निर्माणाधीन पक्की पुलमा क्षति

सल्यानको ठाडो खोलामा बाढीले क्षति गरेको पुल

सन्तोष राउत/ सोलुखुम्बु। सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाको ठाडो खोलामा निर्माणाधीन पक्की पुलमा बाढीले करिब १० लाखको क्षति गरेको छ । निर्माण कार्य धमाधम भइरहेको पक्की पुललाई खोलामा आएको बाढीले ठूलो क्षति गरेको निर्माण कम्पनीका साइट इन्चार्ज रिन्जी शेर्पाले बताउनुभयो ।

करिब चार करोड रुपियाँको लागतमा निर्माण सम्पन्न गर्ने जिम्मा लिएको ए.डी. विल्डर्स काठ्माण्डौँले पुल निर्माणलाई अन्तिम चरणमा पुर्याएको जनाएको छ । ढलान हाल्न पूर्ण तयारीमा रहेको पुलमा बाढीले फाउण्डेसन सबै बगाउँदा फेरी सबै भत्काएर बनाउनु पर्ने इन्चार्ज शेर्पाको भनाइ छ ।

तिङ्ला रमिते–सल्यान–केराबारी–नेचा बिहीबारे नाम दिइएको उक्त सडकमा पर्ने सल्यानको ठाडो खोलाको पुल नहुँदा वर्षायाममा आवतजावत ठप्प जस्तै हुने गरेको छ । सडकको स्तरोन्नतीसँगै सल्यानको ठाडो खोलामा पुल बनेपछि सबै सिजनमा यातायात सञ्चालन हुनेमा ढुक्क भएका स्थानीय खोलाले पुलमा नोक्सान गर्दा अझै लामो समय लाग्ने भन्दै चिन्तित बनेकाछन् ।
नेचाबाट सदरमुकाम सल्लेरीसम्म जीप सेवा सञ्चालन गर्दै आउनुभएका चालक केशव मगरले भन्नुभयो, वर्षायाममा लामो समयसम्म यातायात सञ्चालन गर्न कठिन हुने समस्याबाट अझै पार नपाइने भयो, सडक स्तरोन्नती र पक्की पुल बनेपछि सजिलो होला भनेको अझै लम्बिने भयो । अहिले दैनिक दर्जनको हाराहारीमा जीप तथा अन्य यातायातका साधन चल्ने गरेको उहाँले बताउनुभयो ।

पुलको क्षतिले पुलको अभावमा वर्षायाममा सामान ढुवानीमा समस्या भएको र अब पुल बनेपछि ढुवानी सहज हुने स्थानीयका आशामा समेत ठेस लागेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार