सोलुखुम्बु–काठमाडौं सम्पर्क समिति वैधानिक भएको दाबी

सोलुखुम्बु । केही दिनअघि गठन भएको नेपाली काङ्ग्रेस सोलुखुम्बु–काठमाडौं सम्पर्क समिति पार्टीको विधानमा उल्लेख गरिएको व्यबस्था अनुसार नै गठन गरिएको दाबी गरिएको छ ।

नेपाली काङ्ग्रेस सोलुखुम्बुका सभापति बिनोदकुमार बस्नेतले प्रेस विज्ञप्ती जारी गर्दै समानान्तर सम्पर्क समिति गठन गरिएको भनेर गरिएको प्रचारप्रति आपत्ति जनाउँदै नेपाली काङ्ग्रेसको विधान २०१७, नवौं संशोधन २०७५ को परिच्छेद ११ को ४१ (२) मा जिल्ला सम्पर्क समिति गठन सम्बन्धमा गरिएको व्यबस्था अनुसार नै सोलुखुम्बु–काठमाडौं सम्पर्क समिति गठन गरिएको दाबी गर्नुभएको छ ।

विधानमा सम्पर्क समिति सम्बन्धित जिल्लाको नेपाली काङ्ग्रेस जिल्ला कार्य समितिको सल्लाह, समन्वय र निर्देशनमा रही स्थापना गरिने छ भन्ने उल्लेख भएको र सोही व्यबस्था अनुसार गठन गरिएको विज्ञप्तीमा उल्लेख छ ।

सम्पर्क समिति गठन सम्बन्धमा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य बलबहादुर केसीको समेत नाम जोडेर विवादमा पार्ने प्रयास गरिएकोमा दुःख व्यक्त गरिएको छ ।

अवैधानिक समानान्तर सम्पर्क समिति बनाएको आरोप
यता मनोज खड्काको नेतृत्वमा रहेको समितिले अवैधानिक रुपमै समानान्तर सम्पर्क समिति गठन गरेको आरोप लगाएको छ । काङ्ग्रेस सभापति शेरबहादुर देउवा र प्रवक्ता विश्वप्रकाश शर्माको उपस्थितीमा असार १४ गते करिब पाँच सय कार्यकर्तालाई प्रशिक्षण सम्पन्न गरेको खड्का समिति काङ्ग्रेस केन्द्रिय सदस्य अर्जुननरसिंह केसी र केशवकुमार बुढाथोकीको उपस्थितीमा भएको थियो ।

सभापति मनोज खड्का, उपसभापति केशव राई र महासचिब रोशनबाबु थुलुङले संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै पार्टी हित विपरित काङ्ग्रेस नेता बलबहादुर केसी पक्षधरले सम्पर्क समिति गठन गरेर दुरी बढाउन खोजेको आरोप लगाएका छन् ।

विधानअनुसार अर्को समिति गठन भएको दाबी गरिरहँदा नियमावली मस्यौदा समितिका संयोजक रमेश लेखकले नियमावलीले पुर्णता नपाएको अवस्थामा सम्पर्क समिति गठनका लागि समिति गठन गर्नु हतार हुने बताउँदै विधान पदाधिकारीको वैठक बसेर टुङ्गो लगाउन बाँकी रहेको बताउनुभयो ।

विधानअनुसार नै नयाँ सम्पर्क समिति गठन भइरहेको भए पनि वर्तमान समितिको आयोजनामा भेला गर्ने प्रचलित अभ्यास समेत लत्याएर जिल्ला कार्य समितिका प्रतिनिधि भनेर काङ्ग्रेस सोलुखुम्बुका महाधिबेशन प्रतिनिधि अशोक झाको संयोजनमा अप्राकृतिक रुपमा चोर बाटो प्रयोग गरी भेला डाकेर खराब नियतका साथ सोलुखुम्बुमा काङ्ग्रेसलाई एक भएर अघि बढ्न नदिने मनशायले समानान्तर समितिकै रुपमा नयाँ समिति बनेको नेताहरु बताउँछन् । पुरानो समितिलाई विघटन समेत नगरी गठित समिति कुनै हालतमा मान्य नहुने एक पक्षको अडान रहेको छ ।

केन्द्रिय सदस्य बलबहादुर केसीकै आतिथ्यतामा यस्ता विवादास्पद समिति गठन हुनु केसीको आफू अनुकुल समिति नभए पार्टीलाई सिध्याउने खेल भएको अर्का पक्षका एक नेताले आरोप लगाउनुभयो । केसीको पेलेर जाने रवैयाले काङ्ग्रेस दिप्रतिदिन कमजोर बन्दै गएको उहाँले बताउनुभयो ।

यसअघि पनि नेविसंघको समानान्तर समिति गठन गर्नुभएका केसीले अभिभावकत्वको भूमिका निर्वाह गर्दै मिलाउने प्रयास गर्नुको साटो आफ्नो झुण्डलाई उचाल्दै वर्षौदेखि विवाद बढाउन उद्धत रहेको उहाँको भनाइ छ ।

केन्द्रिय सदस्य बलबहादुर केसीलाई कार्वाहीको माग
पार्टीको नियमावली विपरित समानान्तर सम्पर्क समिति गठन गरेर पार्टीभित्र विभाजन बढाएको भन्दै काङ्ग्रेस केन्द्रिय सदस्य बलबहादुर केसी विरुद्ध अनुशासन समितिमा कार्वाहीको माग गर्दै उजुरी परेको छ ।

मनोज खड्क नेतृत्वमा रहेको सोलुखुम्बु–काठमाण्डौ सम्पर्क समितिका महासचिव रोशन थुलुङ र सचिव हरिप्रसाद कट्टेलले केसीले अनुशासन उल्लङ्घन गरेको भन्दै कारबाहीको माग गरेका हुन । बैधानिक रुपमा गठन भएको सम्पर्क समिति अस्तित्वमा रहँदै नयाँ नियमावली समेत पारित भईनसकेको अवस्थामा मनोमानी ढङ्गले गत भदौ ७ गते समानान्तर समिति बनाएको भन्दै हदैसम्मको अनुशासनको कार्बाहीको माग गरिएको छ ।

पार्टी सभापति शेरबहादुर देउवा र प्रवक्ता विश्वप्रकाश शर्मा समेतको उपस्थितिमा प्रशिक्षण कार्यक्रम गरेको करिब दुई महिना नबित्दै सम्पर्क समिति क्रियाशिल रहेकै बखत केसीले छुट्टै भेला गरी समानान्तर समिति बनाएपछि काँग्रेस सोलुको विवाद फेरी सतहमा आएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार