पत्रकार रवि लामिछानेविरुद्ध फेरि अर्को उजुरी परेको छ । रविविरुद्ध आत्महत्या गरेका पत्रकार शालिकराम पुडासैनीकी श्रीमतीले उजुरी दिएकी हुन् ।
जनतासँग सिधा कुरा कार्यक्रमका सञ्चालक रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीविरूद्ध उनले काठमाडौं प्रहरीसमक्ष किटानी जाहेरी दिएकी हुन् ।
आइतबार महानगरीय प्रहरी परिसर काठमाडौंमा पुगेर उनले आत्महत्या दुरुत्साहनमा तीनै जनाविरूद्ध हदैसम्मको कारबाही माग्दै जाहेरी दिएकी परिसरका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए ।
उनको जाहेरी रुजु गरेर जिल्ला प्रहरी कार्यालय चितवन पठाईएको परिसरका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए ।
पतिको तेह्र दिनको काजकिरिया सकाएपछि आइतबार महानगरीय प्रहरी परिसर काठमाडौंमा पुगेर उनले जाहेरी दिएकी हुन् ।
जिल्ला प्रहरी कार्यालय चितवनले अहिले लामिछानेसहित तीनै जनाविरूद्ध आत्महत्या दुरुत्साहनमा अनुसन्धान गरिरहेको छ । अनुसन्धानका लागि प्रहरीले अदालतबाट पाँच दिनको समय पाएको छ ।