नगरपालिकाले बनायो एक वर्षमा चार वटा मोटरेबल पुल

सन्तोष राउत/ सोलुखुम्बु । मुलुकका विभिन्न ठाउँमा वषौँसम्म पनि मोटरेबल पुल बन्न नसकेको समाचार आइरहेका बेला सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिकाले आफ्नै लगानीमा एक वर्षभित्र चारवटा मोटरेबल पुल निर्माण सम्पन्न गरेको छ ।

लोदिङ खोलामा निर्माण भएको पुल

गाउँ गाउँमा सडकको पहुँच पुगे पनि वर्षायाममा पुलका कारण आवतजावत ठप्प हुने सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिकाभित्र एकै वर्षमा चार वटा मोटरेबल पुल निर्माण भएका छन् । पुल बनेपछि बाह्रै महिना आवतजावत हुने भन्दै स्थानीय खुशी भएका छन् ।

आर्थिक वर्ष २०७५/७६ को बजेटबाट नगरपालिकाले तीन वटा बेलीब्रिज र एउठा पक्की पुल निर्माण गरेको नगरपालिकाका सूचना अधिकारी दापासा शेर्पाले जानकारी दिनुभयो । उहाँकाअनुसार वडा नम्बर ३ तामाखानीको लोदिङ खोलामा एक करोड ६६ लाख २६ हजार रुपियाँको लागतमा बेलीब्रिज निर्माण सम्पन्न भएको छ ।

यस पुलको निर्माणपछि प्रसिद्ध धार्मिक पर्यटकीयस्थल ज्वालामाई देवीको मन्दिरमा जाने दर्शनार्थीलाई सहज हुनेछ । तामाखानीका टेकबहादुर मगरले भन्नुभयो, ‘खोलामा पुल नहँुदा खोलासम्म गाडीमा समान ल्यायो, त्यसपछि बोकेर लानुपर्ने बाध्यता थियो । अब तामाखानीमा धार्मिक पर्यटकको संख्यामा समेत बृद्धि हुने, सन्दर पर्यटकीय क्षेत्र पिकेडाँडामा आवतजावत गर्न तथा लिखुपिके क्षेत्रबाट सल्लेरी ओहोरदोहोर गर्नलाई सहज हुने उहाँको भनाइ छ ।

वेनी खोलमा बनेको बेलीब्रिज

त्यस्तै, नगरपालिकाको वडा नम्बर २ स्थित बेनीखोलामा एक करोड ४२ लाख रुपियाँको लागतमा २१ मिटर लम्बाई र १० फिट चौडाई भएको बेलीब्रिज निर्माण भएको छ । पुल निर्माणपछि बर्षाको समयमा सवारी आवागमन अवरुद्ध हुने समस्या समाधान भएको स्थानीय बताउँछन् । वेनी खोलाको बेलिब्रिज बनेपछि पर्यटकीय क्षेत्र जुनबेशी, तिब्बतीयन क्याम्प फुङबुचेलगायतका ठाउँ तथा लिखुपिके गाउँपालिकाका स्थानीयलाई आवतजावतमा सहज भएको छ ।

गोराखानी र टाप्टिङको बिचमा रहेको सोलनासा खोलामा निर्माण भएको बेलीब्रिज

नगरपालिकाको वडा नम्बर ९ र १० लाई जोड्ने गोराखानी र टाप्टिङको बिचमा रहेको सोलनासा खोलामा पनि बेलीब्रिज निर्माण भएको छ । नगरपालिकाको एक करोड ६२ लाख ६६ हजार रुपियाँको लागतमा बेलीब्रिज निर्माण भएपछि दुर्गम गाउँलार्ई सुगम स्थानसँग जोडेको स्थानीयको प्रतिक्रिया छ ।

पुल बनेपछि खुशी व्यक्त गर्दै सोलुदूधकुण्ड नगरपालिका–९ गोराखानीका वडा अध्यक्ष काजी शेर्पाले भन्नुभयो, बेलीब्रिजले टाप्टिङ जन्तरधाप सडकमा सिधा यातायात जोडिएको छ, पुलले राजधानीसँग सिधा यातायातको पहुँच हुने, सदरमुकाम आवतजावत गर्न तथा विरामी हुँदा एम्बुलेन्सबाट अस्पतालसम्म लैजान सहज हुने, स्थानीय त्पादनलाई बजारमा सजिलै पु¥याउन सकिने छ ।

खोरियामा बनेको मोटरेबल पुल

त्यस्तै, नगरपालिको वडा नं. ६ खोरियास्थित सोलुखोलामा काम थालेको १० महिनामै मोटरेबल पुल बनेको छ । नगरपालिकाकोे नेतृत्वमा अपरसोलु हाईड्रो पावर र जिल्ला समन्वय समिति समेतको करिब पाँच करोड रुपियाँको संयुक्त लगानीमा सिई कन्स्ट्रक्सनले ७५ टन भारवहन क्षमताको ३० मिटर लामो मोटरेबल पुल निर्माण गरेको हो । यसले वर्षामा सिस्नेरी पहिरोले हैरानी दिइरहेको बेलीडाँडा–साल्मे सडकको बैकल्पिक मार्गको रुपमा प्रयोग गर्ने खोरिया–बाघखोर सडक सञ्चालनको बाटो खोलेको छ ।

नगरपालिकाका मेयर नाम्गेलजाङ्बु शेर्पाले विभिन्न स्थानमा मोटरेबल पुल निर्माणले नगर समृृद्धिको यात्रामा अघि बढिरहेको सन्देश प्रवाह गरेको बताउनुभयो । उहाँले भने, ‘यो बर्ष पनि शालाबेशी, रोसी, सिसा र हेवा खोलामा एक बर्ष भित्र बेलिब्रिज निर्माण सक्ने गरी काम हुँदैछ, पुल र सडक नै समृद्धिको दरिलो आधार हो ।’ मेयर शेर्पाले विकास निर्माण, पारदर्शिता, सुशासन र जवाफदेहिताको हिसाबले नगरपालिका अन्य स्थानीय तहको तुलनामा अग्रस्थानमा रहेको दाबी गर्नुभयो । पुल निर्माणबाट कृषि र तल्लो सोलुको पर्यटनको विकासमा सहयोग पुग्ने उहाँको विश्वास छ ।

पुलको उद्घाटन गर्दै नगरप्रमुख शेर्पाले आफू निर्वाचित भएपछि नगरपालिकाभित्रका सबै विकास निर्माणका काम तोकिएको समयभित्र सकिएको दाबी गर्दै विकास निर्माणका काममा आफू चनाखो रहेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार