उपनिर्वाचन उम्मेदवारका बारेमा चर्चा सुरु, यी हुन् आकांक्षी

प्रदीप पौडेल /कास्की निर्वाचन क्षेत्र नम्बर–२ मा उपनिर्वाचन हुने भएपछि दलहरुबीच उम्मेदवारकाबारेमा चर्चा सुरु भएको छ ।

दुई ठूला दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसले को–को उम्मेदवार अघि सार्छन् भन्ने सम्बन्धमा मतदाताबीच पनि विश्लेषण सुरु भएको छ ।

तत्कालीन नेकपा एमालेबाट निर्वाचित तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा परी निधन भएपछि सो निर्वाचन क्षेत्र रिक्त भएको हो ।

नेकपाबाट उम्मेदवारका लागि स्व. रवीन्द्र अधिकारीकी धर्मपत्नी विद्या भट्टराई, वामदेव गौतम, सोमनाथ अधिकारी, धनराज आचार्य, रश्मी आचार्यलगायतको नाम चर्चामा छ ।

रवीन्द्र धर्मपत्नी विद्याले चाहना राखेको खन्डमा उनले सर्वसम्मत् टिकट पाउने नेकपाभित्र चर्चा छ । अन्यथा अरुको सम्भावना छ ।

नेकपा सचिवालय सदस्य वामदेव गौतमको पनि चर्चा कार्यकर्तामाझ रहेको छ । विद्या र वामदेव नउठेको खन्डमा नेकपाका पुराना नेता सोमनाथ अधिकारीको सम्भावना बलियो रहेको चर्चा छ  ।

नेकपा कास्की अध्यक्ष कृष्ण थापाले निर्वाचनकाबारेमा चर्चा भएपनि कसलाई उम्मेदवार बनाउने भन्नेबारे केन्द्रले केही ‘सर्कुलेसन’ नगरेको बताए ।

‘केन्द्रबाट उम्मेदवारबारे सर्कुलर भएपछि यहाँबाट सम्भावित उम्मेदवार केन्द्रमा सिफारिस पठाउनेछौं’–उनले भने ।

कांग्रेसतर्फ

कांग्रेसका तर्फबाट उम्मेदवारका लागि धेरैको नाम अगाडि आएको छ । जसमा रवीन्द्र अधिकारीसँगै चुनाव लडेका देवराज चालिसे, वीरेन्द्रनारायण बिजुक्छे, सोभियत अधिकारी, गुरु बराल, महादेव गुरुङ, धनराज गुरुङ, गुरु बराल, खेमराज पौडेल, रंगीला आचार्य, ऋषि काफ्लेलगायत आकांक्षी छन् । तीमध्ये चालिसेको सम्भावना बलियो रहेको चर्चा छ ।

त्यसबाहेक सोभियतबहादुर अधिकारी, धनराज गुरुङ र वीरेन्द्रनारायण बिजुक्छेमध्ये एकले टिकट पाउने सम्भावना रहेको बताइन्छ ।

कास्की कांग्रेसका सभापति कृष्ण केसीले उम्मेदवारका लागि धेरै साथीले आकांक्षा व्यक्त गरेको भन्दै केन्द्रको निर्णयअनुसार अगाडि बढ्ने बताए ।

यसअघि, प्रदेशसभा निर्वाचनअन्तर्गत् कास्की–२ ‘क’मा कांग्रेसका विन्दुकुमार थापा र ‘ख’मा नेकपाका हाल जिल्ला अध्यक्षसमेत रहेका कृष्ण थापा निर्वाचित भएका थिए ।

नेकपा र कांग्रेसबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएपनि कास्की–२ का लागि अरु दलहरुले पनि कसलाई उम्मेदवार बनाउने भन्नेबारे छलफलमा रहेको बताएका छन् ।

रिक्त पदहरु

रिक्त रहेका प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका पदहरुमा आउँदो मंसिर १४ गते उपनिर्वाचन हुँदैछ ।

निर्वाचन आयोगकाअनुसार प्रतिनिधिसभा सदस्यका लागि कास्की–२ सहित प्रदेशसभा सदस्य तीनओटा, उपमहानगरपालिका प्रमुख एक, गाउँपालिका अध्यक्ष तीन, गाउँपालिका उपाध्यक्ष एक र वडाध्यक्ष ४१ पदका लागि एकैदिन उपनिर्वाचन हुँदैछ ।इमेजखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार