सन्तोष राउत/सोलुखुम्बु । सोलुखुम्बुको सदरमुकाममा रहेको फाप्लु विमानस्थलमा हवाईजहाज तथा हेलिकप्टरका लागि पार्किङ निर्माण अन्तिम चरणमा पुगेको छ । हवाईजहाज तथा हेलिकप्टरका लागि स्तरीय पार्किङ बनेपछि सहज हुने बताइन्छ ।
गएकोे मङ्सिर महिलनामा काष्ठमाण्डप उमा एण्ड कम्पनी जेभी बल्खुले नेपाल नागरिक उड्डयन कार्यालयको चार करोेड ७५ लाख रुपियाँको लागतमा निर्माण थालेको पार्किङको काम अन्तिम चरणमा पुगेको आयोजनाका साइट ठेकेदार बुद्धि मगरले जानकारी दिनुभयो । विमानस्थलको तल्लो साइडबाट आर.सी.सी. प्रविधिबाट निर्माण भइरहेको पार्किङको निर्माण अवधि १५ महिना रहेको उहाँले बताउनुभयो ।
अहिले माटोमा समेत पार्किङ गर्नु परेको भन्दै अब पार्किङ निर्माण भएपछि स्तरीय पार्किङ गर्न सकिने नेपाल नागरिक उड्डयन कार्यालय फाप्लुका प्रमुख प्रकाश शर्माले बताउनुभयो । पर्यटकीय सिजनमा लुक्लामा धेरै उडान हुने र कहिलेकाहीँ मौसममा खराबी हुँदा तथा अन्य कारणले जहाज फाप्लुमा राख्ने बेलमा अब सजिलो हुने उहाँको भनाइ छ ।
व्यवस्थित विमानस्थल बनाउन धेरै काम गर्नुपर्ने भन्दै पार्किङ बनाउनका लागि नेपाल नागरिक उड्डयन कार्यालयमा धेरै पटक आग्रह गरेर यो काम भइरहेको सोलुदूधकुण्ड नगरपालिकाका मेयर नाम्गेलजाङ्बु शेर्पाले बताउनुभयो । पछिल्लो समय विमानस्थलमा धेरै काम भइरहेको भन्दै अब चाँडै विमानस्थलको स्वरुप परिवर्तन नमुना बन्ने उहाँको भनाइ छ ।
पर्यटकीय क्षेत्र खुम्बुका लागि खाद्यान्न तथा अन्य प्रयोगका सामाग्रीहरु फाप्लु विमानस्थलबाट हेलिकप्टरले ढुवानी गर्ने गरेको छ । जसका लागि प्रभावकारी पार्किङको अभाव थियो ।