सोलुखुम्बुबाट टानको प्रथम उपाध्यक्षमा कार्की र महासचिबमा शेर्पा

सोलुखुम्बु । पदयात्रा व्यवसायीहरुको छाता संगठन ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) मा प्रजातान्त्रिक व्यवसायीहरुको तर्फबाट खुमबहादुर सुबेदीको नेतृत्वमा चुनावी मैदानमा होमिएको व्यवसायीक प्यानलमा सोलुखुम्बुबाट प्रथम उपाध्यक्षमा चोलेन्द्रबहादुर कार्की र महासचिवमा कर्मा शेर्पाको उमेद्वारी रहेको छ ।

नेतृत्व चयनका लागि भदौ २० गते हुने टानको यस प्यानलबाट बरिष्ठ उपाध्यक्षमा नविन त्रिताल, द्वितीय उपाध्यक्षमा भरत सापकोटा, कोषाध्यक्षमा रितु ग्याम्दान, सचिवमा प्रदिप घिमिरे र सहकोषाध्यक्षमा सूर्यकुमार श्रेष्ठ रहेका छन् । त्यस्तै कार्यसमिति सदस्यहरुमा खोमराज अधिकारी(सन्तोष), सिम्बिर घले, केशवप्रसाद दाहाल, कान्छा शेर्पा र सोनाम ग्याल्जेन शेर्पा रहेका छन् ।

प्रथम उपाध्यक्षका उमेद्वार हिमालयन जोय एड्भेन्चरका प्रबन्ध निर्देशक चोलेन्द्रबहादुर कार्की नेपाल लोकतान्त्रिक पर्यटन व्यवसायी संघको उपसभापति रहनुभएको छ । २०४४ मा सोलुखुम्बुको माप्यदूधकोशी–३, बासामा जन्मिनुभएको कार्कीले मानविकीमा स्नातकसम्मको अध्ययन गर्नुभएको छ । २०६० सालदेखि भरिया, गाइड हुँदै यो क्षेत्रमा अघि बढ्नुभएका कार्की सम्पदा गार्डेन होटलका सञ्चालक, समेत हुनुहुन्छ । नेपाली पर्यटन प्रवद्र्धनका लागि स्वीट्जरल्यान्ड, जर्मनी, बेल्जियम, फ्रान्स, नेदरल्यान्ड, चीन, जापान, सिंगापुर दुवईलगायका देशहरुको भ्रमण गरिसक्नुभएका कार्की युवा जोश, जाँगर र उत्साहले भरिपूर्ण हुनुहुन्छ ।

उहाँले मजदुर र व्यवसायी दुबै पक्षको भावनाअनुसार काम आफुले काम गर्ने बताउनुभएको छ । उहाँले नयाँ व्यवसायी तथा राम्रो तरिकाले व्यवसाय गर्नेहरुलाई प्रोत्साहन गर्ने र गलत गर्नेहरुलाई कानुनी कठघरामा उभ्याएर पर्यटन क्षेत्रमा नयाँ संस्कारको विकास गर्ने, नो ट्रेकिङ विदाउट गाइड, टिम्सको रकम एमओयूको मर्म र भावनाअनुरुप सदुपयोग गर्दै मजदुरको अधिकार सुनिश्चितताका लागि अहिलेसम्म धेरै भाषण मात्रै भएको र त्यसलाई व्यवहारा उतार्नका लागि पनि आफु प्रथम उपाध्यक्षमा उमेद्वारी दिएको बताउनुभयो ।

एनटीबीबाट इन्डिभिज्यूअल टिम्स खारेज गर्नुपर्ने, फेक रेस्क्यूको बारेमा निस्पक्ष छानविन गरी कडा भन्दा कडा कारबाही गर्ने, पदयात्रा तथा सिंगो पर्यटन क्षेत्रमा स्वास्थ्य प्रतिस्पर्धाको वातावरण सिर्जना गर्नुपर्ने, पर्यटन क्षेत्रमा विद्यमान नीतिगत समस्याहरुको समयसापेक्ष संसोधनलगायतका एजेण्डाहरु आफ्नो प्राथमिकतामा रहेको उहाँले बताउनुभयो ।

त्यसैगरी टानको सचिवालयलाई समयसापेक्षित बनाउँदै नयाँ गन्तव्यहरुको पहिचान तथा विकासका लागि प्रभावकारी काम गर्ने, पर्यटकीय पूर्वाधार विकासका लागि पहल गर्ने, निजी तथा सरकारी निकायबीचको आपसी समन्वय बढाउने, आन्तरिक तथा वाह्य पर्यटकहरुको संख्यात्मक र गुणात्मक बृद्धिका लागि तत्कालीन र दीर्घकालीन योजना बनाएर अघि बढ्ने एजेण्डालाई आफुसँग रहेको भनाइ उहाँको छ ।

त्यस्तै, महसचिवका उमेद्वार नेम्याड ट्रेक्स एन्ड एक्स्पीडिसन प्रा लि का डाइरेक्टर तथा द स्मल वल्र्डका प्रमुख हुनुहुन्छ । विगत लामो समयदेखि पर्यटन क्षेत्रमा सक्रिय रहँदै सोलुखुम्बुको शिक्षा, स्वास्थ्य तथा मानव हितका क्षेत्रमा उल्लेख्य काम गर्दै आउनुभएको छ ।

व्यवसायीहरुको जमघटको थलो मात्र नभई टानको विगतको समिक्षाका अतिरिक्त व्यवसायीक हकहित र संगठन सुदृढिकरणका लागि सक्षम नेतृत्व चयनको सुवर्ण मौकामा पर्यटन क्षेत्रको व्यवसायीक विकास र नेपालको पदमार्ग पर्यटनमा अन्तर्रा्ष्ट्रिय समुदायमा विश्वासिलो छवि कायाम गर्न पनि टानमा दुरदर्शी र बहुयामिक नेतृत्वको आवश्यकता छ, महासचिवका उमेदवार शेर्पाले भन्नुभयो ।

टानलाई समयानुकुल परिवर्तन गर्दै सबै ब्यवसायीको आशा र भरोसाको केन्द्र बनाउन लागि सक्षम, नितिगत स्पष्टता र प्रष्ट दृष्टिकोण भएको नेतृत्व स्थापित गर्नका लागि खुमबहादुर सुवेदी प्यानलाबाट महासचिव पदमा उम्मेदवारी दिएको उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार