सत्तारुढ नेकपामा ‘वाकयुद्ध’, केन्द्रीय सदस्य थापाले भने– गुरिल्लाको त्राससँग डराउने दिन गइसके

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा यतिबेला ‘वाकयुद्ध’ चलेको छ । खासगरी युवा पुस्ताका नेता तथा कार्यकर्ता पंक्ति ‘वाकयुद्ध’ मा होमिएका छन् । सामाजिक सञ्जालमा दुवै पक्षबाट कडा रुपमा प्रतिक्रिया आइरहेका छन् ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहालको एउटा अभिव्यक्तिपछि टिप्पणी गर्ने क्रममा पार्टीभित्रै देखिएको पक्ष–विपक्षका तर्क बढ्दै गर्दा आरोप–प्रत्यारोपमा पुगेको हो । दाहालले केही दिनअघि ‘आफूले जनयुद्धको नेतृत्व गरे पनि कसैलाई एक झापड नहानेको र कसैको एक झापड नखाएको’ टिप्पणी गरेका थिए ।

लगत्तै नेकपाका केन्द्रीय सदस्य सूर्य थापाले व्यंग्यात्मक रुपमा फेसबुकमा लेखे, ‘ हिजोको महान र हाल परित्याग गरिसकेको जनयुद्धमा मार्ने र मर्ने महान कार्यको दोषको भारी एक जना मनैदेखिको शान्तिकामीका हैसियतमा सुप्रिम कमाण्डरले मात्र बोक्न कसरी संभव हुन्छ ? विगतसँग क्रमभंग गर्दै हामीहरू यहाँसम्म आइपुगेको त बिर्सन मिल्दैन नि ! आजको क्रान्तिकारी तरंग र मनोदशा !’

पूर्वमाओवादी पृष्ठभूमिका नेकपाकै युवा नेता दीपशिखाले थापालाई नै लक्षित गरी टिप्पणी गरे, ‘ सूर्य जी, पार्टी केन्द्रीय सदस्यजस्तो जिम्मेवार व्यक्तिले आफ्नो अध्यक्षप्रति बारम्बार गर्ने यस्तो आक्रमण अब सह्य हुँदैन । पार्टी अनुशासन, आत्मानुशास नमान्ने र काम नै पार्टी नेतृत्वको विरोध गर्ने बनाउने भए आफूले लिएको जिम्मेवारी त्याग गर्दा राम्रो हुन्छ । हामी तपाईंले जस्तै विषयलाई बंग्याउन र हिजोको विगत भन्न नजानेर नबोलेको होइन, पार्टी अनुशासन मानेर नबोलेको हो । सुझावः यस्ता गाली आजकल फस्टाउँछ भन्ने लागेको भए यसलाई पेशा बनाए हुन्छ !’

केन्द्रीय सदस्य थापाले सामाजिक सञ्जालमा आफ्ना बारेमा भइरहेका टिप्पणीलाई लक्षित गर्दै सोमबार फेसबुकमा लेखे, ‘विवाद र तरंग सिर्जना गरिँदा हरेकले सुने हुन्छ– कोही गुरिल्लाको त्राससँग डराउने दिन गइसके, विचार विमर्श गर्न निरन्तर लेखिन्छ ।’

आइतबार थापाले दीपशिखाको नामै उल्लेख गर्दै फेसबुकमा लेखेका छन्, ‘दीपशिखाले अनुशासन र मर्यादा सिकाउने ? कति हाँस्नु ? यस्तो दादागिरी स्वीकार्य हुन्छ भन्ठानेको ? विचरा !’

दुवैको फेसबुकमा आरोप–प्रत्यारोपको लामो शृंखला नै देखिएको छ । दीपशिखाका समर्थक तथा पूर्व माओवादी पृष्ठभूमिका कार्यकर्ताले पूर्व एमाले पृष्ठभूमिका थापाको कडा आलोचना गरेका छन् भने थापाका समर्थकले दीपशिखाको भनाइप्रति आपत्ति जनाउँदै प्रतिक्रिया लेखेका छन् ।इमेजखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार