आलोपालोको जवाफ !

सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहालले बेला–बेलामा सरकार सन्चालनमा आफू र अर्का अध्यक्ष केपी शर्मा ओलीबीच आलोपालो प्रणालीको सहमति भएको बताउँदै आएका छन् ।

तर, प्रधानमन्त्री ओलीले आइतबार संसदमा अर्को निर्वाचनपछिमात्रै पदबाट हट्ने बताएपछि दाहालको आलोपालोको जिकिरमा दह्रो जवाफ आएको छ ।

प्रधानमन्त्री पदमा आलोपालोको कुरा उठाउँदै आएका अध्यक्ष दाहाललाई प्रधानमन्त्री ओलीले संसदको ‘रोष्ट्रम’बाटै जवाफ दिएका छन् ।

प्रधानमन्त्री परिवर्तन अर्को निर्वाचनपछिमात्र हुने बताएपछि दाहालको आलोपालोमा प्रधानमन्त्री बन्ने कुरामा दह्रो जवाफ आएको हो ।

यसअघि, विभिन्न कार्यक्रममा अध्यक्ष दाहालले आलोपालो सरकार सन्चालन गर्ने ‘भद्र सहमति’ भएको बताउँदै आएका थिए ।

पार्टी एकीकरणमा पल्ला भारी बनाउन एकले अर्काप्रति विभिन्न ‘गोटी’ फाल्दै आएका दुवै अध्यक्षले कहिले विभागीय जिम्मेवारी बाँडफाँटमा नेताको पक्षधरता लिने त कहिले संक्रमणकालीन न्यायको कुरा उठाउने गरेका छन् ।

यसैगरी, कहिले आलोपालोका कुरा उठाउने त कहिले सरकारको काम–कारबाही र मन्त्रिमन्डल पुनर्गठनका कुरा पनि उठाउने गरेका छन् ।

जिम्मेवारी बाँडफाँटसँगै उब्जिएको वरिष्ठता विवादले पनि यही कुरा बताउँछ । सचिवालयमा आफ्नो पकड बलियो बनाउन कहिले माधव नेपाललाई वरिष्ठ बनाउने त कहिले झलनाथ खनाललाई वरिष्ठ बनाउने निर्णय अध्यक्षले गर्दै आएका छन् ।

९ सदस्यीय पार्टी सचिवालयमा जिम्मेवारी बाँडफाँट र वामदेव गौतमलाई उपाध्यक्षको प्रस्ताव गरेसँगै प्रधानमन्त्री ओलीको पल्ला भारी भएको बताइन्छ ।

सचिवालयमा वामदेव गौतम, ईश्वर पोखरेल, विष्णु पौडेल, रामबहादुर थापालाई प्रधानमन्त्रीपक्षीय बताइन्छ भने माधव नेपाल र झलनाथ खनालको आफ्नै लडाइँ रहेको र बाँकी रहेका नारायणकाजी श्रेष्ठमात्र पुष्पकमल दाहाल पक्षमा रहेको विश्लेषण छ ।

यसैबीच, जनकपुर पुगेका दाहालले नेकपाकै सरकार पाँच वर्ष जाने हो भन्दै आफूसँगको समझदारी अर्का अध्यक्ष ओलीले बुझ्ने जिकिर गरेका छन् ।

तर, तत्काललाई भने प्रधामन्त्रीको जवाफले दाहालको आकांक्षामा ठेस लागेको छ ।इमेजखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार