लाइसेन्स विना चलाइएका अटोरिक्सा नियन्त्रणमा

सन्तोष राउत/सोलुखुम्बु। सोलुखुम्बुको सदरमुकाम सल्लेरीबाट जिल्लाका विभिन्न स्थानमा सञ्चालनमा रहेका अटोरिक्सालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पछिल्लो समय जिल्लामा अटोरिक्सा धेरै भएपछि चालक अनुमतिपत्रको चेकजाँचमा प्रहरीले कडाइ गरेको छ ।

नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा राखिएका अटोरिक्सा । तस्बिर : सन्तोष राउत

बिहीबारदेखि गरिएको चेकजाँचका क्रममा करिब डेढ दर्जन अटोरिक्सा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक उत्तम कार्कीले जानकारी दिनुभयो । जिल्लामा करिब ५० भन्दा बढी अटोरिक्सा सञ्चालनमा रहेको भन्दै अनुमति पत्र लिएका चालकको संख्या न्यून रहेको उहाँले बताउनुभयो । यस्तै तरिकाले चलाएको पाइएमा अझै धेरै नियन्त्रणमा लिने उहाँको भनाइ छ ।

पछिल्लो समय नयाँ सिकारु चालकले अधिकांस अटो चलाउन थालेपछि दुर्घटना बढ्न थालेको ट्राफिक प्रहरीले जनाएको छ । अस्वस्थ प्रतिस्पर्धा गर्दै धमाधम अटो भित्र्याउनाले लाइसेन्स प्राप्त चालक नपाउँदा सिकारु चालकले चलाउने गरेको प्रहरीले जनाएको छ ।

नियन्त्रणमा लिइएका सवारीलाई नियमानुसार जरिवाना लिएर सवारी धनीलाई जिम्मा लगाउन सकिने भए पनि अनुमति पत्र नभएका चालकले चलाउन नपाउने प्रहरीले जनाएको छ । यसरी चालक अनुमति पत्र नभएका चालकले चलाएको सवारी साधन दुर्घटना परेमा बिमा बापतको रकम दाबी गर्न नमिल्ने तथा यात्रुको समेत बिमाले नसमेट्ने भएकाले यसलाई कडाई गर्न लागेको निरीक्षक कार्कीले बताउनुभयो ।

यता सवारी धनीले भने अनुमतिपत्र लिने समयसम्म चलाउन पाउनुपर्ने माग गरेका छन् । थोरै लगानीमा ल्याउन सकिने र राम्रो कमाई हुने भएपछि पछिल्लो समय अटो रिक्सामा लगानी गर्नेको संख्या बढ्न थालेको छ । तर अटो चालकको अनुमति पत्र लिएका चालक नहुँदा समस्या भएको सवारी धनी बताउँछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार