टान महासचिवका उम्मेदवार शेर्पाको अपिल : ‘म व्यवसायीको सेवक बन्छु, टानको गरिमा उकास्छु’

पदयात्रा व्यवसायीहरुको छाता सङ्गठन ट्रेकिङ एजेन्सि एशोसियसन अफ नेपाल टानको आगामी निर्वाचनका लागि महासचिव पदका उम्मेदवार कर्मा शेर्पाले आफु व्यवसायीहरुको सेवक बन्नका लागि उम्मेदवारी दिएको बताउनुभएको छ ।

निर्वाचनको पूर्व सन्ध्यामा अपिल जारी गर्दै ट्रेकिङ व्यवसायी शेर्पाले टानको नयाँ चुनौतिहरुको सामना गर्दै व्यवसायीहरुको सुरक्षा र हित नै आफ्नो प्राथमिकता रहेको बताउनुभयो । कुनै ब्यक्तिगत स्वार्थका लागि चुनावमा नउठेको भन्दै नोम्याड नेपाल ट्रेक्सका प्रबन्ध निर्देशक शेर्पाले भन्नुभयो, ‘मेरो कुनै स्वार्थ छैन, म इमान्दारीताका साथ टानको गरिमा जोगाउन अनवरत लागिपर्ने छु ।’

टानलाई गतिशिल बनाउन र सबैको आशा र भरोसाको केन्द्रको रुपमा विकसित गर्ने स्पष्ट खाका आफुसँग रहेको भन्दै उमेद्वार शेर्पाले सबै भूगोल र क्षेत्र समेट्ने खुबी आफुसँग रहेको बताउनुभयो । ‘आज पदयात्रा पर्यटन व्यवसायले विश्व समुदायको मन जित्न जरुरी छ, त्यसका लागि टानको नेतृत्वमा स्पष्ट दृष्टिकोण जरुरी छ’ उहाँले भन्नुभयो ।

‘म सँग पर्यटन क्षेत्रको अनुभव र इमान्दारीता छ, सबैले विश्वासको मत दिनु भयो भने तपाईको शिर कहिल्यै झुक्न दिने छैन’ । खुमबहादुर सुवेदीको प्यानलबाट उम्मेदवारी दिनुभएका शेर्पाको अपिल जस्ताको तस्तै,……………….

टानको कार्यसमिति निर्वाचनका लागि महासचिव पदका उम्मेदवार कर्मा शेर्पाको अपिल
आदरणीय अग्रज पर्यटन तथा पदयात्रा व्यवसायी महानुभावहरुमा नमस्कार,

पदयात्रा व्यवसायीहरूको भरपर्दो छाता सङ्गठन टानको ४१ औँ वार्षिक साधारणसभा एवम् नयाँ नेतृत्व चयनका लागि कार्यसमिति निर्वाचन आगामी सेप्टेम्बर ६ का दिन सम्पन्न हुन गइरहेको कुरा यहाँहरू सबैमा विदितै छ । यो सधारणसभा हामी व्यवसायीहरुको जमघटको थलो मात्र नभई टानको विगतको समिक्षाका अतिरिक्त व्यवसायीक हकहित र सङ्गठन सुदृढिकरणको लागि सक्षम नेतृत्व चयनको सुवर्ण मौका पनि हो । पर्यटन क्षेत्रको व्यवसायीक विकास र नेपालको पदमार्ग पर्यटनमा अन्तर्राष्ट्रिय समुदायमा विश्वासिलो छवि कायम गर्न पनि टानमा दुरदर्शी र बहुआयामिक नेतृत्वको आवश्यबता भएको हो ।

कुनै पनि सङ्गठनको चुस्तता र प्रभावकारी सञ्चालनका लागि नेतृत्वकै हात महत्वपूर्ण हुन जान्छ । अबको टानलाई समयानुकुल परिवर्तन गर्दै सबै व्यवसायीको आशा र भरोसाको केन्द्र बनाउन लागि सक्षम, नीतिगत स्पष्टता र प्रष्ट दृष्टिकोण भएको नेतृत्व स्थापित गर्नुपर्ने बेला भएको छ । जुन कुरा तपाई व्यवसायीको दृढ अठोटबाट मात्र सम्भव छ । तपाईको एक मतले समग्र व्यवसायिक सुरक्षा र साङ्गाठनिक गरिमा कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने छ ।

विगत लामो समयदेखि म नेपालको पदयात्रा पर्यटन क्षेत्रमा सक्रिय रुपमा क्रियाशिल छु । विगतको टानको कार्यसमिति सदस्यको रुपमा निर्वाचित भएपछि पनि मैले आफ्नो क्षेत्रबाट सम्भव भएका व्यवसायिक हित अभिबृद्धिका कामहरु गरेकै हुँ । आगामी निर्वाचनका लागि मैले खुमबहादुर सुवेदी प्यानलबाट महासचिव पदमा उम्मेदवारी दिएको छु ।

मेरो हालसम्मको पर्यटनको क्षेत्रको अनुभव, तपाईहरुको सल्लाह, सुझाव अनि मार्गदर्शनकै आधारमा पदमार्ग पर्यटन क्षेत्रका नविनतम चुनौतिको सामना र समस्या समाधाननै मेरो प्राथमिकता रहनेछ । यो पदमा उमेद्वारी दिँदै गर्दा मेरो कुनै पनि व्यक्तिगत स्वार्थ रहने छैन । व्यवसायीको हित र सामूहिक सहकार्य नै मेरो प्रमुख लक्ष्य हो । म तपाईको मत र भरोसाको विश्वास कहिल्यै पनि तोड्ने छैन । म र टिमलाई यहाँहरूको साथ, सहयोग र अमूल्य मतका लागि हार्दिक अपिल गर्दछु । तपाईको विश्वासको मत पाएँ भने म तपाईहरुको सेवक भएर हरेक समस्या र सङ्कट मोचनको लागि अनवरत रुपमा इमान्दारीताका साथ लागि रहने छु । धन्यवाद !! जय पर्यटन !!!

कर्मा शेर्पा
महासचिवको उमेद्वार
खुमबहादुर सुवेदी प्यानल

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार