सन्तोष राउत/ सोलुखुम्बु। करिब ४० वर्षअघिदेखि स्याउको व्यवसायिक खती गरिएको सोलुखुम्बुमा उत्पादनमा कमी आउन थालेपछि उच्च घनत्व स्याउतर्फ ध्यान दिन थालिएको छ । यसरी पुराना जातका स्याउले फल दिन छाडेपछि परीक्षणका रुपमा इटालीबाट तीन वर्षअघि विरुवा ल्याएर खेती गर्न थालिएको हो ।
धेरै स्वादिलो मानिने उच्च घनत्व स्याउ सोलुखुम्बुका विभिन्न भागमा रोपेकै वर्षदेखि फल दिन थालेपछि पुरानो स्याउको विकल्पका रुपमा लिन थालिएको छ । यसले सोलुखुम्बुका स्याउ कृषकलाई आशा जगाएको छ । सोलुखुम्बुको वागवानी केन्द्र फाप्लु तथा अन्य निजी जग्गामा रोपेकै वर्षबाट स्याउले फल दिन थालेपछि यसले आर्कषण बढाएको छ ।
मनाङमा सफल भएको यो स्याउ माथिल्लो सगरमाथाका लागि स्थापित सोलुखुम्बुको वागवानी केन्द्र फाप्लुमा करिब तीन सय विरुवा रोपेको र सबै विरुवाले रोपेकै सालबाट फल दिन थालेको केन्द्रका प्रमुख चन्द्रमान श्रेष्ठले बताउनुभयो । उहाँकाअनुसार उच्च घनत्व स्याउ भन्नाले विरुवा बाक्लो रुपमा रोप्ने र सानैमा छिटै फल लाग्ने प्रविधिका रुपमा विकास गरिएको स्याउ हो । यसलाई प्रतिरोपनी १४० वटा विरुवा राप्न सकिन्छ ।
जिल्लाभरीमा करिब दुई हजार पाँच सय विरुवा रोपिएको भन्दै पुराना जातका स्याउहरुले अघिल्लो वर्षबाट उत्पादन कम दिन थालेका बेला नयाँ प्रविधिको स्याउ राम्रो भइरहेको उहाँको भनाइ छ । इटालीबाट ल्याइएको विरुवा प्रतिगोटा दुई हजारसम्म मूल्य परेको र अहिले भने एक हजारसम्म पाउन सकिने भएको छ ।
जसमा गोल्डेन, रोयल र फुजी जातको स्याउ रहेका छन् । रोपेको तीन चार महिनादेखिनै फुल्न लाग्दा शुरुको वर्ष कृषक र स्थानीय अचम्मीत भएको बताउँछन् । यो स्याउको २७ वर्ष आयु हुने र चार वर्षपछि एक बोटमा ४२ किलोसम्म फल्ने बताइए पनि नयाँ प्रविधि भएकाले नेपालमा यसको प्रमाणित आधार भने नभएको बताइन्छ ।
यसअघि मनाङमा मनाङ एग्रोले रोपेर परीक्षण गरेको यो स्याउ निकै मिठो र महङ्गो मानिन्छ । स्थानीय स्याउको बिरुवा रोपेको ५/५ वर्षपछि मात्र फल्ने र धेरै दुःख गर्नुपर्ने भएकाले इटालियन स्याउको उत्पादन चाँडै र आम्दानी धेरै हुँदा यसप्रति आकर्षण बढेको कृषक फाप्लुका गङ्गा कट्वालले बताउनुभयो ।
विभिन्न किसिमका रोग, विश्वव्यापी रुपमा तापक्रममा आएको परिवर्तनका कारण स्याउ खेती सङ्कटमा पर्न थालेको कृषक तथा कृषि विज्ञहरु बताउँछन् । सोलुखुम्बुमा करिब दुई सय हेक्टर भन्दा बढी क्षेत्रफलमा स्याउ खेती गरिएको छ भने बागवानी केन्द्रमा मात्र आठ हेक्टरमा खेती गरिएको छ ।
यस क्षेत्रमा आद्रता बढी भएका कारण वर्षायाममा विषादीले समेत प्रभावकारी काम नगर्दा पुराना विरुवाबाट स्याउ कम फल्न थालेको र यस प्रविधिको स्याउ विकल्प हुन सक्ने वागवानी प्रमुख श्रेष्ठले बताउनुभयो । यसको विरुवा नेपाल तथा छिमेकी भारतमा समेत उत्पादन नहुने भएकाले नेपालमै विरुवा उत्पादनका लागि प्रविधि भित्र्याउन सरकारले ध्यान दिनुपर्ने उहाँले सुझाउनुभयो । वागवानी तथा केही कृषकहरुले लगाएको स्याउले राम्रो फल दिन थालेपछि स्थानीय कृषकहरुबाट विरुवाको उच्च माग आएको उहाँको भनाइ छ ।
सोलुखुम्बुमा मुख्य गरी साविकका गोरा, टाप्टिङ, केरुङ, गार्मा, सल्लेरी, तामाखानी, वेनी, जुभिङ गाविसका विभिन्न स्थानमा धेरथोर स्याउको खेती भइरहेको छ । बागवानी केन्द्रलगायत सोलुखुम्बुमा अन्नाभेरिट, रेड डेलिसियस, रोयल डेलिसियस, गोल्डेन डेलिसियस, फुजी र जापनीज जातका स्याउ उत्पादन हुने गरेका छन् ।