जुटाउन भन्दा फुटाउन उद्धत सोलुका काँग्रेस नेता

गएको स्थानीय तह र आम निर्वाचनमा देसभर लजास्पद हार बेहोरेसँगै नेपाली काँग्रेस सोलुखुम्बुले पनि इतिहासकै लजास्पद हार बेहोरेको घाउको खाटा बस्न अझै सकेको छैन । आठ वटा स्थानीय तहमा एउटा मात्र नगरपालिकामा झिनो मतान्तरले विजय भएर विउ जोगाएको सोलु काँग्रेसले प्रदेस तथा संघीय प्रतिनिधि सभाको निर्वाचनमा राम्रै मातान्तरले उप विजेतामा चित्त बुझाउनु प¥यो । गुटका ठेकेदार ठान्ने नेताहरुले एक अर्कामा गरेको गुटगत अन्तरघातलाई हारको दोष थोपर्ने गरेपनि विगत लामो समयदेखि संगठनमा रहेको किचलो मुख्य कारक रहेको तटस्थ कार्यकर्ताहरुको विश्लेषण छ ।

तर यी मात्र सबै कारक नभइ धेरै कुराले प्रभाव पारेको पाइन्छ । विगतलाई हेर्ने हो भने बल मिचाइका भरमा जिल्ला कार्य समितिमा निरन्तर कब्जा गर्ने प्रवृत्तिका विरुद्ध वागी उमेद्वार अधिकांस निर्वाचनमा हुने गरेको थियो । जहिले पनि व्यक्तिवादी स्वार्थ हावी भएकाले सोलुखुम्बुको कांग्रेसमा कुनै निर्वाचनमा पनि मिल्ने र मिलाउने प्रयास भन्दा पनि पेलेर अघि बढ्ने प्रवृत्ति रहेको पाइन्थ्यो । जसको विकसित रुप गएको निर्वाचनमा पनि देखियो ।

विगतमा बलबहादुर केसी र आङगेलु शेर्पा देउवा ग्रुपको एउटै घैँटोमा भएका बेला कोइराला परिवार नजिक मानिने पुरुषोत्तम बस्नेत समूहलाई बलकै भरमा अधिवेसनमा समेत भाग लिन नदिने परिस्थीति बनेको घाम जस्तै छर्लङ्गै थियो । जब केसी र शेर्पाको घैँटो दुई टुक्रामा विभक्त भयो तब त्यसअघिनै दुई नेताहरुले रोपेको अराजकताको विउ दुई किनाराबाट उम्रिन थालेपछि विस्तारैै मौलाउँदै गएको भुक्तभोगीहरु बताउँछन् । पहिला सबैले थाहा पाउन सक्ने अवस्था नभएपनि अहिले प्रविधि र कार्यकर्तामा बढेको चेतनास्तरले धेरै कुरा लुकाउन र झुक्काउन नेताहरुलाई कठिन छ । तथापी नजर भुलाउने कोशिस भने भइरहन्छ । अहिलेसम्म पनि व्यक्तिगत स्वार्थका लागि पार्टीलाई शून्यमा पुर्याउन सबै नेताहरु औकातअनुसार कम्मर कसेर लाग्ने गरेका छन्, जुन सोलुखुम्बुको काँगे्रसको भाविष्यमाथि गरिएको धोका शिवाय कही होइन ।

आन्तरिक रुपमा रहेको सोलुखुम्बुको काँग्रेसको विवाद अघिल्लो अधिवेसन ताकाबाट संस्था नै तहसनहस पार्ने गरी समानान्तर समिति गठन गर्दै अघि बठ्यो । नेपाल विद्यार्थी संघको पछिल्लो जिल्ला अधिवेसन दुवै समुहले फरक फरक स्थानमा सम्पन्न गरे । केसी समुहले नेलेमा बलबादुर केसीको उपस्थितीमा र शेर्पा समूहले सदरमुकाम सल्लेरीमा किशोरसिं राठौरको उपस्थितीमा दुई वटा अधिवेसन गरे । जसको अघिल्लो नेविसंघ अधिवेसनमा दुवै समितिलाई विगठन गरी प्रत्येक ग्रुपबाट १५÷१५ जना महाधिवेसन प्रतिनिधिलाई सहभागी गराइयो, जसको फलस्वरुप नैनसिं महर अध्यक्ष रहेसम्म सोलुखुम्बुमा नेविसंघ गठन हुन सकेन । अहिले त महरको पनि राजिनामा भइसकेको छ ।

त्यस्तै, विवादको नाङ्गो रुप नेताहरुले तेह्रौँ अधिवेसनमा देखाए, जुन काँग्रेसको पछिल्लो हारको मुख्य कारक बन्यो । त्यस अधिवेसनमा महाधिवेसन प्रतिनिधिको निर्वाचन भएपछि सभापति शुसिल कोइरालाको निधनले जिल्ला कार्य समितिको अधिवेसन केही समय पछि धकेलियो । पछिल्लो अधिवेसनका लागि तय भएको मितिमा निर्वाचनको तयारी भयो तर शेर्पा समुहले आफू अनुकुल नतिजा नआउने विश्लेषण गरी विभिन्न कारण देखाएर अधिवेसन स्थगित गर्ने योजना बनाए र फलस्वरुप निर्वाचन अधिकृतले अधिवेसन स्थगित गरे । स्थगित गरेको भोलिपल्ट केसी समूहले स्थानीय एक होटलमा निर्वाचन अधिकृतलाई साथमा राखेर हेलिकप्टरमा हालेर राजधानी लगे । त्यसको केही दिनमा सबैलाई अचम्मित पार्ने गरी फेसबुकमा नयाँ कार्यसमितिको नामावली आयो । त्यसपछि एक समुहले अवैधानिक तरिकाले भएको सभापति मान्दैनौँ भनेर चिच्याइरहे भने अर्को समुहले सभापतिको हैसियतमा विभिन्न कार्यक्रम गर्दै गयो । त्यस अधिवेसनमा दुवैतर्फको आआफ्नै अराजकता रहेको स्वतन्त्र कार्यकर्ता बताउँछन् जो निर्वाध रुपमा मत हालेर सक्षम नेतृत्व चुन्न चाहान्थे ।

त्यसपछि एक समूहले सभापति र अर्को समुहले कार्यबाहक सभापतिका रुपमा दावी गरिरहे । त्यसैक्रममा स्थानीय निर्वाचन आयो, त्यही अधिवेसनमा गरेको अराजकताको परिणाम रुवरुप सबै गाउँपालिकामा पराजय भयो । नेताहरु आफुले रोपेको विषवृक्षमा फलेको विषका कारण त्यो अवस्था आएको भन्ने स्विकार गर्न लाज मानेर एक अर्कामा अन्तरघात भएको आरोप लगाउँछन् । तर अन्तरघात गर्ने अवस्थाको सिर्जना आफैँले गरेको हो भन्ने कुरा लाज पचाइरहेका छन् । नेताहरुले सबैलाई मिलाउन नसक्नु तथा चौडा छाती बनाउन नसक्नु नै यस अवस्थाको मुख्य कारक भएको मतादातालाई समेत प्रष्ट छ ।

अब यसरी लाजमर्दो तरिकाले निर्वाचनमा पछारिँदा पनि सोलुका नेताहरुलाई चेत खुल्नुको साटो गुटगत भेला र आसेपासेलाई पदमा ल्याउने तानाबाना बुन्नमानै मस्त छन् । संगठन सुधार गर्नु त कता कता चिराचिरा बनाउन व्यस्त छन् । नेताहरुमा आफू भए हुन्छ नत्र कांग्रेस सकिए फरक नपर्ने खालको आभास दिने गरी कार्यक्रम गर्दै हिडेका छन् । जसले सोलुको काँग्रेसलाई पतनको दिसामा लैजाने निश्चित छ । यसको ज्वलन्त उदाहरणका रुपमा केही समयअघि सोल–काठ्माण्डौँ सम्पर्क समितिले सभापति शेरबहादुर देउवा र प्रबक्ता विश्वप्रकाश शर्माको उपस्थिती राजधानीमा कार्यक्रम तय गर्यो तर केसी समुहले त्यहाँ केन्द्रिय नेता कोही नआउने भएकाले कोही नजान भन्दै उर्दी जारी गर्यो । तर करिब पाँच सयको हाराहारीमा सहभागीका विचमा प्रशिक्षण सम्पन्न गरेको आयोजकको दाबी छ ।

यता त्यसको रिस फेर्दै भदौ ७ गते अर्को सोलु काठ्माण्डौँ सम्पर्क समिति गठन गर्नका लागि अर्को प्रतिनिधिको नाममा उर्दी जारी भयो । यता वर्तमान समितिले पनि ७ गतेको कार्यक्रम पार्टीलाई एक ढिक्का हुन नदिने मनसायले प्रेरित भएको आरोप लगाउँदै कार्यक्रममा सहभागी नहुन उस्तै उर्दी जारी गरेको छ । यसरी नेताहरुको बुद्धिको भाँडामा विर्को लागेको देखेर तल्लोस्तरका कार्यकर्ता अचम्मित बनेका छन् । यस्तै अवस्थाले काँग्रेस कमजोर हुने पक्का छ । जसको पहिलो दोष केन्द्रिय सदस्य बलबहादुर केसी र दोस्रो दोष आङगेलु शेर्पाले खप्नु पर्नेछ । अरुले पनि औकातअनुसार भागीदार हुनुपर्दछ । सोलुको काँग्रेसमा मिलाएर अघि बढाउन पछिल्लो समय काँग्रेसको राजनीतिमा सक्रियता बढाउँदै गएको प्रदेससभा निर्वाचनका उमेद्वार प्रकाशसिं कार्कीले धेरै प्रयास गरिरहेको भएपनि केसी र शेर्पाको स्वार्थी हठका कारण सबै प्रयास फिका बनिरहेको छ । एक समुहले अस्विकार गरेका सभापतिको विनोद बस्नेतबाट धेरैले आशा गरेको भएपनि यस्तै कदमबाट निराशा बढ्दै गएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार