लुकाईछिपाई ल्याइएका प्रतिबन्धित सामान बरामद

नगरपालिकाको सिमानामा रहेको पत्तालेमा अवैध सामान बरामद गर्दै नगर प्रहरी ।
तस्बिर सौजन्य : नगरप्रहरी ङवाङठिले शेर्पा ।

सन्तोष राउत/ सोलुखुम्बु । नगरपालिकालाई सफा र सुन्दर बनाउका लागि सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिकाले विगत वर्षबाट प्रतिबन्ध गरेका सिसा तथा प्लाष्टिकजन्य सामाग्री लुकाईछिपाई भित्र्याउन लागेको अवस्थामा बरामद गरिएको छ ।

जिल्ला प्रवेश गर्ने नाका पत्तालेबाट करिब तीन सय कार्टुन बियर र एप्पल साइडर नियन्त्रणमा लिएको सोलुदूधकुण्ड नगरपालिकाका सूचना अधिकारी दापासा शेर्पाले जानकारी दिनुभयो । नगरपालिका क्षेत्रमा पोलिथिन र सिसाका वियर बोतलमा प्रतिबन्ध लगाइएको अवस्थमा यसअघि लुकाइछिपाई ल्याउँदै गरेको दुई सय ८० कार्टुन मादकपदार्थ नियन्त्रणमा लिएको उहाँले बताउनुभयो ।

नेपाल प्रहरी र नगर प्रहरीको संयुक्त चेक जाँचका क्रममा नगरपालिकाभित्रका व्यापारीले ल्याएका ती पेय पदार्थ नियन्त्रणमा लिइएको हो । गत पुसदेखि सिसा तथा प्लाष्टिकजन्य वस्तु प्रयोगमा नगरपालिकाले प्रतिबन्ध लगाएको छ ।

कतिपय व्यापारीले आधिकारिक जानकारी नपाएको बहानामा भित्र्याउने कोसिस गरिरहेका छन् । पहिलो पटकलाई जानकारी दिने र दोस्रोपटक पनि दोहा¥याए पेयपदार्थ जफत गर्न निर्देशन दिएको मेयर नाम्गेलजाङबु शेर्पाले बताउनुभयो । नगरपालिकाले अवलम्बन गरेका नीति नियमको कार्यान्वयनमा कुनै कमजोरी नगरी कडाइ गर्न नगर प्रहरीलाई निर्देशन दिइसकेको मेयर शेर्पाको भनाइ छ ।

नगरपालिकाले सिसाजन्य र प्लास्टिकजन्य वस्तुमा प्रतिबन्ध लगाएपछि प्रयोगमा कमी आएको छ भने नगरपालिका सुन्दर र सफा बन्न थालेको छ । सिसाको वियर बोटलको साटो क्यानमा ल्याउन थालिएको छ भने प्लास्टिकको झोलाको विकल्पमा नगरपालिकाको पहलमा कपडाको झोला प्रयोग हुन थालेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार