सामान्य अवस्थाका बिरामीको अस्पतालमै मृत्यु हुने गरेका घटना बढ्दै गए पनि निष्पक्ष छानबिन हुन सकेको छैन ।
आन्दोलन चर्किएपछि क्षतिपूर्ति उपलब्ध गराएर घटनालाई सामसुम पार्ने गरिए पनि प्रभावकारी छानबिन नहुँदा वास्तविकता ओझेलमा भने पर्ने गरेको हो ।
पछिल्लो समय प्रदेश १ को राजधानी विराटनगरका विभिन्न अस्पतालमा विरामीको आकस्मिक मृत्यु भएपछि तनावपूर्ण अवस्था देखा परेको छ ।
बिरामीको मृत्युपछि डाक्टरको लापरबाही भन्दै आन्दोलन चर्काउने र अस्पतालसँग मोलमोलाइ गरेर सम्झौता गर्ने बाहेक फरक केही हुन सकेको छैन ।
लामो कानुनी पक्रियाका कारण अस्पताल पनि तत्काल क्षतिपूर्ति दिन राजी हुने गरेका छन् ।
अस्पतलाले उपचारमा लागेको खर्च मिनाहादेखि ५ लाखसम्म क्षतिपुर्ति उपलब्ध गराउने गरेका छन् ।
जसले गर्दा घटनाको कारण लापरबाही र कमजोरी हो वा अरु कुनै भन्ने विषय सधैँ ओझेलमा पर्ने गरेको छ ।
अभिलेख नहुँदा लेनदेनको कारबाही गर्न नसकिने र अस्पताल र डाक्टरको पनि बदनाम नहुने ठानेर अँध्यारो कोठामा बार्गेनिङको धन्धा फस्टाएको छ ।
निजी अस्पतालको संस्था कफिनका केन्द्रीय उपाध्यक्ष डाक्टर कैलाश श्रेष्ठले यस्तो प्रवृत्ति बढेकाले उपचारमा लापरबाही भए पनि दोषीले उन्मुक्ती पाउने धारणा राख्छन् ।
अर्कोतिर चिकित्सकको लापरबाही भनेर आन्दोलन चर्काउने पीडित पक्ष पनि कानुनी उपचारमा जाने गरेको भेटिँदैन ।
यस सम्बन्धमा दोषी भए नभएको छानबिन गर्न स्वास्थ्य मन्त्रालय, मेडिकल काउन्सिललगायतका निकायहरु पनि खासै सक्रिय छैनन् ।
विरोधकै भरमा क्षतिपूर्ति दिँदा गम्भीर त्रुटिका घटना पनि अध्याँरो कोठभित्रको अवैध सम्झौतामा टुंगिने गरेको नेपाल चिकित्सक संघ कोशी अञ्चल शाखाका अध्यक्ष फरवार्ड सिलवाल बताउँछन् ।
पछिल्लो एक वर्षमा विराटनगरमा चिकित्सकीय त्रुटि भएका भनिएका धेरै घटना सार्वजनिक भए ।
तर दोषीलाई कानुनी कठघरामा उभ्याउनुभन्दा लेनदेनमै टुंगो लगाउने प्रवृत्तिले स्थिति झन् भयाबह हुने संभावनालाई नकार्न सकिन्न ।