विमानस्थल जोखिममा परेपछि मेयर शेर्पा नागरिक उड्डयन कार्यालयमा

सन्तोष राउत/सोलुखुम्बु । लगातारको मनसुनी वर्षाले सोलुखुम्बुको सदरमुकाममा रहेको फाप्लु विमानस्थल पहिरोको जोखिममा परेपछि सोलुदूधकुण्ड नगरपालिकाका मेयर नाम्गेलजाङ्बु शेर्पा नेपाल नागरिक उड्डयन कार्यालय काठ्माडौँमा पुग्नुभएकोे छ ।

भर्खरै निर्माण सम्पन्न भएको विमानस्थलको धावनमार्ग भन्दा माथिल्लो भागमा रहेको ग्याविङ वाल सहितको सडक भासिएपछि विमानस्थल पहिरोको जोखिममा परेको हो ।

केही समयअघि मात्र काष्ठमाण्डप/उमा एण्ड कम्पनी जेभी बल्खुले करिब तीन करोेड तीन लाख रुपियाँको लागतमा निर्माण सम्पन्न गरेको विमानस्थलको करिब एक सय मिटर भित्ता भासिएपछि त्यसको निर्माण तथा अन्य विमानस्थलको व्यवस्थापनको पहलका लागि मेयर शेर्पा नागरिक उड्डयन कार्यालय जानु भएको हो ।

नगरपालिकाभित्र पर्ने विमानस्थल जोखिममा परेपछि सोलुदूधकुण्ड नगरपालिकाका मेयर नाम्गेलजाङ्बु शेर्पाले नेपाल नागरिक उड्यन प्राधिकरणको कार्यालय काठ्माण्डौँ पुगेर ताकेता गर्नुभएको छ । सोमबार कार्यालयमा पुगेर मेयर शेर्पाले महानिर्देशक राजन पोखरेल, उपमानिर्देशक नरेन्द्रबहादुर थापा, इन्जिनियर रत्नबहादुर श्रेष्ठ र दिनेश रिजाल, ठेकेदार कम्पनीका प्रमुख नवलविक्रम थापा र साइट ठेकेदार बुद्धि मगरसहितको वैठक राखेर पुनर्निर्माण गर्ने निर्णय गराएको जानकारी दिनुभयो ।

उहाँकाअनुसार ठेकेदार कम्पनीले तत्काल सर्वे गरी वर्षा कम भएपछि बनाउने सहमति भएको छ । विमानस्थलको टावर रहेको भवन र टर्मिनल भवन समेत कमजोर स्थानमा भएको र उड्डयनको मापदण्ड अनुसार समेत नभएकाले तल्लो स्थानमा सार्ने सहमति भएअनुसार इन्जिनियरको टोली सर्वेका लागि फाप्लु आउने भएको छ । विमानस्थलको टावरमा रहेका रेडियो प्रविधिको सामाग्री समेत धेरै पुरानो भएकाले परिवर्तन गर्ने, आगलागीबाट हुने सम्भावित क्षतिबाट जोगाउन दमकलको व्यवस्था गर्ने, एम्बुलेन्सको व्यवस्था गर्ने यात्रुलाई बस्ने व्यवस्था तथा शौचालयको व्यवस्था गर्ने सहमति भएको उहाँको भनाइ छ ।

निर्माणको गुणस्तरमा खासै समस्या नभएको नेपाल नागरिक उड्यन प्राधिकरणका इन्जिनियर रत्नबहादुर श्रेष्ठले बताउनुभयो । देसभरीका संरचना भत्किएको अवस्थामा फाप्लुमा पनि भत्कियो, अब निर्माण कम्पनीले नै सबै बनाउँछ, इन्जिनियर श्रेष्ठले भन्नुभयो ।

धावन मार्गको माथिल्लो भागबाट सुरु भएको पहिरो बढ्दै जाने हो भने धावन मार्गमा नै असर पुग्ने नेपाल नागरिक उड्डयन प्राधिकरण फाप्लुले जनाएको छ । सोलुखुम्बुमा बढी पानी साउन र भदौमा पर्ने भएकाले विमानस्थलमा पहिरोको जोखिम अझ बढेको देखिएको छ । अझै थप भत्किएमा विमानस्थलमा असर गर्ने सम्भावना रहेको बताइएको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार