दूधको मूल्य तत्काल बढाउन किसानहरुको माग

दूध उत्पादक किसानहरुले तत्काल दूधको मूल्य बढाउन सरकारसित माग गरेका छन ।

राष्ट्रिय व्यवसायिक पशुपालन तथा दूध उत्पादक कृषक समाज, नेपालले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यस्तो माग गरेको हो ।

विगत तीन वर्षदेखि सरकारले दूधको मूल्य यथावत् राख्दा किसानहरु मारमा परेको भन्दै समाजले तत्काल मूल्य बढाउन माग राखेको हो । 

आफूहरुको उत्पादन लागतमा विगत तीन वर्षयता ३० प्रतिशतभन्दा बढी मूल्यवृद्धि भएको जनाउँदै दूधको मूल्यमा प्रतिलिटर १० रुपयाँ बढाउनुपर्ने उनीहरुको माग छ ।

उक्त मूल्य निर्धारण नगरिए यो क्षेत्रका १० लाख किसानको प्रत्यक्ष रोजगारी गुम्ने र खर्बाैं रुपैयाँका गाई, भैंसी नासिने भइ राज्यको व्यापार घाटा बढ्ने समाजको ठहर छ ।

अहिलेकै मूल्यमा आफूहरुको लागत पनि नउठ्ने उनीहरुको भनाइ छ ।

बजारका सम्पूर्ण वस्तुहरुको मूल्य पटक–पटक बढ्दा आफूहरुले लागत मूल्य पनि उठाउन नसकेको भन्दै उनीहरुले सरकारको ध्यानाकर्षण गराएका हुन् ।

संस्थाका अध्यक्ष आनन्द निउरेले किसानको उत्पादनबिना मानव जीवन सम्भव नरहेको भन्दै नेपालका कृषकहरु राज्यबाट संसारमै सबैभन्दा बढी पीडित रहेको बताए ।

राज्यले किसानको परिश्रमको मूल्यमा खेलवाड गरिरहेको कार्यक्रमका अरु वक्ताहरुको भनाइ थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार