कांग्रेस केन्द्रीय समितिमा अनुशासन समितिको प्रतिवेदन, एक हजार उजुरी

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा बुधबार पार्टी अनुशासन समितिको प्रतिवेदन पेस भएको छ ।

गएको प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका निर्वाचनमा पार्टीका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिने र त्यसका समर्थक, प्रस्तावकलाई कारबाही गरेको प्रतिवेदन अनुशासन समितिका संयोजक भीष्मराज आङदम्बेले केन्द्रीय समितिमा पेस गरेका छन् ।

लगभग एक हजार उजुरी अनुशासन समितिमा दर्ता भएपनि बाँकी उजुरीका विषयमा समितिले छानबिन गरिरहेको जनाइएको छ ।

अनुशासन उल्लंघनका घटना फरक–फरक ढंगका भएको भन्दै समितिले कारबाहीको दायरा पनि फरक गर्न सुझाएको छ ।

नयाँ विधान र नियमावलीका आधारमा बाँकी कारबाही प्रक्रिया अघि बढाइने भएको छ ।

आउँदो उपनिर्वाचन गर्नुपर्ने स्थानहरुमा कुन मापदन्डबाट उम्मेदवार चयन गर्ने भन्ने विषयमा पनि बैठकमा छलफल भएको बताइएको छ ।

कार्यकाल सकिएका पार्टी शुभेच्छुक संघ–संस्थाको अधिवेशन वा तदर्थ समिति बनाउने भन्ने विषयमा पनि जारी बैठकबाटै निर्णय हुनेछ ।

बैठकले यसअघि पार्टी अन्तरकालीन समिति बनाउनेबारे निर्देशिका पारित गरेको थियो । इमेजखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार