प्रचण्डलाई साईजमा ल्याउन यस्तो तालमेल

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र शक्ति आर्जनको लागि नयाँ गठबन्धन बन्नु र भत्किनु कुनै नौलो कुरा होईन । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले अहिले अपत्यारिलो तरिकाले वामदेव गौतमसँग हिमचिम बढाएका छन् ।

चुनाव ताकादेखि बिग्रिएको ओली र गौतमबीचको सम्बन्ध अहिले आएर केही सुध्रिएकोजस्तो देखिएको छ । यसको मुख्य कारण भनेको ओलीले आफूलाई कमजोर ठानेपछि वामदेवको साथ खोज्नु रहेको छ । पार्टीको महत्वपूर्ण जिम्मेवारीसमेत ओलीले वामदेवलाई दिएका छन् ।

नेकपाको संगठन परिचालनमा महत्त्वपूर्ण मानिने शक्तिशाली संगठन विभागको जिम्मेवारी गौतमलाई दिन ओली राजी हुनुले नै प्रष्ट देखाउँछ कि ओलीलाई अब वामदेवको साथ, सहयोग र खाँचो रहेको छ । यता, नेता गौतमपनि यो पदीय जिम्मेवारी पाउने भएकोमा निकै प्रशन्न छन् ।

सरकार गठन भएको सुरुवाती महिनामा नेता गौतमले ओलीको कार्यशैलीको सार्वजनिक रुपमै आलोचना गरेका थिए । कतिसम्म कि चुनावको बेला जनतासामु गरेका वाचासमेत पूरा गर्नेतर्फ सरकार अग्रसर नभएको भन्दै नेता गौतमले असन्तुष्ट पोखेका थिए । सामाजिक सञ्जालमार्फत नेता गौतमले सरकारका गलत कामकारबाहीको भण्डाफोर गर्दै आएका थिए । ओली र गौतमबीचको सम्बन्ध सुध्रिने सम्भावना देखिएका थिएन् । तर, ओली नेताहरुलाई रुझाउन सिपालु छन् ।

त्यही भएर होला, पछिल्लो समय ओलीले वामदेवलाई प्रधानमन्त्री निवास बालुवाटारमै बोलाएर पटक पटक एक्लाएक्लै भेटवार्ता तथा गहन छलफल गरेका थिए । एक्लाएक्लै भेटवार्तामा प्रधानमन्त्री ओलीले गौतमसामू मिलेर जाने प्रस्ताव राखेका थिए । उता गौतमले पनि आफूलाई सक्रिय भूमिका दिने भए सहकार्य गर्न सकिने भनेर खुलेरै कुरा राखेका थिए । त्यहीअनुसार ओली गौतमलाई संगठन विभागको नेतृत्व दिन राजी भएका हुन् ।

हुन त ओली सुरुवातमा यो विभागको जिम्मेवारी गृहमन्त्रीसमेत रहेका सचिवालय सदस्य रामबहादुर थापा बादललाई दिन चाहन्थे । नेकपानिकट उच्च स्रोतले दिएको जानकारीअनुसार पूर्वएमालेको सन्तुलन नबिगार्नका लागि गौतमलाई नेतृत्व दिने निर्णयमा ओली पुगेका छन् ।

ओलीले वामेदवलाई आफ्नो साथमा लिनुको अर्को उद्देश्य भनेको नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई साईजमा राख्नु हो । नेता गौतम र प्रचण्डबीच राम्रो सम्बन्ध रहेकोबारे जानकार रहेका ओली उनीहरुको समिकरण भत्काउन चाहन्छन् । पछिल्लो समय प्रचण्डका विश्वासपात्रका रुपमा चिनिएका बादलसमेत ओली पक्षका नेता मानिन्छन् । अब वामदेवलाई साथमा लिन सकियो भने प्रचण्डले आफूमाथि धावा बोल्न नसक्ने र कुनैपनि सहमति पालना गर्न नपर्ने निश्कर्षमा ओली पुगेका छन् ।

सूत्रहरुले दिएको जानकारी अनुसार यसपटक नेता गौतमलाई संसदमा ल्याउनुपर्छ भनेर ओलीले नै पहल गरिरहेका छन् । नेता गौतमलाई उनले रिक्त स्वर्गीय रविन्द्र अधिकारीको निर्वाचन क्षेत्रबाट चुनाव लडाउन ओलीले प्रस्ताव समेत गरिसकेका छन् । वामदेव पनि यसप्रति सकारात्मक रहेको बुझिएको छ । पछिल्लो समय ओली पार्टीभित्र विरोधीलाई आफ्नो साथमा लिएर अघि बढिरहेका छन् ।

ओलीले आफ्नो रणनीति बदल्नुमा प्रचण्डलाई कमजोर बनाउनु रहेको एकथरी नेकपा नेताहरुको दाबी छ । आफूपछि प्रधानमन्त्रीको रुपमा तपाई नै हो भनेर ओलीले वामदेवलाई वचनसमेत दिएका छन् ।  रिपोर्टर्सनेपाल डटकमबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार