ओलीले बाचा पूरा गरे, योगेशको परीक्षा सुरु भो

काठमाडौं । योगेश भट्टराई र रवीन्द्र अधिकारी तत्कालीन एमालेको राजनीतिमा ‘हल जोडी’ थिए । ०५३ सालमा अनेरास्ववियुका अध्यक्ष योगेश भट्टराई र महासचिव भानुभक्त ढकालको झगडाले पार्टी नै फुट्ने अवस्था आएपछि एमालेले चारजना विद्यार्थी नेतालाई अखिलबाट विदा दिएको थियो । त्यसरी विदा पाउनेमा योगेश भट्टराई र रवीन्द्र अधिकारी एउटा गुटबाट थिए भने भानुभक्त ढकाल तथा हिक्मत कार्की अर्को गुटबाट थिए ।

त्यस यता योगेश र रवीन्द्र दुई भाइ पार्टी राजनीतिका कुनै पनि मोर्चामा अलग भएनन् । एमाले फुटाएर माले बनाउने वामदेव गौतमले भरोसा गर्नेमध्येका यिनै दुई युवा थिए ।

योगेश र रवीन्द्रको जोडी ०७१ सालको एमालेको नवौं महाधिवेशनमा मात्र अलग भयो । त्यसबेला योगेश माधव नेपाल प्यानलबाट सचिव उम्मेदवार भए भने रवीन्द्र केपी ओली प्यानलबाट केन्द्रीय सदस्य ।

तर, बेग्लै गुटमा लागे पनि उनीहरुबीचको हार्दिकता र सहयोग कायमै भयो । रवीन्द्र अधिकारी पर्यटनमन्त्री हुँदा योगेश प्रायः अधिकारीकै कार्यकक्षमा भेटिन्थे ।

कस्तो संयोग ! रवीन्द्रले योगेशकै जिल्ला ताप्लेजुङमा पुगेर आफ्नो जीवन गुमाए । अनि योगेशले रवीन्द्रको निधनपछि रिक्त रहेको त्यही पर्यटन मन्त्रालय ६ महिनापछि सम्हाल्नुपर्ने भयो ।

रवीन्द्रले योगेशसँग देशको समृद्धि र विकास अनि पार्टीको भविश्यका धेरै सपना सुनाएका थिए । अब रवीन्द्रका बाँकी सपना पूरा गर्ने अभिभारा पनि योगेशकै काँधमा आएको छ ।

नेपाली राजनीतिका चर्चित र आशा गरिएका नेता हुन् योगेश भट्टराई । त्यस्तै थिए रवीन्द्र पनि । पर्यटनमन्त्री भएपछि रवीन्द्रले धेरै काम नगरेका होइनन् । विशेष गरी त्रिभुवन विमानस्थलको सुधार, आन्तरिक विमानस्थहरु निर्माणदेखि पर्यटन विकासमा उनको अभाव अहिले आएर खड्किरहेको छ । वाइडबडी काण्डमा आफू निर्दोष रहेको पुष्टि गर्न नपाउँदै उनको निधन भयो ।

रवीन्द्रसँगजस्तै योगेशसँग पनि आम मान्छेले धेरै अपेक्षा गरेका छन् । धेरै अपेक्षा गरिएका र आशलाग्दा नेताबाट आशातीत काम नहुँदा शुभेच्छुकहरु निराश हुने गरेको यथार्थ योगेशले बुझेका छन् । हाम्रो देशको सरकारी संयन्त्रका कारण चाहेर पनि सोचेजस्तो काम गर्न सकिन्न भन्ने पनि उनले बुझेकै छन् । चुनौति छन् भनेर जिम्मेवारीबाट भाग्न कुनै नेतालाई छुट छैन । यो पनि योगेशले बुझेकै हुनुपर्छ ।

अहिलेसम्म योगेश भट्टराई नेकपाभित्र कुनै दाग नलागेका र जनपक्षीय काम गर्ने नेताका रुपमा स्थापित छन् । विद्यार्थी राजनीति हुँदै पार्टीको पदाधिकारी तहमा पुगेर खारिए पनि जनप्रतिनिधिका रुपमा उनी नयाँ हुन् । ४० को दशकमा महेन्द्र रत्न क्याम्पस ताहाचलको सभापति भएपछि एकैचोटि ०७४ मा ताप्लेजुङबाट सांसद बनेका भट्टराई सांसद भएको डेढ वर्षमै मन्त्री बन्न सफल भएका छन् ।

को हुन् योगेश ?

योगेश भट्टराई २०२३ भदौ २१ गते ताप्लेजुङको साँघु (मैवाखोला गाउँपालिका-३) मा आमा महेन्द्रादेवी र बुबा स्व. भीमलालका कान्छा छोराका रुपमा जन्मिएका हन् । उनका दाजु मात्रिका भट्टराई नेकपाको जिल्ला नेता छन् । उनका तीन दिदीबहिनी छन् । पत्नी विन्दा घिमिरे पेशाले नर्स हुन् ।

०३७ सालदेखि विद्यार्थी राजनीतिमा लागेका योगेश तत्कालीन एमालेको भातृ संगठन अनेरास्ववियुको अध्यक्ष भएर पार्टी राजनीतिमा स्थापित भएका हुन् । उनी ०४३ सालमा महेन्द्ररत्न क्याम्पस ताहाचलको स्ववियु सभापति भएका थिए । त्यसपछि उनी राजनीतिमा उदाए । अनेरास्ववियुको सचिव, महासचिव हुँदै दुईपटक अध्यक्ष भए ।

नेकपा एमालेको उपत्यका सचिव हुँदै केन्द्रीय सदस्य र सचिवसम्म बनेका उनी हाल नेकपाको स्थायी कमिटी सदस्य छन् । ०६४ र ०७० को संविधानसभा निर्वाचनमा काठमाडौं ६ बाट पराजित भएका भट्टराई ०७४ भने आफ्नै जन्मस्थल ताप्लेजुङबाट फराकिलो अन्तरले विजयी भए ।

ओलीले चुनावको वाचा पूरा गरे

निर्वाचनका बेला तत्कालीन नेकपा एमालेका अध्यक्ष केपी ओलीले ताप्लेजुङ पुगेर भनेका थिए- तपाईहरु योगेश भट्टराईलाई सांसद बनाएर पठाउनुस, मन्त्री बनाएर पठाउने जिम्मा मेरो भयो ।

ओलीको मन्त्रिमण्डलमा योगेश नपरेपछि धेरैले ओलीको त्यही भाषण सामाजिक सञ्जालमा अपलोड गरेर ओलीले बचन पूरा नगरेको भन्दै आलोचना पनि गरेका थिए । अन्ततः ओलीले चुनावको वचन पूरा गरेका छन् ।

पार्टीभित्रको राजनीतिमा फरक गुटमा रहे पनि योगेशलाई ओलीले फरक गुटका अरु नेताभन्दा माया गर्छन् । योगेश आफैंले पनि व्यक्तिगतरुपमा आफूलाई पार्टीका अन्य नेता भन्दा ओली मन पर्ने र ओलीले पनि आफूलाई माया गर्ने बताएका थिए । उनले ओली सधैं आफ्नो अभिभावक जस्तो लाग्ने अनलाइनखबरसँग बताए ।

पार्टीका बैठकहरुमा जति चर्को आलोचक बनेर प्रस्तुत भए पनि योगेशको विशेषता के हो भने बाहिर सार्वजनिक मञ्चहरु र संसदमा उनी सरकार तथा प्रधानमन्त्री ओलीको प्रतिरक्षामा उभिए । विपक्षी, आलोचक र पार्टीभित्रबाटै एक्लिँदा ओलीलाई योगेशले सार्वजनिक मञ्च र मिडियाबाट बचाउ गरिरहे । यस मामिलामा योगेशमा परिपक्व राजनीतिक संस्कार देखिएको ओली निकट नेताहरु बताउँछन् ।

योगेशलाई मन्त्री बनाउन ओलीमाथि उनकै निकटका नेता कार्यकर्ताको पनि दबाव थियो । ओली आफैं पनि उनलाई मन्त्रीको जिम्मेवारी दिने उपयुक्त समयको पर्खाइमा थिए । केही महिनाअघि नै नेकपाका प्रदेश ३ का सचिव तथा पूर्वपर्यटनमन्त्री आनन्द पोखरेलले बालुवाटारमै पुगेर सरकार सफल बनाउने हो भने योगेशलाई मन्त्री बनाउन ओलीलाई सुझाव दिएका थिए । अर्का अध्यक्ष प्रचण्डदेखि महासचिव बिष्णु पौडेलसम्म योगेशलाई मन्त्री बनाउन सुझाव दिनेमै परे ।

पार्टीका केन्द्रीय सदस्यहरुको कार्य विभाजनको पूर्वसन्ध्यामा योगेशलाई प्रचार विभाग प्रमुख बनाउने गरी उक्त विभाग पूर्वएमालेकै भागमा राख्ने तयारी थियो । महासचिव विष्णु पौडेलले प्रचारको काम योगेशबाटै पार लाग्ने एक/दुई ठाउँमा बताएका थिए । तर, विभागको टुंगो लगाउने बेलामा ओलीले योगेशलाई अर्कै जिम्मेवारी दिने भन्दै प्रचार विभाग माओवादी कोटामा पारेपछि धेरैले उनी मन्त्री बन्ने लख काटिसकेका थिए ।

यसबीचमा ओलीले पार्टीभित्रका आफ्ना आलोचक नेताहरुसँग एक्ला एक्लै भेटेर कुराकानी गरेका थिए । धेरैको अनुमान सुरेन्द्र पाण्डे र योगेश भट्टराई मन्त्री बन्दैछन् भन्ने थियो । तर, अहिले रिक्त रहेको मन्त्रालयमा मात्र योगेशलाई ल्याएर ओलीले तत्काल मन्त्रिपरिषद पुनर्गठनको सम्भावना टारेका छन् ।

योगेशको छनोटले ओलीलाई एकातिर पार्टीत्रिको गुट सन्तुलन मिलाएको जस मिलेको छ भने अर्कोतिर सरकारविरुद्ध निरन्तर प्रहार गर्ने लोकरिझ्याइँग्रस्त नेता कार्यकर्ता तथा बाहृय आलोचकलाई जवाफ समेत दिन खोजेका छन् ।

पार्टीमा स्कूल विभागको विवादका कारण कार्य विभाजन हुन नसकेका बेला ओलीले पार्टीभित्र सबैलाई मिलाएर लैजान तयार रहेको सन्देश पनि दिन खोजेका छन् ।

ओलीलाई राम्रोसँग थाहा छ कि योगेश भट्टराई जुनसुकै चुनौतिपूर्ण काम पनि पार लगाउँछन् । सरकारले राम्रो काम गर्न नसकेको भनेर आलोचना भइरहेका बेला ओलीले योगेशको इन्ट्री गराएर एकैसाथ अनेक सन्देश दिन खोजेका छन् । योगेश भट्टराईका लागि मन्त्री पदको अनुभव यो पहिलो हो । तर, उनले हात हालेका काम पार लगाउँदै आएका छन् ।

अघिल्लो वर्ष ओली र नेकपा सरकारलाई नै अप्ठेरोमा पार्ने गरी डा.गोविन्द केसी अनसनमा बसेका थिए । उनी र उनका समर्थकले नेकपा सरकारलाई सडकबाटै ढाल्नेसमेत भनेका थिए । त्यस्तो बेलामा केसी र उनका समर्थकसँग लड्न उत्तिकै नैतिक सामथ्र्य भएको व्यक्ति चाहिएको थियो । ओली र प्रचण्डले त्यो मोर्चामा योगेशलाई खटाए । अन्ततः डा.गोविन्द केसीसँगको मोर्चामा योगेशले अनेक आरोप खेपेर भए पनि दुवै अध्यक्ष तथा सरकार र पार्टीको डुंगा पार गराए ।

त्यसअघि गोविन्द केसीको अनसनमा तत्कालीन एमाले र पछि नेकपाको ठूलो पंक्तिको साथ सहयोग हुने गरेको थियो । तर, चिकित्सा शिक्षा बिधेयकको सन्दर्भमा योगेश नै गोविन्द केसीसँग आमने-सामने भएपछि सिंगो नेकपालाई उनले एक ठाउँमा ल्याउन सफल भए । केसी अनसन बसेको ठाउँ इलाममै गएर योगेशले पत्रकार सम्मेलन गर्दै उनलाई चुनौति थिए ।

पहिलोपटक गोविन्द केसीको अनसन राजनीतिकरुपमा विभाजित भयो । उनको अनसन र उनका समर्थकहरुका अभिव्यक्तिका कारण नेकपाविरोधी अभियानमा परिणत भयो । त्यसमाथि द्वन्द्वकालीन मुद्दासमेत केसीको अनसनको माग बनेपछि जनमत थप विभाजित भयो र हठबाट सरकारलाई झुकाउने बानी परेका केसीले पहिलोपटक रुँदै एकतर्फीरुपमा अनसन तोड्नुपर्‍यो ।

सुरु भयो योगेशको परीक्षा

नेतृत्वले दिएको जिम्मेवारी जतिसुकै चुनौतिपूर्ण भए पनि पार लगाउने योगेशको क्षमता अब मन्त्रीका रुपमा परीक्षण हुनेछ । पार्टीभित्र उनको लोकपि्रय छवि कामबाटै बनेको हो ।

विपक्षीहरुबीच पनि लोकपि्रय हुने उनको स्वभाव अब मन्त्री भएपछि हरेक दिन दाउमा लाग्नेछ । पार्टीभित्र र बाहिर उनको जुन छवि बनेको छ, सिंहदरबारबाट फर्किँदा त्यो कायम राख्न सक्नु नै उनका लागि अबको ठूलो चुनौति हुनेछ ।

अहिलेसम्म योगेश राजकीय पदमा पुगेका थिएनन् । उनलाई साथ सहयोग गर्नेहरु देशभर धेरै छन् । योगेश दिने पदमा नपुगेकाले पनि हुनसक्छ, उनी सबैका प्रिय छन् । तर, मन्त्री पद यस्तो हो, उनलाई विगतमा साथ सहयोग गरेका मान्छेहरुका अनेक आकांक्षाहरु पूरा गरिदिनुपर्छ । तर, मन्त्रीले त्यो गर्न सक्दैनन् । प्रायः मान्छेका व्यक्तिगत काम हुन्छन्, ती पूरा नहुँदा हिजोको साथ मन्त्री भएर फर्किंदा टाढिइसकेको हुन्छ ।

योगेशले आफ्ना शुभचिन्तक र साथ सहयोग गर्नेहरुलाई मन्त्रीका सीमितता बुझाउन सके भने अलग कुरा हो, नत्र मन्त्री नहुँदा आर्जन गरेको लोकपि्रयता मन्त्री भएपछि कायम राख्न जतिसुकै लोकपि्रय नेतालाई पनि कठिन हुने गरेको छ ।

यो कठिन परीक्षामा अब योगेश भट्टराई पास हुन्छन् कि हुँदैनन् ? यो उनका कामबाटै प्रष्टिने छ । तर, यतिचाहिँ अहिल्यै भन्न सकिन्छ- व्यक्तिका आकांक्षासँग उनले आफ्नो इमान डग्मगाउन नदिउन् । किनभने, राजनीतिको राजमार्गमा उनको गन्तव्य पर्यटन मन्त्रालयमा टुंगिनेवाला होइन ।

रवीन्द्रले छाडेका अधुरा काम

भ्रमण वर्ष २०२० रवीन्द्र अधिकारीको सपना थियो । उनले थालेका तर परिणाम आउँदै गरेका वा रोकिएका धेरै कामहरु बाँकी छन् । योगेशले देशको समृद्धि, रवीन्द्रको सपना र आफ्नै राजनीतिक भविश्यलाई ध्यान दिएर अघि बढे भने उनी मन्त्रीका रुपमा सफल हुनेछन् ।

अब योगेशलाई सफल बनाउने र जोगाउने जिम्माचाहिँ आजसम्म उनलाई साथ दिएका र केही नलिएका शुभेच्छुक तथा सहयोगीहरुकै हो ।
तर, मौका यही हो भनेर उनलाई धेराबन्दी गरियो भने योगेशले राम्रो काम गर्न पाउने छैनन् र आम जनताले आशा गर्ने नेताको संख्या पनि घट्दै जाने र सबै उस्तै हुन् भन्ने निराशा फैलिनेछ ।

ओलीले योगेशलाई मौका मात्र दिएका छन् र उनको परीक्षणसमेत गर्न खोजेका छन् । उनी जनता, कार्यकर्ता र प्रधानमन्त्री सबैको निगरानीमा छन् । योगेशको परीक्षा सुरु भएको छ ।

पर्यटन मन्त्रालय यसै पनि विवादमा तानिइरहने मन्त्रालय हो । लाउडादेखि अहिलेको वाइडबडी विमान खरिदसम्म आइपुग्दा यो मन्त्रालय सम्हाल्न पुगेका धेरै मन्त्रीहरुको व्यक्तित्व खुइलिने गरेको तीतो इतिहास छ ।

नेपाल वायु सेवा निगमको सफलता-असफलतासँग पनि जोडेर हेर्ने गरिएको यो मन्त्रालय सम्हाल्दै गर्दा योगेशका लागि निगमको व्यवस्थापनमा क्रान्ति गर्नुपर्ने अप्ठ्यारो गृहकार्य सामुन्नेमै खडा छ ।यो समाचार अनलाइनखबरमा मात्रिका पौडेलले लेख्नुभएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार