अवसर र चुनौतिको मिश्रणमा योगेश भट्टराई

काठमाण्डौ । नेकपाभित्रका चर्चा र आशा गरिएको नेता योगेश भट्टराई पर्यटनमन्त्रीमा नियुक्त भएका छन् ।

नेकपामा नेता माधवकुमार नेपाल समूहबाट प्रधानमन्त्री केपी शर्मा ओलीको क्याम्प छिरेको चर्चासँगै नेता भट्टराई मन्त्री बनेका छन् । प्रधानमन्त्री ओलीले किन एकाएक भट्टराईलाई सरकारमा ल्याएका हुन् ? यो प्रश्न अनुत्तरित रहे पनि आशालाग्दा नेता भट्टराई सामु चुतौतिका पहाड छन् ।

५१ वर्षीय नेता भट्टराई अहिलेसम्म ठूला विवादमा परेका छैनन् । अब मन्त्री बनेपछि जनताले अपेक्षा गरेअनुसार काम गरेर सबैको मन जित्नुपर्ने चुतौति भट्टराईलाई छ । नेकपा एमालेका युवा नेता योगेश भट्टराईको जन्म विक्रम संवत २०२३ साल भदौ २१ गते ताप्लेजुङको साँघुमा भएको हो ।

उनको बुबाको नाम भीमलाल भट्टराई र आमाको नाम महेन्द्रादेवी भट्टराई हो । उनले समाजशास्त्र र मानवशास्त्र विषयमा एमए उत्तीर्ण गरेका छन् । नेता भट्टराईले स्कूल पढ्ने बेला झापा विद्रोहको समय थियो । ताप्लेजुङलगायतका जिल्लामा यसको प्रभाव परेकाले नेता भट्टराई पनि त्यतिबेला देखि नै बामपन्थी राजनीति तर्फ होमिएका थिए ।

परिवारका सदस्यहरु पनि बामपन्थी पृष्ठभूमीकै भएकाले पनि भट्टराईलाई राजनितिमा सक्रिय हुन थप सहयोग पुग्यो । यही क्रममा उनले २०३७ सालमा अनेरास्ववियुको राजनीति थालेका थिए । विद्यालयको प्रारम्भिक कमिटी हुँदै क्याम्पस कमिटीमा समेत बसेर भट्टराईले काम गरेका थिए । स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा समेत उनले पटक पटक भाग लिए ।

२०५१ सालमा नेता भट्टराई अनेरास्ववियूको अध्यक्ष भएका थिए । त्यसपछि नेकपा एमालेको जिल्ला कमिटी, अञ्चल कमिटी हुँदै केन्द्रीय सदस्यसम्म निर्वाचित भएका थिए । एमाले विभाजित हुँदा उनी वामदेव गौतमले नेतृत्व गरेको नेकपा मालेमा सहभागी भएका थिए । तत्कालिन एमालेमा प्रचारविभाग प्रमुख तथा केन्दिय सचिवको समेत जिम्मेवारी सम्हालेका थिए ।

नेता भट्टराई यसअघि २०६४ सालको पहिलो संविधानसभा चुनावमा पनि काठमाडौं क्षेत्र नम्बर ६ बाट र २०७० सालको दोस्रो चुनावमा क्षेत्र नंबर ५ बाट उम्मेद्ववार बने पनि पराजित भएका थिए भने २०७४ सालको प्रतिनिधिसभाको निर्वाचनमा भट्टराई ताप्लेजुङबाट उम्मेदवार बनेका थिए ।

पछिल्लो निर्वाचनमा बाम गठबन्धनको उम्मेदवार बनी नेता भट्टराई प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । सङ्घीय संसद्को निर्वाचन प्रचारको बेला प्रधानमन्त्री ओलीले भट्टराईलाई मन्त्री बनाउने घोषणा गरेका थिए । तर पछि मन्त्री बन्न नपाउँदा उनी केही असन्तुष्ट देखिन्थे ।

उनले बेलाबेलामा सामाजिक सञ्जालमा सरकार र प्रधानमन्त्रीनिकट व्यक्तिहरूबारे आलोचनात्मक टिप्पणी गर्ने गरेका थिए । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भट्टराईका सामु चुनौतीको पहाड छन् । नेपालले सन् २०२० मा नेपाल भ्रमण वर्ष मनाउँदैछ । घोषित रूपमै २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ । सन् २०१८ मा नेपालमा कुल ११ लाख ७३ हजार पर्यटक भित्रिए । अब अर्को वर्ष त्यो संख्या झन्डै दोब्बर पार्नु सानो चुनौती हैन ।

ठूला आकारका नयाँ एयरबस विमान किनेर उत्साही बनेको नेपाल वायुसेवा निगमको आर्थिक अवस्था भने नाजुक बन्दै गइरहेको छ । नागरिक उड्डयनको सुरक्षा चिन्तालाई लिएर नेपाल कालोसूचीमा परेको छ वर्ष भइसकेको छ ।

पटकपटक छलफल गर्दा पनि युरोपको उक्त कालोसूचीबाट नेपाल उम्कन सकेको छैन । यावत चुनौतीबीच भट्टराईको चयन प्रधानमन्त्रीले क्षमताअनुसार नै गरेको अनुमान गर्न सकिन्छ । भट्टराईको चयनले प्रधानमन्त्री ओलीलाई सत्ता र पार्टी समीकरणमा पनि सहज हुने ठानिएको छ । रिपोर्टसनेपाल डटकमबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार