विश्व बाघ दिवस : जम्काभेटमा मात्र गर्छ बाघले आक्रमण

काठमाडौँ, साउन १३ गते । गतवर्ष भदौताका चितवनस्थित मेघौलीको शुक्रनगरमा बाघले एक महिलालाई आक्रमण गरी मा¥यो । बाघ पक्रिएर चितवन राष्ट्रिय निकुञ्जले संरक्षणमा राख्यो । त्यो बाघ केही महिनापछि म¥यो । 

माडीमा मान्छेमाथि आक्रमण गर्ने बाघलाई उद्धार गरेर सदरचिडियाखाना ल्याइयो । सन् २००७ ताका मानिसलाई पटकपटक आक्रमण गर्ने नङ्ग्रे पोथीबाघले पश्चिम चितवनमा आतङ्क नै मच्चाएको थियो । भाले बाघले कुमरोज सामुदायिक वनमै मान्छेमाथि आक्रमण ग¥यो । तीनवटा डमरुकी माउ बाघले सन् २००४ ताका मानिसलाई आक्रमण गरेर हैरान पा¥यो । उसको एउटा डमरुलाई आक्रोशित गाउँलेले कुटेर मारे, एउटा जङ्गलमै कतै हरायो । बाँकी एउटा डमरुको नाम नारायणी राखेर सदरचिडियाखाना ल्याइएको थियो तर त्यो पनि चिडियाखानामै मरेको बाघविज्ञ डा. बाबुराम लामिछाने बताउनुहुन्छ । 

उहाँ भन्नुहुन्छ, “जङ्गलबाट भागेर सौराहा पसेको घाइते नमोबुद्ध बाघलाई बर्दिया स्थानान्तरण गरियो तर जङ्गलमा अरू बाघसँग भिड्न नसकेपछि गाउँ पस्यो । ” गाउँमा बारम्बार बाघ आउन थालेपछि त्रसित मानिसले विष खुवाएर त्यसलाई मारे । यसरी बारम्बार गाउँ पस्न थालेको बाघका विषयमा लामिछानेसहित निकुञ्जका वरिष्ठ पशुचिकित्सक कमल गैरे, राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रमुख डा. चिरञ्जीवी पोखरेल र विज्ञ डा. नरेश सुवेदीले अध्ययन थाल्नुभयोे । 

सन् २००७ देखि सन् २०१६ सम्म भएको अध्ययनअनुसार त्यस अवधिमा २२ वटा समस्याग्रस्त बाघ रहेको फेला प¥यो । कुल बाघमध्ये करिब पाँच प्रतिशतमा बस्ती पस्ने, घरेलु पशुचौपाया र मानिसलाई आक्रमण गर्ने समस्या देखा परेको लामिछाने बताउनुहुन्छ । उहाँका अनुसार बाघ हुर्केर वयष्क बन्न करिब छ वर्ष लाग्छ । करिब १६ वर्ष हाराहारीको जीवनकालको अधिक समय हुर्कने र आफ्नो क्षेत्र कमाएर बच्चा जन्माउने कार्यमै खर्च हुन्छ ।

बुढ्यौलीले कमजोर बन्दै जाँदा अर्को वयष्क बाघसँग लड्न सक्दैन । एक्लिएको बाघ सिकार गर्न अल्छी गर्ने र सहज खानेकुराको बाटो खोज्दै बस्ती पस्ने गरेको लामिछानेको निष्कर्ष छ । “कतिपय अवस्थामा मानिसको अतिक्रमण वन क्षेत्रमा हुँदा र नदी आसपास जम्काभेट हुँदामात्र बाघले आक्रमण गर्छ, स्वस्थ बाघ घना जङ्गलमै रमाउने हुन्छ,” लामिछानेले थप्नुभयो ।

बाघका चुनौती
सन् २०१० मा नेदरल्यान्ड्सको सेन्ट पिटर्सवर्गमा भएको टाइगर समिटले सन् २०२० सम्ममा दुर्लभ पाटे बाघको सङ्ख्या दोब्बर बनाउने घोषण ग¥यो । त्यही बेलादेखि जुलाई २९ लाई बाघ दिवस मनाउन थालिएको हो । सोमबार नेपालमा विविध कार्यक्रम गरी यो दिवस मनाइँदै छ । 

एसियाका १३ देशमा पाइने पाटेबाघ बिरालो प्रजातिको सबैभन्दा ठूलो लजालु वन्यजन्तु हो । पटेबाघ सबैभन्दा बढी भारतमा रहेको छ । एसियाभर करिब चार हजार जनसङ्ख्या पाटेबाघको छ । बाघ घना जङ्गलमा रमाउँछ तर नेपालमा जङ्गल पातलो हुँदै गएको छ । बाघ संरक्षण सबैभन्दा ठूलो चुनौती नै यही भएको संरक्षणविद्हरूको भनाइ छ ।

दोब्बर बनाउने लक्ष्य 
नेपाल पाटेबाघको सङ्ख्या दोब्बर बनाउने लक्ष्यको नजिक पुगसकेको खुसियाली एकातिर छ भने अर्कोतिर बढ्दो सङ्ख्यासँगै अनेक चुनौती निम्तिएको संरक्षणकर्मीहरू स्वीकार्छन् । राष्ट्रिय निकुञ्ज तथा वनयजन्तु संरक्षण विभागका प्रवक्ता विष्णुप्रसाद श्रेष्ठले भन्नुभयो, “नेपालले पु¥याउनुपर्ने सङ्ख्या २४५ हो तर हामी त्योभन्दा बढी २५० बनाउने लक्ष्यमा छौँ, बाघको गणनाका बेला गणना नभएका बाघका बच्चा ठूलो हुँदा त्यो सङ्ख्या बढ्न सक्छ । ” 

पछिल्लो आँकडाअनुसार नेपालमा बाघको सङ्ख्या २३५ वटा छ । चितवन राष्ट्रिय निकुञ्जमा ९३, बर्दियामा ८७, बाँकेमा २१, पर्सामा १८ र शुक्लाफाँटामा १६ वटा बाघ छन् । 
बाघ बढेसँगै बाघ पाइने क्षेत्र विस्तार गरिएको छ । जसअनुसार सन् २०१० मा चारवटा मात्र बाघ रहेको पर्सा निकुञ्जमा यतिबेला १८ वटा बाघ छन् । 

बाघको सङ्ख्या बढेकैले आरक्षबाट निकुञ्जमा परिणत गरी क्षेत्र विस्तार गरिएको हो । पर्सा निकुञ्ज प्रमुख अमिर महर्जन भन्नुहुन्छ, “माउ र बच्चा त्यस क्षेत्रमा विचरण गर्न थालिसकेको छ तर पानी, आहारा र सुरक्षा चुनौती बढेको छ । ” 

उहाँका अनुसार राम्रो घाँसे मैदान भएमा त्यहाँ बाघका आहारा पनि रामै्र हुन्छ तर वर्षामा थोरै राहत भए पनि सुक्खाग्रस्त क्षेत्रका कारण समस्या छ । हिउँदमा बोकेर पानी जङ्गलमा राख्नुपर्ने अवस्था निकुञ्जको अर्को चुनौती बनेको छ । 

बासस्थानको हिसाबले भने प्रतिवर्गकिलोमिटर एक बाघ राख्दा पनि २२ वटा बाघ अट्ने क्षमता रहेको उहाँ सुनाउनुहुन्छ । पर्सामा पनि बाघ सहज सिकारका लागि मानव बस्तीतिर पुग्न थालेको महर्जन सुनाउनुहुन्छ । 

नेपालकै सबैभन्दा धेरै बाघ भएको चितवनमा गत आर्थिक वर्षमा विभिन्न कारणले आठवटा बाघ मरे । “बढीजसो भाले बाघ एकअर्कासँग जुधेर मरेका हुन्, आफ्नो क्षेत्र कायम गर्ने पोथीसँग बस्ने लालसाले बाघबीच द्वन्द्व हुन्छ,” चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले भन्नुभयो । लडाइँमा घाइते भएरै केही बाघ मरेको दाबी उहाँ गर्नुहुन्छ ।

गाउँ पस्ने खतरा 
बर्दियामा दुई दिन अघिमात्र बाघले गाउँको दुइटा गोरु मा¥यो । जङ्गलमा आहारा पर्याप्त भए पनि ठूलो आहारामा पल्केपछि यसरी बाघ गाउँ पसेको अनुमान बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बराल गर्नुहुन्छ । 

उहाँका अनुसार बाघको सङ्ख्या बढोत्तरीले आपसी द्वन्द्वलाई बढावा दिए पनि त्यही कारण बाघ बस्ती पस्ने सम्भावना न्यून हुन्छ । केही समयअघि नयाँ क्षेत्र खोज्ने क्रममा भौँतारिएको एक बाघ सडक दुर्घटनामा परेर मरेको उहाँले जानकारी दिनुभयो ।

बाघको असर
बाघ, चितुवा र मानिसमा तिनको असर विषयमा विद्यावारिधि गर्नुभएका विज्ञ डा. लामिछानेले बाघको बढोत्तरीले ऊसरहका अन्य वन्यजन्तुमा असर गर्ने दाबी गर्नुहुन्छ । उहाँको अध्ययनअनुसार बाघसरह जङ्गलमा आफ्नो क्षेत्र बनाएर बस्ने चितुवा, ब्वाँसो आदि छन् । सबैको आहारा जरायो, मृग, रतुवा, बँदेल लगायतका प्रजाति रहन्छन् । बाघले भने ठूलो गौरीगाईसमेत मारेको पाइएको थियो । बाघको बढोत्तरीका कारण अन्य ठूला प्राणी विस्थापित हुनसक्ने अध्ययनले देखाएको छ ।

चितवनमा घना जङ्गल र आहाराकै कारण बाघको उपस्थिति बाक्लो रहेको उहाँ औँल्याउनुहुन्छ । “बाघले मुख्य स्थानमा आफ्नो कब्जा जमाएपछि चितुवा भने चुरे क्षेत्र, सालको वन र मानिसको चाप भएका आसपास बस्न बाध्य भएको छ,” लामिछानेको निष्कर्ष छ । 

बाघ क्षेत्र विस्तार गर्दै निकुञ्जबाट मध्यवर्ती क्षेत्र, नवलपरासीको दाउन्नेसम्म र चितवनको बरण्डाभारसम्म पुगेको छ । बर्दिया र बाँकेमा पनि विस्तार भएका क्षेत्रमा बाघले पहुँच बढाएको छ । अझ भारतबाट समेत बाघको आउजाउ बढेको छ । वाल्मीकि क्षेत्र हुँदै चारवटा बाघ नेपाल भारत आउजाउ गरिरहेका छन् । मानिसमा समेत बाघको अतिक्रमणको असर परेको उहाँ बताउनुहुन्छ ।

व्यवस्थापन जरुरी
वरिष्ठ बाघविज्ञ डा. झमक कार्कीले बाघको बढोत्तरीको उचित व्यवस्थापन गर्न बासस्थान र आहाराको व्यवस्थापन जरुरी रहेको बताउनुभयो । उहाँ सुझाउनुहुन्छ, “मानव वन्यजन्तु द्वन्द्व बढाउने हुँदा सरकारले सँगै राहत र उपचारका विषयलाई प्राथमिकतामा राखेर काम गर्नुपर्छ । ”
एउटा क्षेत्रमा भाले, उसका पोथी बाघ र डमरुका लागि पर्याप्त गुणस्तरीय आहारा भएमात्र बढेको बाघको सङ्ख्या टिकाउ हुने उहाँले बताउनुभयो । चोरीसिकारी र अवैध अन्तर्राष्ट्रिय व्यापारबाट बाघलाई जोगाउने रणनीति आवश्यक छ ।  यो समाचार चाँदनी हमालले गोरखापत्र दैनिकमा लेख्नुभएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार