निर्माण कार्य गुणस्तरहीन भएपछि इलाम सदरमुकाममाको नयाँ बसपार्क सञ्चालनमा आउन सकेको छैन ।
अहिलेको बसपार्क साँघुरो भएर निर्माण गरिएको नयाँ बसपार्कको संरचना नै गुणस्तरहीन भएपछि पार्किङको समस्या यथावत् रहने भएको हो ।
पुरानो बसपार्कमा सवारी चाप थेगिनसक्नु भएपछि इलाम नगरपालिका–९ सेरामा २०६८ सालदेखि नयाँ बसपार्क निर्माणको काम सुरु भएको थियो ।
सोही बहुप्रतीक्षित बसपार्कको संरचना मापदण्डविपरीत भएपछि पार्किङको सास्ती तत्काल नहट्ने देखिएको हो ।
बसपार्कमा निर्मित नयाँ भवनको पिलरमैै समस्या देखिएको सघन शहरी तथा भवन निर्माण आयोजना झापा, फिल्ड कार्यालय इलामका इञ्जिनियर सुदीप झाको भनाइ छ ।
पिलरको भेलोसीटी मेथर्डअन्तर्गत परीक्षणका लागि प्रयोगशालामा पठाइएको र रिपोर्ट आएपछि कारबाहीका अन्य प्रक्रिया अगाडि बढ्ने कार्यालयले जनाएको छ ।
बसपार्कको प्रारम्भिक परीक्षणका क्रममै पिलर निर्माणमा मापदण्ड नपुर्याई कमसल सामग्रीको प्रयोग भएको बताइएको छ ।
बसपार्कको कालोपत्रे सडक र सोलार बत्तिसमेत निर्माण पूरा नहुँदै बिग्रिएका छन् ।
यता इलाम नगरपालिकाका प्रवक्ता ठाकुरनारायण श्रेष्ठ भने इलाम बजारमा गाडी पार्किङमा ठूलो समस्या भएकाले समस्या समाधान गरेर भए पनि नयाँ बसपार्क छिट्टै सञ्चालन हुनुपर्ने धारणा राख्छन् ।
विरुवा भगवती जेभीले मेची राजगर्मादेखी बसपार्कसम्म कालोपत्रे कार्य, सर्टिङ र शौचालय निर्माण गर्ने गरी २०७३ सालमा एक करोड आठ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो ।
पटकपटक म्याद थपे पनि काम अझै पूरा गर्न सकेको छैन ।
त्यस्तै यस्तै २०७४ बैशाखमा खनाल कन्ट्रक्सनसँग भवन टिकट काउण्टर, वर्कशप, सटर र शौचालय निर्माणका लागि तीन करोड ४२ लाख रुपैयाँमा सम्झौता भएको थियो जुन काम गुणस्तरहीन भएपछि हस्तान्तरण हुन नसकेको हो ।प्रकाश नेपाल/इमेजखबरबाट