सोलुखुम्बु । सोलुखुम्बुको पर्यटकीय क्षेत्र लुक्लामा तरकारी तथा फलफूल अभाव भएको छ । लगातारको मौसम खराबका कारण तेन्जिङ हिलारी विमानस्थल लुक्लामा पाच दिनदेखि उडान नहुँदा लुक्ला तथा आसपासका क्षेत्रमा तरकारी अभाव हुन थालेको हो ।
दैनिक दर्जन बढी उडान हुने लुक्लामा उडान ठप्प हुँदा तरकारी तथा फलफूल ल्याउन नपाउँदा अभाव भएको स्थानीय होटल व्यवसायी तोया श्रेष्ठले बताउनुभयो । यसअघि पनि एक साता जति उडान नभएको र बिचमा केही उडान भए पनि फेरी पाँच दिनदेखि उडान नहुँदा तरकारी अभाव भएको उहाँको भनाइ छ । खाद्यान्न भने यसअघि भण्डारण गरेर राखिएकाले समस्या नभएको श्रेष्ठले बताउनुभयो ।
ताराको १० वटा र समिट एयरका पाँच वटा गरी दैनिक १५ वटा उडान गर्ने तालिका रहेपनि पाँच दिनयता लुक्ला बाक्लो कुइरो र वर्षाका कारण उडान प्रभावित भएपछि दैनिक उपभोग्य सामाग्रीको अभाव हुन थालेको नेपाल नागरिक उड्डयन कार्यालय लुक्लाका प्रमुख इमनाथ अधिकारीले जानकारी दिनुभयो ।
उहाँकाअनुसार तरकारी त्यस क्षेत्रमा उत्पादन नहुने र सडक यातायातको पहँुच नपुगेकाले सबै ढुवानीको भर हवाई यातायात मात्र भएकाले अहिले ताजा तरकारी, मासु, अण्डा, फलफुल तथा अन्य दैनिक प्रयोगका सामाग्रीको स्थानीय बजारमा अभाव हुन थालेको हो ।
फाटफुट पर्यटक आइरहने भएकाले होटलहरुमा सेवा दिन समस्या हुन थालेको स्थानीय होटल व्यवसायीहरु बताउँछन् । एक जना होटल व्यवसायी आङडोल्मा शेर्पाकाअनुसार पर्यटकले चाहे अनुसारको सेवा दिन नपाउँदा गलत प्रभाव पर्दछ । आफूले त जस्तो खाएपनि हुन्छ तर पर्यटक तथा पाहुनालाई अर्डरअनुसार सेवा दिन सकिएन, उहाँले भन्नुभयो ।