चार सय हेक्टरको मकैबालीमा क्षति, उत्पादनमा ६० प्रतिशत कमी हुने

सन्तोष राउत/ सोलुखुम्बु । पहिलो पटकको मनसुनसँगै आएको हावाहुरीले सोलुदूधकुण्ड नगरपालिका क्षेत्रका झण्डै चार सय हेक्टरमा लगाईएको मकैबालीमा क्षति पु¥याएको छ । मकैबालीमा क्षति भएको भन्दै स्थानीय सरकारसँग क्षतिपूर्तिका लागि गुहार माग्न पीडित कृृषक आएपछि सोलुदूधकुण्ड नगरपालिकाले तथ्याङ्क सङ्कलन गरेको हो ।

नगरपालिका क्षेत्र भित्रका वेनी, तामाखानी, फाप्लु, सल्लेरी, दोर्पु, खोरिया, गार्मा, केरुङ, गोराखानी, टाप्टिङ, तिङ्ला लगायतका क्षेत्रमा ९६० घरपरिवारले ३८७.५ हेक्टरमा लगाएको मकैमा हावाले क्षति पु¥याउँदा ४२२ मेट्रिक टन मकै उत्पादनमा ह्रास आउने अनुमान गरिएको नगरपालिकाका कृषि प्राविधिक प्रमुख रश्विन मगरले जानकारी दिनुभयो ।

केही दिन लगाएर गरिएको स्थलगत क्षति मुल्याङ्कनबाट हावाहुरीले पु¥याएको क्षतिको तथ्याङ्कका विषयमा कृषि प्राविधिक रश्विन मगरले भन्नुभयो, नगरपालिकाको वडा नम्बर ८ केरुङमा लगाईएको मकैमा सबैभन्दा बढी २५३ घर कृषकले ११९.४ हेक्टरमा लगाएको मकै बालीमा क्षति पुगेको छ ।

त्यस्तै, वडा नम्बर १० टाप्टिङमा ३३७ घर कृषकको ११०.३ हेक्टर, वडा नम्बर २ मा १० घर कृषकको ४.८ हेक्टर, वडा नम्बर ३ मा ७९ घर कृषकको २० हेक्टर, वडा नम्बर ४ मा ७२ घर कृषकले ३६.९ हेक्टर, वडा नम्बर ५ मा ३१ घर कृषकको ११.३ हेक्टर, वडा नम्बर ६ को ३६ घर कृषकको २८.४ हेक्टर, वडा नम्बर ७ मा १० घर कृषकको ४.५ हेक्टर र वडा नम्बर ९ मा १०९ घर कृषकको ४५.३ हेक्टरमा लगाएको मकैबाली मुखमा धान चमर आउने बेलमा सबै सोतर छ ।

क्षतिको मुल्याङ्कनमा चार जना कृषि प्राविधिक खटाइएको थियो । ११ वटा वडा रहेको नगरपालिकामा वडा नं १ टाक्सिन्दु क्षेत्रमा मात्र कृषकले लगाएको मकै सग्लो रहेको बताइएको छ । यस क्षतिसँगै नगरक्षेत्रभित्र यस वर्ष मकै उत्पादनमा ६० प्रतिशतले ह्रास आउने अनुमान गरिएको छ ।

क्षतिको तथ्याङ्क आएसँगै कृषकलाई राहत दिलाउन नगरपालिकाले गृहकार्य शुरु गरेको छ । नगरपालिका आँफैले दिनसक्ने राहत निक्र्यौल गर्ने र क्षतिको विवरण सहित विश्व खाद्य कार्यक्रममा समेत राहतका लागि पहल गर्ने काम भईरहेको मेयर नाम्गेलजाङबु शेर्पाले बताउनुभयो । हावाहुरीले बर्षभरी खाने मकै बालीमा क्षति पु¥याएपछि कृषक पुर्पुरोमा हात लाएर बसेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार