गृष्मा राजभण्डारी, लक्ष्मीप्रसाद सापकोटा र नवीन स्थापित ९इमेज०रकाठमाडौं । बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा मुछिएका मृतक युक्तप्रसाद श्रेष्ठको सीसीटीभी दृश्य हामीलाई प्राप्त भएको छ ।
उनले आत्महत्या गरेका हुन् वा हत्या भएको हो भन्ने विवाद चलिरहेका बेला ‘पोस्टमार्टम रिपोर्ट’मा भने शरीरको भित्र भागमा धेरै ठाउँमा चोटपटक लागेकाले मृत्यु भएको उल्लेख गरिएको छ ।
डिल्लीबजार मालपोत कार्यालयका पूर्वनायब सुब्बा युक्तप्रसाद श्रेष्ठको काठमाडौं, बालाजुको माछापोखरीस्थित सपिङ सेन्टरको सात तल्लाबाट खसेर गत आइतबार मृत्यु भएको थियो ।
उनको मृत्युलाई प्रहरीले आत्महत्या बताएपछि आत्महत्या वा नियोजित हत्या भन्नेमा विवाद भइरहेको छ ।
हामीलाई प्राप्त सीसीटीभी दृश्यमा साउन १२ गते आइतबार मृतक श्रेष्ठ दिउँसो १ बजेर ३९ मिनेटमा सपिङ सेन्टरको प्रवेशद्वारबाट भित्र छिरेको देखिन्छ ।
कालो पाइन्ट, सेतो सर्ट र पातलो ज्याकेट लगाएका श्रेष्ठ पहिलो तलादेखि चौथो तलासम्म ‘लिफ्ट’ प्रयोग नगरी भर्याङबाटै माथि गएको दृश्यमा देखिन्छ ।
चौथो तलासम्म फटाफट गएका उनी पाँचौं तलामा पुग्दा अलि अल्मलिएको देखिन्छ । हिँड्दा हात पछाडि राखेका श्रेष्ठसँग दृश्यमा सँगै अरु कोही पनि देखिँदैनन् ।
एक्लै हिँडेका उनी त्यसपछि सीधै सातौं तला पुग्छन् । सातौं तलामा पुगेपछि सपिङ कम्प्लेक्सको झ्यालमा चढी उनले हामफालेको बताइएको छ ।
खसेर मृत्यु भएलगत्तै प्रहरीले उनले आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताएको थियो ।
तर, मृतकका परिवारजन तथा नेपाली कांग्रेस पर्वत जिल्ला समितिले उनले आत्महत्या गरेको नभइ सुनियोजितरुपमा हत्या भएको भन्दै छानबिन गर्न माग गर्दै आएको छ ।
संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा पनि सांसद देवेन्द्रराज कँडेलले घटनास्थल र लासको प्रकृति हेर्दा आत्महत्या भनेर विश्वास गर्न नसकिने भन्दै प्रश्न उठाएका थिए ।
युक्त श्रेष्ठको मृत्युपछि साउन १३ गते नै दाहसंस्कार गरिसकिएको छ । तर पनि घटनाको निष्पक्ष छानबिन हुनुपर्ने परिवारको माग छ ।
यसैबीच, मृतक श्रेष्ठको पोस्टमार्टम रिपोर्ट पनि तयार भएको छ ।
प्रहरी स्रोतकाअनुसार रिपोर्टमा शरीरका विभिन्न अंग र भित्रि भागमा गम्भीर चोटपटक लागेकै कारण मृत्यु भएको उल्लेख छ ।
ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको र सोही विषयसँग मृतक श्रेष्ठ पनि जोडिएकाले उनले आत्महत्या गरे वा कसैले नियोजितरुपमा हत्या गर्यो भन्ने बाँकी कुरा प्रहरी अनुसन्धानबाट नै खुल्नेछ ।यो समाचार इमेजखबरबाट भिडियो सहित लिइएको हो ।
https://youtu.be/61h26rHMgtA