दुर्गममा सामूदायिक अस्पताल बन्ने, १२ रोपनी जग्गा दान

अस्पताल निर्माणको औपचारिक सुरुवातको क्रममा गरिएको पत्रकार सम्मेलन

सन्तोष राउत/सोलुखुम्बु। सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–७ को नाजिङमा जनसहभागितामा सुविधा सम्पन्न सामुदायिक अस्पताल बनाउनका लागि १२ रोपनी जग्गा दान गरिएको छ । १६ लाख रुपियाँमा खरिद गरी सोलु हेल्थ केयर सेन्टरले सोलु कम्यूनिटी अस्पताल निर्माणका लागि जग्गा प्रदान गरेको अस्पताल निर्माणका अभियान्ता डा. राजेन्द्र बस्नेतले जानकारी दिनुभयो ।

सोलुखुम्बु, ओखलढुङ्गा, खोटाङ, रामेछापलगायतका जिल्लाका बिरामीलाई समेत सहज, गुणस्तरीय र विरामीमुखी स्वास्थ्य उपचार गर्नका लागि दुर्गममा सामुदायिक अस्पताल निर्माण गर्न लागिएको उहाँको भनाइ छ । करिब १५ करोड रुपियाँको अनुमानित लागतमा निर्माण हुने अस्पतालमा आधुनिक स्वास्थ्य उपकरण तथा औषधी सहित विषेशज्ञस्तरीय सेवा दिने डा. बस्नेतले बताउनुभयो ।

अस्पतालको नाममा जग्गा भएपछि अब औपचारिक रुपमा अस्पताल निर्माणको काम सुरु भएको छ, यसमा म आफै र सोलुखुम्बुको नेचासल्यान १ का डा.योगेन्द्र बस्नेत र डा. एलिना श्रेष्ठले उपचार सेवामा काम गर्ने प्रतिद्धता गरेको छौँ, उहाँले भन्नुभयो । आर्थिक स्रोत जुटाउने काम मुख्य चुनौती भएको भन्दै सहयोग व्यत्ति, संस्था तथा दातृ निकायसँग समन्वय गर्ने बताउनुभयो । अस्पताल पूर्ण सेवामूलक हुने उहाँको भनाइ छ ।

गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्राबृत्तिबाट डाक्डर पढाएर त्यसपछि जिल्लाभरी अस्पतालको शाखा विस्तार गरी तीनै जनशक्तिलाई परिचालन गर्ने बताइएको छ । विषेशज्ञ सहित हाडजोर्नी, यौन तथा छाला, मेडिसिन, सर्जरी, स्त्री तथा प्रसुती, बाल रोग र दन्त रोग सम्बन्धी उपचार सस्तो, सुलभ र गुणस्तरीय रुपमा प्रदान गर्ने योजना छ ।

उहाँकाअनुसार विपन्न, असाहय र बृद्धबृद्धाहरुलाई सहुलियत शुल्क वा निःशुल्क उपचार गर्ने, नियमित रुपमा निःशुल्क स्वास्थ्य शिविर, स्वास्थ्य जनचेतनामुलक कार्यक्रम, स्वास्थ्य विपद् व्यवस्थापनको लागि दक्ष जनशक्ति परिचालन गर्ने अस्पतालको योजना छ । स्वस्थ्य सम्बन्धी उच्च शिक्षामा छात्रावृत्ति प्रदान गर्ने योजना रहेको छ ।

अस्पताल बन्ने भएपछि स्थानीयमा खुशी छाएको छ । स्थानीय भलाकाजी कार्कीका अनुसार अस्पताल बनेपछि उपचारमा टाढा जानुपर्ने समस्या हट्ने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार