विप्लव समूहका उपत्यका ब्यूरो इन्चार्ज लामा पक्राउ

काठमाडौं । नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वको नेकपाका उपत्यका ब्यूरो इन्चार्ज माइला लामा पक्राउ परेका छन् ।

सरकारसँग वार्ताको अनौपचारिक पहल भइरहेका बेला प्रहरीले चन्द नेतृत्वको नेकपाका केन्द्रीय सदस्यसमेत रहेका लामालाई काठमाडौंको कोटेश्वर–काँडाघारी क्षेत्रबाट पक्राउ गरेको हो ।

महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख सहकुल थापाले उपत्यकाका विभिन्न स्थानमा भएका बम विस्फोटको घटनामा संलग्न रहेको आरोपमा लामालाई गएराति पक्राउ गरिएको बताए ।

प्रहरीले लामासँगै चन्द नेतृत्वका समूहका कार्यकर्ता रेशम तामाङलाई पनि पक्राउ गरेको छ ।

काठमाडौं उपत्यकालगायत ठाउँमा बम विष्फोटको घटनामा निर्देशन दिन लामाको भूमिका रहेको प्रहरीको दाबी छ ।

राजधानीको विभिन्न ठाउँमा बम विष्फोटका घटना भएपछि प्रहरीले उनको खोजी तीब्र पारेको थियो ।

काठमाडौं सितापाइलाका लामा तत्कालीन माओवादी फुटेपछि मोहन वैद्य नेतृत्वको माओवादी हुँदै चन्द समूहमा लागेका थिए ।

उनी २०६४ को संविधानसभा चुनावमा काठमाडौंबाट उम्मेदवार पनि भएका थिए। उनलाई चन्द समूहका प्रभावकारी नेता मानिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार