न नपाएको उहाँले बताउनुभयो ।

केही वर्षअघिसम्म बाक्लो फल लागेर बोटले थेग्न नसक्ने अवस्था हुन्थ्यो, अहिले दाना कहाँ छन् भनेर देख्न पनि पाइदैन, उहाँले भन्नुभयो । बागवानी केन्द्रमा उत्पादन हुने अन्नाभेरिट, रेड डेलिसियस, रोयल डेलिसियस, गोल्डेन डेलिसियस र जापनीज जातका स्याउ उत्पादन हुने केन्द्रले जनाएको छ ।

पछिल्लो समय विश्वव्यापी तापक्रममा समेत वृद्धि भइरहेकाले पनि स्याउमा रोगको प्रकोप बढेको अनुमान गरिएको छ । यताका वर्षहरुमा सिजन अगावै समेत स्याउमा फूल तथा फल लाग्न थालेको कार्यालयले जनाएको छ ।

पछिल्ला वर्षहरुमा माटोमा अम्लीयपना घट्दै गएको केन्द्रका प्राविधिकहरु बताउँछन् । यस वर्ष जिल्लाका अन्य क्षेत्रमा समेत स्याउको उतपादन ह्वात्तै घटेको कृषकहरुले बताएका छन् । जिल्लामा स्याउको पकेट क्षेत्र मानिने गोराखानी, केरुङ, टाप्टिङ, सल्लेरी, गार्मा, वेनीलगायतका गाविसहरुमा समेत स्याउ राम्रो नफलेपछि कृषकहरु निराश बनेका छन् । ग्रामिण क्षेत्रमा पनि रोगको प्रकोप बढ्न थालेको कृषकको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार