दूककुण्डमा धार्मिक पर्यटकको आकर्षण बढ्दै

सन्तोष राउत/ सोलुखुम्बु। जिल्ला सदरमुकाम सल्लेरीबाट उत्तरतर्फ देखिने नुम्बुर हिमालको काखैमा रहेको दूधकुण्ड पोखरीमा वर्षेनि धार्मिक पर्यटकको चाप बढ्दै गएको छ । धार्मिक महत्व बोकेको तथा प्राकृतिक सुन्दरताले भरिएको दूधकुण्डमा आधा बाटोसम्म सडकको पहुँच पुगेपछि दर्शनार्थी बढेका हुन् ।

समुद्री सतहदेखि चार हजार छ सय मिटरको उचाइमा पर्ने दूधकुण्ड पोखरीमा जनैपूर्णिमाका अवसरमा लागको मेलामा तीन हजारभन्दा बढी दर्शनार्थी आएको व्यवस्थापन समितिले जनाएको छ । सदरमुकाम सल्लेरीबाट ३० कोस उत्तरमा पर्ने यो कुण्डमा रहेको पानी सेतो देखिने भएकाले यसलाई दूधकुण्ड भनिएको हो । मेलामा हिन्दु मात्रै नभइ बौद्धमार्गी, किरातीहरु समेत दुधकुण्ड पुग्ने गर्छन् ।

दूधकुण्ड पोखरीको व्यवस्थापनमा पछिल्लो समय नगरपालिकाले पनि चासो देखाएको छ । अघिल्लो वर्ष शौचालय लगायत बस्ने स्थानको व्यवस्थापन गरेको सोलुदूधकुण्ड नगपालिकाले यस वर्ष पोखरीको केही नजिकसम्म सडक विस्तार गर्ने तयारी गरेको मेयर नाम्गेलजाङबु शेर्पाले बताउनुभयो । नगरपालिकाले पर्यटकीय प्रचारप्रसारका लागि दूधकुण्ड पोखरीको महिमा विषयमा वृत्तचित्र समेत निर्माण गरी प्रचारप्रसारमा लागिसकेको छ ।

वर्षेनि लाग्ने मेलामा हाइअल्टिच्युडको समस्यालाई ध्यानमा राख्दै नगरपालिका र रेडक्रस सोसाइटीको सहकार्यमा स्वास्थ्य शिविर सञ्चालन गरिएको रेडक्रसका सदस्य सुरेश खड्काले जानकारी दिनुभयो ।

यस स्थानमा नुहाएमा पुण्य प्राप्त हुने जनविश्वासका कारण विभिन्न जिल्लाबाट धार्मिक पर्यटकहरु आउने गरेका छन् । पोखरीको अर्को छेउमा शिवलिङ्ग छ । बुबाआमा भएकाले पूरै पोखरी नघुम्नु भन्ने भनाइ छ । यस तालको अतिरिक्त आसपासमा गङ्गाजमुना, भुतपोखरी गरी १० वटा स–साना तालसमेत रहेका छन् । पोखरीको सुरुको छेउमा अहिले सानो मन्दिर निर्माण गरिएको छ । यहाँ पूजाआजा गर्न तथा बत्ती बाल्ने प्रबन्ध मिलाइएको छ ।

पोखरीको नजिकै सानो बुद्धको मूर्तिसमेत छ । जसलाई बौद्ध धर्मावलम्बीहरुले अत्यन्तै श्रद्धाको रुपमा लिने गर्छन् । यो स्थानसम्म पुग्न पोखरीको वल्लो छेउदेखि लगभग दुई घण्टा हिड्नुपर्छ । यहाँबाट ओरालो झरेपछि विशाल ढुङ्गाको फेदमा आयु माग्ने स्थान छ, जहाँ पुजा गर्दा आयु बढ्ने तथा गाईवस्तु राम्रो हुने जनविश्वास छ ।

अघिपछि पनि आवतजावत हुने त्यस पोखरीमा मुख्य रुपमा श्रावण शुक्ल एकादशीदेखि जनैपूर्णिमासम्म लाग्ने ठूलो मेलामा धाँमीझाँक्री र विभिन्न स्थानबाट दर्शनार्थीको आकर्षण बढ्ने गरेको छ । त्यस्तै, सदरमुकामको फाप्लुमा रहेको सानो दूधकुण्डमा पनि धार्मिक पर्यटकको आवागमन बढेको छ । ठूलो दूधकुण्डमा जान नसक्नेहरु सानोदूधकुण्डमा बाह्रै महिना आन्तरिक पर्यटक आउने मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

सोलुदूधकुण्ड नगरपालिकाले चालु आर्थिक वर्ष सानो दूधकुण्ड पोखरीको व्यवस्थापनका लागि १० लाख बजेट विनियोजन गरेको छ । आगामी दिनमा पनि आवश्यक व्यवस्थापन गर्दै जानेमा आफू प्रतिबद्ध रहेको मेयर शेर्पाले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार