तिङ्ला राष्ट्रिय प्रशारण लाइन जोडिने , मेरै कार्यकालमा उज्यालो नगर बनाउँछु : मेयर शेर्पा

पत्तालेमा प्रशारण लाइनको काम गर्दै । तस्बिर : प्रकाश मगरको फेसबुकबाट

सन्तोष राउत/ सोलुखुम्बु। सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–११ तिङ्लामा ग्रामीण विद्युतीकरण कार्यक्रम अन्तरगत राष्ट्रिय प्रशारण लाइनको विद्युत बल्ने भएपछि स्थानीय खुशी भएका छन् । स्थानीयस्तरमा सानो पेल्ट्रिक सेटबाट जेनतेन बत्ती बालेका तिङ्लाबासी नेपाल विद्युत प्राधिकरणको विद्युत बाल्न पाउँदा धेरै प्रभावकारी हुने बताउँछन् ।

तिङ्लाका गणेश खड्काले खुशी हुँदै भन्नुभयो, हालसम्म सानो पेल्ट्रिक सेटबाट मधुरो बत्ती मात्र बाल्ने गरेका छौँ, अब चौबिसै घण्टा विद्युत सेवा आउने भएपछि खुशीको त कुरै नगरौँ, त्यसबाट धेरै फाइदा गर्न सकिने आशा छ । हिउँदमा पेल्ट्रिक सेटको कुनै भर समेत नहुने भन्दै अब ढुक्कले विजुली प्रयोग गर्न सजिलो हुने उहाँको आशा छ ।

तिङ्लामा बिजुली बाल्न ग्रामिण विद्युतीकरण कार्यक्रमका लागि यसअघि एक करोड ५० लाख रुपियाँ बजेट व्यवस्था गरी पोल गाड्ने काम भइरहेको र फेरी अहिले नेपाल विद्युत प्राधिकरणले एक करोड ५५ लाख रुपियाँ बजेट स्विकृत गरिसकेको छ । नगरपालिकाको मागका आधारमा तिङ्लामा विद्युत विस्तार गर्ने गरी एक करोड ५५ लाख ६८ हजार ८२४ रुपियाँ प्राप्त भएको हो ।

आर्थिक बर्ष २०७६/७७ मा काम गर्ने गरी बजेट स्विकृत भएको सोलुदूधकुण्ड नगरपालिकाका मेयर नाम्गेलजाङबु शेर्पाले जानकारी दिनुभयो । पटक पटक गरेको पहलपछि ग्रामीण विद्युतीकरणका लागि बजेट स्विकृत गराउन सफल भएको मेयर शेर्पाले बताउनुभयो । बजेट प्राप्त भइसकेकाले अब विद्युतीकरणको काम चाँडै शुरु गरेर तिङ्लालाई उज्यालो वडा घोषणा गर्ने मेयर शेर्पाको भनाइ छ ।

मैले नगरपालिकाको जिम्मेवारी पाएसँगै सडक र विद्युतलाई प्राथमिकतामा राखेर काम गरिरहेको छु, मेरै कार्यकालमा नगरपालिकालाई उज्यालो नगर बनाउने मेरो अभियान पूरा गरेरै छाड्छु, जस अन्तरगत तिङ्ला क्षेत्रमा हुने ग्रामिण विद्युतीकरण पनि पर्दछ, मेयर शेर्पाले भन्नुभयो ।

गरक्षेत्रभित्रका गोराखानी, टाप्टिङ र केरुङमा पनि विद्युतीकरणका लागि प्रयास जारी रहेको मेयर शेर्पाले जानकारी दिनुभएको छ ।

नगरपालिकाले उज्यालो नगरको लक्ष्य राख्दै नगरपालिकाले तिङ्ला लगायतका क्षेत्रमा विद्युत विस्तारका लागि साझेदारी कार्यक्रम तर्फ ५० लाख रुपियाँ बजेटको व्यवस्था गरेको नगरपालिकाका सूचना अधिकारी दापासा शेर्पाले जानकारी दिनुभयो । उक्त बजेटबाट नेपाल विद्युत प्राधिकरणको साझेदारीमा काम गर्ने नगरपालिकाले जनाएको छ ।

ओखलढुङ्गा हुँदै ३३ केभी प्रशारण लाइनलाई तिङ्लाको लाम्मानेमा रहेको सब–स्टेसनमा जोड्ने र त्यसलाई ११ केभी लाइनमा परिवर्तन गरी स्थानीयलाई वितरण गर्ने बनाइएको छ । ओखलढुङ्गासम्म यसअघिनै राष्ट्रिय प्रशारण लाइनको विद्युत सञ्चालन भइसकेकाले सोलु जोड्न धेरै समस्या नहुने बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार